आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

पुष २५ देखि माघ १० सम्म  चितवन महोत्सव संचालन हुने


  • आक्रमण न्युज
  • २०८१ पौष १८, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४५१ पाठक संख्या
  • पौष १८, २०८१

    चितवन । उद्योग वाणिज्य संघ चितवनले यसपटक चितवन महोत्सवलाई थप भव्य र प्रभावकारी बनाउन १५ दिनसम्म सञ्चालन गर्ने तयारी गरेको छ। यही पुस २५ देखि माघ १० सम्म नारायणी नदी किनारमा आयोजना हुने यस महोत्सवमा पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखिनेछ।

    आज आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक तथा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले चितवनको पर्यटन विकासलाई केन्द्रमा राखेर विविध गतिविधिहरू समावेश गरिने जानकारी दिनुभयो। उहाँले महोत्सव परिसरमा चितवनको विशेषता झल्काउने कृत्रिम पार्क निर्माण, पर्यटकीय गन्तव्यसम्म जाने सफारी सेवा, होमस्टेमा बसोबासको प्रबन्ध, र पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्ने कार्यक्रमहरू समावेश गरिने बताउनुभयो।

    महोत्सवको अर्को आकर्षण ‘पार्टी बस’ हुने बताइएको छ। यो बसले महोत्सवस्थलबाट विभिन्न पर्यटकीय गन्तव्यमा यात्रु लैजानेछ, जहाँ यात्रुहरूले बसभित्रै विशेष परिकारको मज्जा लिन सक्नेछन्। साथै, आन्तरिक तथा बाह्य पर्यटकलाई छुटसहितका विशेष प्याकेज उपलब्ध गराइनेछ।

    स्थानीय उत्पादन र अन्तर्राष्ट्रिय सहभागिता

    यस महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ भने चीनसहितका अन्तर्राष्ट्रिय प्रतिष्ठानका उत्पादनहरू पनि प्रदर्शनीमा समावेश गरिनेछन्। महोत्सवमा सात विशेष स्टल, डोम कृषि परिसर, अटो परिसर, निर्माण एक्स्पो, घरेलु तथा साना उद्योगका कक्ष, र चार सय ३० वटा विभिन्न स्टलहरू रहनेछन्।

    भरतपुर महानगरपालिकाको समन्वयमा बेरोजगार युवाहरूलाई रोजगारी दिने उद्देश्यले रोजगार परिसरसमेत सञ्चालन गरिनेछ।

    आर्थिक र पर्यटकीय प्रभाव

    १५ दिनसम्म चल्ने महोत्सवमा पाँच लाखभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको छ। महोत्सवबाट ३० करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

    चितवन महोत्सव विसं २०५३ देखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको छ। यस पटकको महोत्सवले पर्यटनलाई थप चलायमान बनाउने र सुस्ताएको अर्थतन्त्रलाई पुनः सक्रिय बनाउने विश्वास गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट