आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

एसीसी प्रिमियर कपः दीपेन्द्रको अलराउन्डर प्रदर्शनमा नेपालको लगातार दोस्रो जित

वैशाख १, २०८१

काठमाडौँ – एसीसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’मा नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको छ। कतारलाई नेपालले ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको हो । नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गरे ।

दीपेन्द्रले पहिले ब्याटिङका क्रममा कीर्तिमानी रुपमा एकै ओभरका ६ बलमा ६ छक्का प्रहार गर्दै इतिहास बनाउँदा बलिङतर्फ पनि २ विकेट हात पारे । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो ।

२ सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो । कतारका लागि कप्तान मुहम्मद तनविरले ३३ बलमा ६३ रन बनाउनु सर्वाधिक रह्यो । उनीबाहेक मोहम्मद आनाफले २३ रन बनाउँदा हिमान्सु राथोडले २२ रनको अविजित इनिङ खेले ।

त्यस्तै, एडन्न मिराजले १९ रन बनाए । नेपालका लागि ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान २–२ विकेट लिँदा कुशल मल्ल र अभिनाश बोहराले समान १–१ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६४ रनको विष्फोटक नटआउट इनिङ्स खेले । दीपेन्द्रले १९ बलमै अर्धशतक प्रहार गरेका थिए ।

त्यस्तै, आसिफ शेखले ५२ रनको अर्धशतकीय इनिङ खेल्दा कुशल मल्लले ३५ रन बनाए । त्यस्तै, कुशल भुर्तेल १२ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले १८ रन बनाए । कतारका लागि हिमान्सु रातहोडले ३ विकेट लिँदा मुसवार साहले पनि ३ विकेट लिए । अमिर फारुखीले १ विकेट लिए ।

प्रतियोगिताअन्तर्गत नै शनिबारको खेलमा समूह ‘बी’अन्तर्गत युएईले लगातार दोस्रो जित निकाल्यो । युएईले बहराइनलाई ३७ रनले पराजित गर्‍यो । यसअघि आफ्नो पहिलो खेलमा युएईले कुवेतलाई ७ विकेटले हराएको थियो । एजेन्सी