
अन्तिम शाह राजा ज्ञानेन्द्रका नाममा राजावादीले तीनकुनेमा घटाएको शुक्रबारे काण्ड कुन हदसम्मको निन्दनीय र त्याज्य थियो भन्ने त निर्मलनिवासको टीका लगाएर तोकिएका यसका कमान्डर दुर्गा प्रसाईं भीडकै बीचमा भागेबाटै स्पष्ट हुन्छ । हुन त दुर्गा प्रसाईंबाट लोकेन्द्रबहादुर चन्द वा कीर्तिनिधि विष्टको जस्तो कुलीनता अपेक्षा राख्नु सायद ‘अपेक्षा’ शब्दकै मानहानि थियो । तर, ज्ञानेन्द्रजस्ता एक समयका स्रोतयुक्त राज्यसंस्थापनलाई उनै प्रसाईंजस्ता गुणस्तरहीन मानव संशाधनले काम चलाउने बाध्यता आइलाग्नु भनेको उनी कति निरीह र निरुपाय भइसकेछन् भन्ने प्रष्ट सबुत हो ।
उसो त दरबारभित्र सधैं छलछाम, षड्यन्त्र, हत्याकाण्ड र पर्व भइराख्नु, बाहिर भने शान्तिका परेवा उडाइराख्नु राजाहरूको कारुणिक नियति थियो । तर राजावादीहरूले दरबारका दुःखउपर कहिल्यै घोत्लिएनन्, सम्राटको अन्ध–बढाइँ मात्रै गर्दैरहे । राजवंशका सोखसयलमात्रै नभई दुःख पनि पुस्तान्तरण हुँदै आइरहेका थिए भन्ने समयमै थाहा पाएका भए राजावादीहरू धेरै पहिले गणतन्त्रवादी हुने थिए र राजालाई राजकाजका नाममा हुने संदिग्ध षड्यन्त्र र सधैंको डरबाट पहिल्यै मुक्त गरिदिने थिए । असली राजावादी त्यो हो, जसले राजाको भलो चिताउँछ ।
तर यी कस्ता राजावादी हुन्, जसले राजालाई एक भद्र–भलाद्मी मानिसका रुपमा बाँच्नै दिँदैनन् । अमेरिकामा पनि राष्ट्रपतिको सर्वोच्च पदमा दुई कार्यकालमात्रै हुन पाइन्छ । यहाँ त ज्ञानेन्द्र शाह आफैं दुईपल्ट राजा भइसकेका थिए । सानैमा जबर्जस्ती राजा बनाइँदा उनको बालसुलभ खेलजीवन खोसिएको थियो । पछि पनि उनलाई राजा हुन कहाँ मन थियो र ? दीपेन्द्रले वंशनाश नगरेको भए ज्ञानेन्द्रलाई उदार प्रजातान्त्रिक व्यवस्थाले ग्यारेन्टी गर्ने व्यावसायिक जीवनको मजामा रत्याइरहने थियो । सम्झौं त, केही कुरा सित्तैमा प्राप्त गर्नु र मेहनतको आर्जनले आनन्दित हुनुको मजा । राजतन्त्रले ज्ञानेन्द्रको ‘बिजनेस–माइन्ड’ को उपयोगसमेत गर्न सकेन । व्यक्तिलाई उसको निजी इच्छाविरुद्ध जान बाध्य गराएर कामै गर्न नदिनु राजतन्त्रको सर्वाधिक ठूलो दुर्गुण हो । पारस शाह खेलाडी बन्न सक्थे, हृदयेन्द्र गायक । हिमानी प्राध्यापक बन्न सक्थिन्, कृतिका हस्तकला उद्यमी । केही र ‘कोही’ नबनेर फगत एक सामान्य मानिस बन्नुको परम सुखभोग गर्न नपाउँदा पारस सोनिकासँग मोटरसाइकलमा टिकटक बनाउँदै हिँडे । के राजावादीहरूलाई यसको कल्पना र सम्झना छ ?
तर राजावादीहरू सम्झँदैनन् । यदि सम्झिन्थे भने भाटभटेनी सुपरस्टोरबाट बलियाबांगा लठैतहरूले फ्रिज, टिभी, अनि निर्धा लठैतले स्याउ र केरा चोरेर भाग्ने थिएनन् । गोर्खाली राजा माग्दै हिँड्नेले तीन बोत्तल गोर्खा स्ट्रङ बियरमा बिक्ने (अझ सित्तैमा) थिएनन् । । धर्मगुरुको नाम भजाउनेहरूले कम्तीमा धर्मको सम्मान गर्न सिक्ने थिए, चम्बलघाटीका डाँकुका सरदार विरप्पन भएर निस्कने थिएनन् । ज्ञानेन्द्रले निर्वाचित प्रधानमन्त्री हटाई सक्रिय राजा बन्न सैन्य कु गर्दा बीबीसी लन्डनबाट पत्रकार कनक दीक्षितलाई संयुक्त राष्ट्रसंघको नेपाल मुख्यालयमा पहिलोपल्ट फोन लगाउने रवीन्द्र मिश्र आफैं राजसंस्था पुनर्स्थापनाजस्तो गैरसंवैधानिक आकांक्षाका मतियार बन्ने थिएनन् ।
रवीन्द्र मिश्रको बारेमा अब लामो कुरा नगरौं । एउटै आखिरी टिप्पणी गर्न मन छ । उनी यसअघिका दुई आम चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग झिनो मतान्तरले हारेथे । त्यसबेला कताकति लाग्थ्यो, पश्चिमा विश्वको एक्स्पोजर र खुलापन देखेर स्वदेश फर्केका यिनी संसदमा आएका भए राजनीतिक परम्परा र संस्कारले अलिकति पुनर्ताजगी पाउने थियो ।
उनी विवेकशील साझाबाट राप्रपामै जाँदा समेत राजा नआए पनि रवीन्द्र मिश्र आउँछन् त के भो भन्ने ‘दलभन्दा माथि विचार’ हाबी थियो । हिजोआज भने मैले पनि ‘मार्ग परिवर्तन’ गरेको छु, र मलाई लाग्छ– प्रकाशमान औसत होलान्, रवीन्द्र मिश्र त हानिकारक नै छन्, जो पूर्वराजासँग नवीन समझदारी गर ‘नत्र’ बंगलादेश, सिरिया होलाउ भनेर नागरिकलाई हिंसा, धार्मिक साम्प्रदायिक दंगामार्फत् सरेआम धम्क्याउँछन् । अनि पहिलेका आन्दोलनमा कोही नेता थियो भन्दै अराजकताको उन्मत्त पक्षपोषण गर्छन् । प्रकाशमानले कुनै माखो मार्न सकेको त थाहा छैन, तर कम्तिमा यिनी साम्प्रदायिक हुल्लडबाजीमा सामेल छैनन् ।
र, दुर्गा प्रसाईंका बारेमा पनि अब धेरै भन्नुपर्ने केही छैन । उनले वर्षौंदेखि नेपालको संविधान र कानुनलाई ठाडो चुनौती दिइरहे पनि शक्तिको चन्द्रमा सधैं उनको दायाँ रह्यो । आफ्नो कुनै हैसियत नभए पनि उनले नेपालमा प्रधानमन्त्री भएका र भइसकेका नेतृत्वको हैसियत देखाइसकेका छन् । माओवादी हुँदा माइला लामाको गीत गाउन नजाने पनि प्रचण्डको सुखसुविधामा कमी हुन दिएनन् । एमाले हुँदा मदन भण्डारी नचिने पनि कसलाई चिन्नुपर्छ, उनलाई राम्रोसँग थाहा थियो ।
प्रचण्ड र केपी ओलीलाई प्रयोग गर्दै, र उनीहरूबाट समेत सारोगारोमा प्रयोग हुँदै प्रसाईं अब लागे निर्मल निवासतर्फ । ज्ञानेन्द्रलाई यति बेला राजेन्द्र लिङ्देन र कमल थापाभन्दा दुर्गा प्रसाईं प्यारा छन् । भक्तिकालीन कविता पंक्तिको याद आउँछ– ‘जता गयो उतै मेरा नजरमा राम प्यारा छन् ।’ साहित्यमा त टेक्टोनिक सिफ्ट नै आइसक्यो भनेर सञ्जीव उप्रेतीदेखि कुमार नगरकोटीसम्मले मानिसके, तर नेपाली राजनीतिमा भने राजतन्त्रदेखि गणतन्त्रसम्मै भक्तिकाल नै चलिरहेको छ ।
ज्ञानेन्द्रलाई त झन् के भनूँ र, जसलाई के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्ने कमनसेन्स पनि छैन । (अंग्रेजीमा भन्छन् नै, कमनसेन्स इज सो अन्कमन् ।) बरु गीतकार जी शाहलाई उनको आफ्नै पुरानो गीत सम्झाइदिन मन छ (उनले आफैं लेखेका हुन् भन्ने साहित्यिक विश्वाससहित) ‘बाँच्नु नै छ यदि भने बाँच नेपाली भै ।’ यो किन सम्झाउनुपर्यो भने उनी पोखराबाट प्लेनमा २५ मिनेट उड्दैमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर छापिहाल्नुपर्ने कुनै कारण थिएन । अरु लामो छलफल नगरुँ । प्रयागराजमा भर्खरै त महाकुम्भ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस