
फूटपाथको एउटा सानो चिया पसलमा काठमाडौंसँग सिमाना जोडिएको जिल्लाका स्थायी बासिन्दा समेत रहेका साठी नेरफेर उमेरका अवकाश प्राप्त अध्यापक अचानक भेटिए । दोहोरो चिनजान थिएन, त्यहीँ चिनापर्ची भयो । उनले कुरा गर्ने खासै रुचि देखाएनन्, कारण भित्रभित्र साह्रै मुर्मुरिएका रहेछन्, वर्तमान राजनीतिसँग । चिया पिउँदै गरेका अर्का एकजना अधवैंशेले वर्तमान सरकार र राजनीतिक दलको क्रियाकलापको प्रसंग झिकेर आलोचना गर्न थाले । यसले त उनका लागि बाँदरलाई लिस्नु जस्तो पो भएछ । पुराना पार्टीको धज्जी उडाउँदै उनले भने, के साँच्चै निहुँ खोजेको हो नेताहरूले जनतासँग ? वर्तमान राजनीतिक प्रणाली किन र कसरी स्थापना भयो हामीलाई थाहा छैन ? यसमा क-कसको योगदान र निर्णायक भूमिका थियो, हामी जानकार छैनौं र ? हामी जनता नलागेको भए जनआन्दोलन सफल हुन्थ्यो ? अनि यो राजनीतिक व्यवस्था जनताका लागि होइन र ? कि कस्का लागि हो ? अहिले कसले ढलिमली गरिरहेको छ हामी बुझ्दैनौं र ? अब जवाफ खोज्ने समय आएको छ । अब कोही चुप बस्ने किन ? बारम्बार सत्तामा बसेका नेताहरूले आजसम्म के–के गरे रु जनतालाई एक–एक हिसाब चाहिन्छ ।
उनले नयाँ दल, अभियान कसैलाई बाँकी राखेनन् । सबैलाई थोरबहुत गाली गरे । पंक्तिकारले अलिकति सम्झाउन मात्रै के खोजेको थियो, उनी त झन् उत्तेजित भएर कराउन थाले । खाउँलाझैं गरेर वरिपरि हेर्दै पंक्तिकारमै केन्द्रित भएर भन्न थाले, तिमीहरू सब मतियार हौ । कति लुट्छौ देशलाई ? कति लुच्छौ, कति चुस्छौ, अझै पुगेन ? अलि बढी नै कुरा गर्न थालेपछि पंक्तिकारले थोरै कड्केर कसले लुट्यो, बुझेर बोल्नुस् । हावादारी कुरा नगर्नोस् । बद्मासी गर्नेलाई भन्नोस् । को मतियार थाहा पाएर बोल्नुस् । एउटा बिराउने शाखा पिराउने हुन्छ र ? भनेपछि उनको आवाज थोरै मत्थर त भयो, तर बोल्न छाडेनन् । तिम्रो पार्टी सरकारमा छ त, के नाप्यौ ? अबको चुनावमा पाउला भोट, अनि जितौला पनि, खाउला पनि, उनको आक्रोशमा निराशाको झल्को थियो । हामी गरीब मरिरहने तर नेता मोटाउने हो भने यो व्यवस्था किन चाहियो ? उनले थपे ।
ती व्यक्ति नेपाली समाजका प्रतिनिधि पात्र हुन् र २०६२/०६३ को जनआन्दोलनमा सक्रिय भएर लागेका अगुवा पनि रहेछन् । लाठी, अश्रुग्याँस सबै खाएका र हिरासतमा पनि बसेका । योगदान भएपछि अपेक्षा हुनु स्वाभाविक हो, त्यसैले यो विरोध असामान्य थिएन । तर, उनले जोसँग आक्रोश पोखे, उपयुक्त थिएन । निशाना सही थिएन । बश्, बोलेर स्वाद फेरे । सत्तारुढ दलको सदस्य भए पनि पंक्तिकार अहिलेसम्मका गल्ती, कमजोरी र बेथितिका लागि जिम्मेवार थिएन । तथापि आजभोलि चोकबजारमा यस्तै जनआक्रोशको सामना गर्नुपर्छ, अलिकति राजनीतिक पहिचान भएका व्यक्तिले । यो न्यायपूर्ण होइन । तर, राजनीतिक दलका सीमित नेताहरूको क्रियाकलापको तारो दलका सदस्यहरू बन्नु परेको दुस्खद् अवस्था छ । उनले साह्रै नमीठो गरी भने र कसैको मुखै नहेरी उठेर हिँडे । अर्को कुरा उनी हिँडेपछि थाहा भयो, ४/५ वर्षअघि प्रथम श्रेणीमा स्नातकोत्तर गरेका उनका छोराले तीनवटा सरकारी बैंकको जागिरका लागि लिखित परीक्षा पास गर्दा पनि तीनवटै बैंकले अन्तर्वार्तामा फालिदिएका रहेछन् । र, ती युवा अब कहिल्यै नेपाल फर्किन्नँ भनेर विदेशिएछन् । वास्तवमा उनीमाथि राज्यले गरेको यो साह्रै ठूलो अन्याय हो । केही नेता गैरजिम्मेवार हुँदा राजनीतिक प्रणालीकै बारेमा प्रश्न उठ्नु दुस्खद् हो । तर यो ठाउँ हामीले नै दिएका हौं, अरू कसैलाई दोष दिएर हुँदैन ।
सबैलाई थाहा छ, राजनीतिले समाजलाई डोर्याउने हो । तर, विडम्बना, क्षुद्र स्वार्थमा रुमल्लिएको वर्तमान राजनीतिसँग समाज डोहोर्याउने औकात र हैसियत दुवै छैन । नेपाली राजनीतिका केही अयोग्य पात्रहरूको अहिलेसम्मको चर्तिकलासँग जोडेर हेर्दा हाम्रो राजनीतिका केही कुरूप चित्रहरू झल्झल्ती देखिन्छन् । मानिसहरू अतालिन्छन्, त्यसैले नेपाल र नेपाली जनता सम्भवतस् दक्षिण एसियामै सर्वाधिक पीडित देश र जनतामा पर्दछन्, जसको एकमात्र कारण यहाँको विकृत राजनीति हो ।
\देशलाई निश्चित मिसनु, अल्पकालीन र दीर्घकालीन कार्ययोजना, विकासको प्राथमिकता र सुशासनले समृद्ध बनाउँदै लैजाने हो, तर विडम्बना नै मान्नुपर्छ, नेपाली राजनीतिले यो बाटो वा मार्गचित्र अनुशरण गरेन । त्यसैले पनि शिक्षा हासिल गर्ने क्रममा रहेका र अलिकति पूँजी भएका नागरिकका सन्तानले राज्यलाई पिठ्युँ फर्काएर सिमाना काटेकोकाट्यै गरेका छन् । यसको निरन्तरता रोकिएको छैन र रोकिने छाँट पनि छैन ।
देशभरिका कलेजमा भर्ना हुने विद्यार्थी पाइन छाडेका छन् । कोटा खाली हुन थालेको छ । यस दुर्भाग्यका बारेमा त सरकारलाई सोच्ने फुर्सद नै छैन । सोच्नुपर्छ भन्ने पनि छैन र रमिता नै आनन्ददायक छ । शायद यसबाट आफ्नो जिम्मेवारीको बोझ घटेको महसुस गर्दैछ सरकार । अर्कातिर गरीब, असहाय, बेरोजगार, अदक्ष, भूमिहीन र विभेद समेत झेलिरहेका नेपाली जनता के गर्दैछन् र उनीहरूको जीवन कसरी चलिरहेको छ भनेर हेक्का समेत नराख्ने सरकार जनताको सरकार हुनसक्छ त ? भन्ने गम्भीर प्रश्न छ । यस्तो सरकारले आफूलाई जनताबाट निर्वाचित हुँ भनेर जतिसुकै दुहाई दिए पनि आम नागरिकले आफ्नो ठान्छन् त ? कदापि ठान्दैनन् । र, अब वार कि पारको स्थिति बन्दै गएको छ ।
नेपालमा चारपटक स्थानीय सरकार र आठपटक केन्द्रीय सरकारका लागि चुनाव भयो । अझ पछिल्लोपटक नयाँ सरकार समेत थपियो प्रदेशका नाममा । आखिर यी सरकारहरू किन बने, केका लागि बने र आजसम्म के-के काम गरे ? इतिहासले जवाफ खोजेको छ । र, अब यस्ता धेरै बोल्ने तर काम पटक्कै नगर्ने गफाडी सरकारहरूको औचित्य कति भन्ने प्रश्न समेत उठेका छन् । र, जवाफ दिने ल्याकत कसैमा देखिँदैन । नेपाली जनताले २०१६ सालको सरकारबाहेक कुनै पनि सरकारहरूबाट राहत र आर्थिक सामाजिक परिवर्तनको अनुभूति गर्न सकेनन् । त्यस सरकारसँग राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिबाहेक आमनेपाली सन्तुष्ट र सहमत छन् । ०४८ सालका प्रारम्भिक दिनहरू सकारात्मक थिए, तर समयक्रममा गलत बाटोमा अग्रसर भए ।

प्रतिक्रिया दिनुहोस