आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

‘उच्च मनोवल’ नै क्यान्सर जित्ने अचुक उपाय


  • आक्रमण न्युज
  • २०८१ फागुन १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ४८४ पाठक संख्या
  • नेपालमा यति धेरै क्यान्सरका बिरामी छन्, जो उपचार र स्याहारको पहुँचमा छैनन् । कति यस्ता बिरामी छन्, जो यसको ‘डरलाग्दो’ रूप ठानेर विक्षिप्त छन् । तिनका लागि पाठशाला हुन् रुबी क्षत्री । जसले चौथो चरणको लिम्फोमा क्यान्सर दह्रो मनोबलको सहारामा सहजै जितिनन् मात्रै, यस्तै पीडितका घाउमा मलम बनेर उभिँदै आएकी छन् पनि । ‘मसँग के छैन र दुःखी हुने रु’ उनले निधार खुम्च्याइन् । अनि, मुस्कुराउँदै भनिन्, ‘म त क्यान्सरको योद्धा हुँ । विजय प्राप्त गरिसकेँ । म एकल आमा हुँ । अनि, म धेरै व्यक्तिलाई मातहत राख्न सक्ने नेतृत्वदायी व्यक्ति हुँ ।’
    घर र अफिस गरिरहँदा उनलाई एकाएक कम्मर दुख्यो । दुखाइ यति पीडादायी हुँदै गयो, सहनै नसक्ने भयो । सेक्दै, तेल लगाउँदै बसिन् उनी । केही महिनापछि छातीमा सानो फोका देखा पर्यो । त्यसलाई पनि सेक्न थालिन् । त्यो झन् ठूलो भएर आयो । एक सातामै निक्कै ठूलो भयो । उक्त फोकाको पहिचानका क्रममा उनी झन्डै आठ महिना भौंतारिरहिन् । उनी निदानका लागि काठमाडौंका विभिन्न अस्पताल चहारिन् । विज्ञलाई भेट गरिन् । तर, रोग हतपति पत्ता लागेन । जब पत्ता लाग्यो, क्यान्सर चौथो चरणको बनिसकेको रहेछ । आफन्तलाई चिकित्सकले तत्काल नयाँ दिल्ली लैजान सुझाए छन् । जुन उनलाई खबर गरिएन । दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा पुग्नासाथ उनले आफ्नो रोग चिनिन् ।
    सन् २०१४ डिसेम्बर ५ । ‘जब क्यान्सर शब्द मेरो कानमा प¥यो, होस हवास उडेझैं भयो । तैपनि हिम्मत हारिनन् । अस्पतालले इमर्जेन्सीमा तीव्र उपचार र परीक्षण सुरु गर्यो । ६ दिनमै किमो चलाउन थाल्यो । ‘किमो दिने तयारी भइरहेको थियो । मेरो श्रीमान् आउनुभयो । मेरो हात च्याप्प समाउनुभयो । मलाई अँगालोमा बेर्नुभयो । र, रुँदै भन्नुभयो, ‘तिमीलाई केही नहोस् । म भगवान्सँग प्रार्थना गर्नेछु ।’ त्यो प्रेमपूर्ण ढाडस उनका लागि ठूलो आत्मबल थियो । बाँच्नुको तात्पर्य पनि त्यही थियो । उनले ढुक्क हुँदै श्रीमान् लाई जवाफ फर्काइन्, ‘बाबा  मलाई तिमीले माया मात्र गर है । म बाँच्छु । तिमीलाई छोडेर म कहाँ जान्छु र ? दुई छोरालाई टुहुरा कसरी बनाउन सक्छु र ?’
    एक महिना उपचार गरेर उनी घर फर्किइन् । कपाल पूरै झरेको थियो । हापझाप गर्दै दुवै छोरालाई काखमा राखिन् । अँगालोमा बेरिन् । खुसीका आँसु झारिन् धेरै बेर । तैपनि त्यो त उपचारको प्रारम्भ मात्र थियो । धेरैले सुन्ने गरी भन्थे, ‘चौथो चरणको क्यान्सरमा बाँच्नु त मिराकल हो ।’ त्यसले उनलाई चस्स गथ्र्यो । तर, श्रीमान् र छोराहरूका मायालु अनुहारले उनलाई बाँच्न सधैं हौसलाई मिलरहन्थ्यो । एक महिनापछि फलोअप र अर्को किमो लिन उनी एक्लै दिल्ली जाने निधो गरिन् । निस्किने बेला ठूलो छोरा रोहनलाई काखमा राखिन् । उनले त्यो मर्मस्पर्शी क्षणमा आफूले भनेको सुनाइन्, ‘छोरा  म बाँचे भने फर्केर आउँछु । बाँचिन भने बाबालाई कहिल्यै नरुवाउनू । भाइलाई कहिल्यै नछोड्नु है ।’ छोराले आँसु पुछ्दै हौसला दिए, ‘हवस्, मम्मी हजुर ढुक्क भएर जानुहोस् ।’ दिल्लीका लागि निस्किएका उनका पाइला एकोहोरो अघि बढे । अनुहार घरतिर फर्काउने हिम्मत गरिनन् । घरबाट निस्कँदा गह भरियो । उनले फर्केर हेर्नसमेत सकिनन् ।
    उनलाई उपचारका क्रममा खर्च बढ्दै गयो । घरमा ससुराबुवा र अमेरिकामा रहेका भदाले आर्थिक सहयोग गरे । ‘क्यान्सर हुँदा नैतिक बल निकै चाहिने रहेछ । त्यो महसुस भयो ।’ आफूलाई आर्थिक एवं नैतिक सहयोग गर्नेप्रति उनले कृतज्ञता व्यक्त गरिन् । नतमस्तक देखिइन् । ‘अमेरिकाबाट भदाले एक घण्टासम्म फोन गर्दै सम्झाउँथ्यो, तिमी नडराउन । कति खर्च लाग्छ, म व्यहोर्छु ।’ उनले स्मरण गरिन्, ‘भदाले पैसा पठाइहाल्छ । म खान्छु । त्यसपछि त बाँचिहाल्छु नि भन्ने ऊर्जा आउँथ्यो । यदि कसैसँग उपचार खर्च जुटाउने पैसा छैन र मोरल सपोर्ट पनि छैन भने त बाँच्दैनन् जस्तो लाग्छ ।’ पहिलो पटक किमो दिएपछि लामो कपाल र आँखीभौंका रौं झरे । किमोथेरापी नेपालमै गर्न सकिने सुझाव डा।एसके गुप्ताले दिए । उनी स्वदेशमै उपचार गर्न पाउँदा खुसी भइन् ।
    दुई वर्षसम्म उनी उपचारमै तल्लीन भइन् । यस अवधिमा उनलाई पाँचौं किमो दिइसकेपछि उनले एक दिन फेसबुक हेर्दै थिइन् । आफूसँगै काम गरेकी एकजना सहकर्मीको क्यान्सरबाट अमेरिकामा ज्यान गएको थाहा पाइन् । आत्मबल कमजोर भयो । उनलाई आफू पनि मर्छु की जस्तो लाग्यो । भर्याङ चढ्न पनि सकस भयो । किमोको अन्तिम साइकल दिनुअघि मरिहाल्छ की एकदिन आँसु अलि बढी बग्यो । उनको अवस्थाले गर्दा कान्छो छोराको ब्रतबन्ध गरियो । उनी अन्तिम पटक किमोका लागि पुनः भारत गइन् । दुई वर्षको अवधिमा किमो ६ साइकल चलाइयो । १८ पटक रेडिएसन दिइयो ।
    क्यान्सरसँग जुध्ने क्रममा उनले बालगुरु आदित्यबारे थाहा पाइन् । आत्मबल झन् बलियो हुँदै गयो । ‘उहाँ जन्मजात अपांगता भएर पनि यति दुरद्रष्टा, विलक्षण क्षमताको हुनुहुँदो रहेछ’, उनले भनिन्, ‘ममा के कमजोरी छ र, चिन्ता लिनु ?’ त्यो संयोग उनलाई मन दह्रो बनाउन सहायक भयो । उनले खानपिनमा जोड दिइन् । विस्तारै तङ्ग्रिँदै गइन् । ‘आइएम लक्की पर्सन’ उनी पुनः मुस्कुराइन् । ६ जनाको परिवारमा सबैभन्दा कान्छी छोरीका रूपमा जन्मेकी उनलाई घर र माइतीमात्र होइन साथीभाइ, सहकर्मीले दुःखको घाउमा मल्हम लगाए । अहिले उनको दैनिकी एकै खालको छ । बिहान अक्सिजन थेरापी लिन्छिन् । छोराहरू र आफ्ना लागि खाना–खाजा बनाउँछिन् । ‘छोराहरूलाई संस्कार दिन चाहन्छु । चुनौती स्वीकार गरे अघि बढ्न सक्ने संस्कार दिन चाहन्छु । संस्कार मैले दिन सकेँ भने अरू कुरा त संसारले सिकाउँछ’, उनले भनिन् । ठूलो छोरो कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्दैछन् । सानो छोरा ८ कक्षामा पढ्दै छन् ।
    उनलाई क्यान्सर रोग आफैंले निम्त्याएको झैं लाग्छ । ‘आसा अपेक्षा (एक्सपेक्टेसन) र वास्तविकता (रियालिटी) फरक छ ।’ उनले थपिन्, ‘आशा अपेक्षा (एक्सपेक्ट) गर्नु हुँदो रहेनछ । जे छ त्यसलाई एसेप्ट (स्वीकार) गर्नु पर्ने रहेछ । यो वास्तविकता त्यतिबेला बुझिनँ । तनाव लिएँ । त्यो तनाव नै क्यान्सर निम्त्याउने कारक हो जस्तो लाग्छ ।’ उनी जागिरकै लागि घरछोडेर विभिन्न मुलुक पुगिन् । घर फर्केपछि क्यान्सरसँग जुधिन् । जब जितिन्, अरूलाई प्रेरणा बाँड्न थालिन् । नेपाल क्यान्सर सर्भाइकल सोसाईटीकी उनी र उनीजस्तै केही जना मिलेर खोले । उनी त्यसको संस्थापक उपाध्यक्ष बनिन् ।
    उनले लिम्फोमा क्यान्सर जितेको सात वर्ष भयो । उनी पुलकित छिन्, क्यान्सर जितेकोमा । भन्छिन्, ‘फैलिएर चौथो स्टेजमा पुगिसकेको क्यान्सरलाई जितें ।’ क्यान्सर जितेको बोनस जिन्दगीप्रति उनी गर्व गर्छिन् । ‘मन पराउने रमन नपराउने सबैलाई स्वीकार (एसेप्ट) गर्छु । स्वीकार गर्ने तरिका भने फरक छ । मन पराउनेलाई मुटुमा राख्छु । मन नपाउनेलाई दिमागमा राख्छु ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट