आज: २०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

माेरङका सुकुम्वासीकाे जग्गाधनी पुर्जाको पर्खाइका ४० वर्ष, अझै मरेको छैन आशा


  • आक्रमण न्युज
  • २०८३ श्रावण २५, सोमबार मा प्रकाशित २ घण्टा अघि
  • १७ पाठक संख्या
  • मोरङ्ग। पथरीशनिश्चरे ३ को वडा कार्यालय आइतवारेमा आफ्ना कागजपत्र बोकेर कबिता  चेम्जोङ्ग आफ्नो फर्म भर्न लाइनमा थिइन् ।

    उनले आफु बसोवास गर्दै आएको जग्गाको निस्सा देखी बैक तथा वितिय संस्थाको विवरण र आफ्नो घरमा भएका सवारी साधनको विवरण सहित फर्म भर्न उभिएकी थिइन् ।

    सवै फर्म विवरण भरिएपछि नजिकै रहेका वडा सदस्य टंक पराजुलीले उनको फर्म दर्ता गरे । चेम्जोङ्ग आफु बसोवास गरेको जग्गाको लालपुर्जा सरकारले दिइ हाल्छ कि भनेर वडा कार्यालयमा विहानै उपस्थित भएकी थिइन् । ‘ढिलो आए थप समस्या हुन्छ भनेर केटाकेटीलाई विहानै स्कुल पठाएर वडा कार्यालय आएको हु’ चेम्जोङ्गले भनिन् ।

    पथरीशनिश्चरे-३ कै राजु मगरले जग्गा भोगचलन गरेको ४ दशक भयो तर आज सम्म पनि उनको जग्गा प्रमाण पुर्जा साथमा छैन् । सरकारले लालपुर्जा दिइहाल्छ कि भन्ने झिनो आशमा उनी वडा कार्यालयमा आइपुगेका थिए ।  सरकारले लालपुर्जा दिइहाल्छ कि भन्ने झिनो आशमा उनी (राजु मगर) वडा कार्यालयमा आइपुगेका थिए । लालपुर्जा बेगरका ४ दशक राजुका लागी निक्कै सकसका दिन भएका छन् । लालपुर्जा भए बैकमै राखेर ऋण लिएर व्यावसाय गर्न सकिन्थ्यो तर त्यो पनि सम्भब छैन् । राजुका बुवाले नै डालफाड गरेको जग्गामा पुर्जा पाउने आसमा उनका वुवा वितेर गए । ३६ साल अगाडी वाट यो क्षेत्रमा वस्ती वसेको हो । धेरैको यो क्षेत्रका बासिन्दाको जग्गा प्रमाण पुर्जा नै छैन् । वुवा विते छोरा र नातीको समय आउदा पनि पुर्जा नपाउनु दुखद भएको राजु बताउछन् ।

    त्यही भीडमा भेटिए, पथरी शनिश्चरे ३ भोेटेघुम्तीका मदन बहादुर थापा । उनको कपाल फुलिसकेको छ, अनुहारका धर्साहरूले ५० वर्षको सङ्घर्ष बोल्छ ।  २०३४ साल पुस १४ गते यो क्षेत्रमा पाइला टेक्दा आइतवारे र भोटेघुम्ती वरपर घनाजङ्गल थियो । बाउबाजे कसैको नाममा एक धुर जग्गा थिएन, साह्रै खान नपाइने ठुलो परिवार भएपछि यता आइयो,मदनबहादुर पुराना दिन सम्झन्छन् । मृग र बाँदरले बालीनाली सखाप पार्थे, जङ्गलसँग लडेर फडानी गरियो । तर आज ५० वर्ष हुन लाग्दा पनि माटो आफ्नो नाममा छैन ।

    नेपाली कांग्रेस, एमाले, माओवादी  उनले धेरैका सरकार आएको र गएको देखे । चुनाव पिच्छे नेताहरूले धनीपुर्जाको आश्वासन दिएर भोट मागे । तर, ती आश्वासन कहिल्यौ लालपुर्जा बनेर फर्किएनन् । यसपटक केन्द्रमा आएका नयाँ राजनीतिक तरंग र लगत संकलनको हल्लाले उनलाई फेरि वडा कार्यालयसम्म डो¥यायो । यसो अन्धविश्वासकै भरमा भए पनि फाराम भरिराखौँ भनेर आएको थापाले मनको आशंका लुकाउन सकेनन् ।

    सोही वडाका तिलक बहादुर भुजेलको कथा पनि फरक छैन । २०३६ सालको झोडा पीडित उनी १०कठ्ठा जमिन वर्षौँदेखि उपभोग गरिरहेका छन् तर पुर्जा कोसँग छ, उनैलाई अत्तोपत्तो छैन । फुङ्नामचोककी कविता पनि आफ्नो श्रीमानको नाममा रहेको १० कठ्ठा जग्गाको निस्सा समातेर फाराम भर्ने लामो लाइनमा उभिएकी छिन् । उनलाई पनि यसपालि चाहिँ केही होला कि भन्ने आश छ ।

    सर्वसाधारणको यो लामो लाइन र आशका पछाडि नेपाल सरकारको एउटा विशेष कार्यभार लुकेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान र प्रमाणीकरणका लागि स्थानीय तहलाई जिम्मा दिइएपछि अहिले देशैभरिका वडा कार्यालयहरूमा लगत संकलनको चटारो छ । नागरिकहरू आफ्नो आयस्रोत, परिवारको विवरण, गाडी र बैंक खाताको विवरण समेटिएको अनुसूची फाराम भर्न व्यस्त छन् ।

    माटो आफ्नो नाममा नहुँदाको यो पीडा केवल कागजी लालपुर्जा नहुनु मात्र होइन, यसले यी वडावासीको मुहारमा  कहिल्यौ  हाँसो दिएन। मदन बहादुर र तिलक बहादुर जस्ता सयौँ वडावासी वर्षौँदेखि अनौठो मानसिक छटपटी र असुरक्षाको भावमा बाँचिरहेका छन् । आफूले रगत र पसिना बगाएर फलाएको, उमारेको र जोगाएको माटो जुनसुकै बेला सरकार वा अरू कसैले खोसिदिने हो कि भन्ने डर उनीहरूको मनमा सधैँ खेलिरहन्छ । यही असुरक्षाकै कारण उनीहरूलाई आफ्नो जग्गामा ढुक्क भएर चार कोठाको स्थायी पक्की घर थप्न वा व्यवसायका लागि स्थायी संरचना बनाउन सधैँ सङ्कोच भइरह्यो । लाग्छ, उनीहरू आफ्नै मिहिनेतको जगमा पनि अस्थायी जीवन बाँचिरहेका छन् ।

    यो असुरक्षा त भावनात्मक पाटो भयो, तर यसले निम्त्याएको व्यावहारिक र आर्थिक संकट झन् कल्पीनसक्नु छ। पथरी शनिश्चरे ३ मा बस्नेका धेरै परिवारका छोराछोरीले कक्षा १२ पास गरेपछि उच्च शिक्षा वा प्राविधिक धार पढ्ने सपना ड्रअरमै थन्क्याउनुपरेको छ । कारण- उनीहरूसँग बैंकमा धितो राखेर शिक्षा ऋण (एडुकेसन लोन) लिने लालपुर्जा छैन । वडाका कतिपय युवाहरू व्यापार व्यवसाय गरेर गाउँमै आत्मनिर्भर हुन चाहन्छन, तर बैंक तथा वित्तीय संस्थाहरूले जग्गा धनी पुर्जा नभई लगानी गर्न मान्दैनन् ।  जसको परिणामस्वरुप, यहाँका तन्नेरीहरू चर्काे ब्याजमा ऋण लिन बाध्य छन् । , या त खाडी मुलुकको तातो घाममा श्रम बेच्न विवश छन् ।

    वडा कार्यालयमा आएका करिब ११ सय ३५ भन्दा बढी निस्साधारीहरूको फाराम दर्ता गरिरहेका वडा सदस्य टंक पराजुलीका अनुसार यो क्षेत्रको वास्तविक समस्या भूमिहीनता भन्दा पनि अव्यवस्थित बसोबास र दोहोरो स्वामित्व को हो । ‘यहाँ वास्तविक भूमिहीन अर्थात् खोला किनार वा अरूकोमा आश्रित भएकाहरू त १०० मा १०जना पनि छैनन’ जनप्रतिनिधि पराजुली भन्छन् ‘धेरैजसो त वर्षौँदेखि जग्गा उपभोग गरिरहेका अव्यवस्थित बसोवासी हुन्’ ।

    अझ जटिल कुरा त के छ भने, विगतमा नगर र आयोगले वास्तविक अवस्था नछुट्याई फाराम भर्ने जति सबैलाई निस्सा बाँडिदियो । जसका कारण नम्बरी जग्गा भएका तर छेउको थोरै ऐलानी जग्गा मिचेकाहरूले समेत निस्सा पाए र अहिले पुर्जाको दाबी गर्दै फाराम भर्न आइपुगेका छन् । यसले गर्दा लगत संकलनमा दोहोरो स्वामित्वको लफडा झन् बल्झिने देखिन्छ । वडाले सूचना जारी गरेपछि कसैलाई ‘तँ फाराम नभर’ भन्न मिल्ने अवस्था पनि छैन ।

    ​अहिले असार मसान्तको म्याद गुज्रँदै गर्दा पनि वडा कार्यालयले आफ्नो वडावासीको फाराम लिइरहेको छ । तर कतिपयले फाराममा आफ्नो वास्तविक विवरण ढाँटेको जनप्रतिनिधिको बुझाइ छ । यद्यपि, यसपटक राष्ट्रिय परिचयपत्रको विवरणसँग डिजिटल मिलान गरिने भएकाले ढाँटेका कुराहरू छर्लङ्ग हुने प्राविधिक दाबी कार्यालयको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट