आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

राजा ज्ञानेन्द्र र ‘पृथ्वीपथ’


  • आक्रमण न्युज
  • २०८२ बैशाख १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४९७ पाठक संख्या
  • नयाँ वर्ष २०८२ को शुभकामना सन्देशमा राजा ज्ञानेन्द्रले नेपाल अब ‘पृथ्वीपथ’ मा हिँड्नुपर्ने विचार प्रस्तुत गर्नुभयो। ‘पृथ्वीपथ’लाई मिहिन ढंगबाट बुझ्न आधुनिक नेपाल राष्ट्रका संस्थापक श्री ५ पृथ्वीनारायण शाहको इतिहास, जीवन र विशेषगरी ‘दिव्योपदेश’ को विश्लेषण अपरिहार्य छ। पृथ्वीनारायण शाह, आधुनिक नेपाल राष्ट्रका संस्थापक, एक दूरदर्शी राजनेताका रूपमा चिनिन्छन् जसले १८औँ शताब्दीमा विखण्डित राज्यलाई एकीकृत गरी एउटा राष्ट्र बनाए।
    केही साम्यवादी नेता र विश्लेषक र पश्चिमाको पैसामा सञ्चालित एनजिओले पृथ्वीनारायण शाह एकीकरणको नायक होइन विस्तारवादी भन्ने आरोप लगाउने गर्छन्। तर, निष्पक्ष शोध गर्दा स्पष्ट छ कि उनले भारतमा बेलायती साम्राज्यवाद हावी हुँदै गएको अवस्थामा हिमवत खण्ड सनातनी संस्कृतिको देवभूमि पश्चिमाको चंगुलबाट बचाइराख्न एकीकरणको अभियान सुचारु गर्नुभयो। एउटा एकीकृत राष्ट्र, एउटा सनातनी हिन्दु राष्ट्र बनाउने उनको चाहना थियो त्यसैले नेपाल राष्ट्रलाई ‘असली हिन्दुस्तान’को संज्ञा दिनुभयो।
    १७७९ पुस २७ गते गोरखामा जन्मिएका उनले २० वर्षको उमेरमा गोरखाको राजगद्दी सम्हाले र एकीकरण अभियान सुरु गरे जसले नेपाललाई सार्वभौम राष्ट्रको रूपमा स्थापित गर्यो। उनको मृत्युको केही समयअघिमा दिइएको ‘दिव्योपदेश’ मा उनले शासन, राष्ट्रियता, राष्ट्रिय एकता, कूटनीति, राष्ट्रिय सुरक्षा र आर्थिक आत्मनिर्भरताबारे गहन विचार व्यक्त गरेका थिए। नेपालले २१औँ शताब्दीमा आफ्नो पहिचान, सार्वभौमिकता र विकासलाई विश्वव्यापीकरणको तीव्र गतिमा सन्तुलन गर्न खोजिरहेको बेला ‘पृथ्वीपथ’ को मार्गदर्शन आजको समयमा झन् सान्दर्भिक हुदै आएको छ।
    राष्ट्रको शक्ति जनतामा निहित हुन्छ भन्ने पृथ्वीनारायण शाहको विचार सबैभन्दा प्रगतिशील मध्य मान्न सकिन्छ। जुन बेला नेपालमा मात्र नभएर विश्वभर राष्ट्रको शक्ति राजा र राजाको शक्ति ‘दैविक शक्ति’ भन्ने विचार थियो, त्यसबेला ‘दिव्योपदेश’ मा शाह भन्छन्, ‘यदि राजा बुद्धिमान् छ भने, उसले सैनिक र किसानलाई आफ्नो पक्षमा राख्छ।’ उनको भनाइ थियो कि राजाको वैधानिकता जनताको समर्थनमा निर्भर हुन्छ, विशेष गरी सैनिक जो राष्ट्रको रक्षा गर्छन् र किसान जो अर्थतन्त्रलाई धान्छन्। संक्षिप्तमा राष्ट्रको हित भनेको राष्ट्रको सुरक्षा र अर्थतन्त्रलाई केन्द्रमा राखेर मात्र सम्भव छ, राष्ट्रले अखंड़ता र सुरक्षा र अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ।
    थप ‘दिव्योपदेश’मा उल्लेख छ ‘जससँग जनता सन्तुष्ट छन्, ऊ नै काजी बनाइन्छ।’ अर्थात् राजाले होइन जनताले चाहेका व्यक्ति काजी (प्रधानमन्त्री) हुन योग्य हुन्छ। यो सिद्धान्त अहिले जनताको रुझान बढ्दै गएको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसँग मिल्दोजुल्दो छ। उदाहरणको लागि पृथ्वीनारायणलाई बिराज बखेतीलाई काजी बनाउने चाहना थियो तर जनताले मन पराएका र बाइसी–चौबीसीअन्तर्गत पर्ने राज्यको पनि कालु पाँडेलाई काजी बनाए राम्रो हुन्छ भन्ने विचार आएपछि उनले कालु पाँडेलाईनै काजीको जिम्मेवारी दिए। २५० बर्ष पहिलाको समयमा पनि आफ्नो चाहना भन्दा जनताको मनोभावनालाइ कदर गरेको त्यो निकै प्रगतिशील कदम थियो। उहाँको अर्को भनाइले प्रस्ट हुन्छ केहि साम्यवादी चिन्तनका नेता र विश्लेषक जस्तो शोषण गर्ने मनसाय भन्दा पनि जनताको हीतनै पृथ्वीनारायण शाहको मुख्य उदेश्य थियो, उदाहरणको लागि ‘जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।’
    पृथ्वीनारायण शाहको राष्ट्र निर्माणमा समावेशिताको चिन्तनको पनि धेरै महत्व थियो। दिव्यउपदेशमा उल्लेख छ, ‘यो मेरो सानो प्रयासले प्राप्त भएको राष्ट्र होइन, यो सबै प्रकारका फूलहरूको बगैंचा हो, र सबैले यो कुरा बुझ्नुपर्छ’ र ‘चार जात र छत्तिस वर्णको बगैंचाू। दर्जनौ जातजाति र सन् २०२१ को जनगणना अनुसार नेपालमा १२४ ओटा मातृभाषा छन्। यस्तो संसारमै बिरलै हुने विविधता हाम्रो राष्ट्रको गौरव हो, हाम्रो शक्ति हो। त्यसबेलाका अरु शाशक जस्तो राष्ट्र निर्माणको जस आफुले लिएनन् यसको विपरीत राष्ट्र निर्माणको जस सबै नेपालीको साझा भन्ने कुरामा जोड दिए। नेपाल भनेको सबै जाति, भाषा, संस्कृति, भौगोलिक क्षेत्र, र अन्य विशेषतामा आधारित साझा ‘बगैंचा’ को संज्ञा दिए, त्यस्तो बगैंचा जहाँ थरि(थरिको फुलले सजिएको छ र सबैको आ–आफ्नो महत्व र विशेषता छ। यो सन्देश अहिलेका नेता र नीति निर्मातालाई सामाजिक एकता र समान विकासमा ध्यान दिन मार्गनिर्देशन गर्छ। इतिहासमा जहाँ पनि विजयी भएको पक्ष्यको नाम, धर्म र संस्कृति नै हावी हुन्छ, पृथ्वीनारायण शाहको उदार चिन्तनकोको ठुलो उदाहरण हो कि उनले काठमाडौँ उपत्यकामा जित हासिल गरेपछि कुमारीको आशीर्वाद मात्र लिएनन् नेवारी समुदायका पर्व, जात्र र महोत्सवलाई निरन्तरता दिए।आफूले जितेको नाम गोर्खा राखेनन्, नेपाल राखे।
    पृथ्वीनारायण शाहको कूटनीतिक चतुरता र भूराजनीतिक दूरदर्शिता पनि समय सान्दर्भिक छ। नेपाल जस्तो भूपरिवेष्ठित देश त्यो पनि दुइटा भौगोलिक र आर्थिक रुपले विशाल छिमेकीका लागि सन्तुलित कूटनीतिक र रणनीतिक भूराजनीति अवलम्बन गर्न अपरिहार्य छ। नेपालको भौगोलिक अवस्था धेरै संवेदनशील छ र राष्ट्र सञ्चालन गर्दा अन्तर्राष्ट्रिय सम्बन्धको सही ज्ञान हुनुपर्छ भन्नेमा पृथ्वीनारायण शाह सचेत थिए भन्ने पढ्दा प्रस्ट छ। उनले ‘दिव्योपदेश’ मा नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ को रूपमा चित्रण गरेका छन्, जसले उत्तरमा चीन र दक्षिणमा बेलायती साम्राज्यलाई संकेत गर्छ। उनको सुझावमा ‘चीनका सम्राटसँग मित्रताको सन्धि कायम राख र दक्षिणी समुद्रका सम्राटसँग पनि’ , अरु राष्ट्रभन्दा दुइटा छिमेकीलाई खुशी बनाउँदै सन्तुलित छिमेक नीति नै नेपालको हितमा हुन्छ भन्ने धारणा राखे।
    छिमेकीको तुलनामा नेपाल भौगोलिक र आर्थिक रुपले सानो भएको कारण राष्ट्रको सार्वभौमिकता जोगाउन आक्रामकभन्दा रक्षात्मक रणनीतिमा जोड दिएका छन्। चतुर कूटनीति भनेकै व्यावहारिक कूटनीति हो भन्नेमा पृथ्वीनारायण शाहको जोड देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट