आज: २०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

निति प्रधान हुने परिपाटि बसालौ


  • आक्रमण न्युज
  • २०८३ जेष्ठ २४, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ७४ पाठक संख्या
  • अमेरिका पश्चिमा सभ्यता र इशाई धर्मको संरक्षक हो भन्ने ट्रम्पको स्पष्ट सन्देश छ । त्यसैले उदारवादी धारका विपक्षीमाथि ट्रम्प आक्रामक बन्ने गर्छन् । उनीहरुलाई देशहितमा भन्दा विदेशीको हित रक्षामा लागेको अरोप लगाउँछन् । उनी अमेरिका विरोधी विदेशी सत्ताप्रति कठोर बन्दा आलोचित पनि भएका छन् । तर, ट्रम्प रोकिएका छैनन् ! रुसमा २६ वर्षयता भ्लादिमिर पुटिन सत्ता चलाइरहेका छन् । सोभियत संघको विघटनपछि खुम्चिएको रुसलाई फेरि पुरानै शक्तिमा फर्काउन पुटिनले सफल नेतृत्व गरे ।

    मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद जस्ता सिद्धान्तबाट लामो समय चल्दै अएको सोभियत संघको विघटनसँगै रुस कठिन युगमा प्रवेश गरेको थियो । पुटिनले विगतमा धेरै गल्ती भएको, सँसारमा सोभियत संघलाई कसैले केही गर्न नसक्ने अहंकारका कारण क्षति भएको मात्र भनेनन् नयाँ युगतर्फ लान सिद्धान्त र नीतिमै आमूल परिवर्तन गरेर देखाए ! रुसको हितलाई केन्द्रमा राखेर पुटिनले युद्ध र शान्ति दुवैको रणनीति अपनाए । विश्वको दोस्रो धनी देश चीनमा सी चिनफिङ १३ वर्षयता सत्तामा छन् । आधुनिक चीनमा माओपछि सर्वाधिक शक्तिशाली बनेका सीले राष्ट्रलाई केन्द्रमा राखेर कार्य गरे । धेरै जनसंख्या भएको देश भारतमा नरेन्द्र मोदी १२ वर्षयता प्रधानमन्त्री छन् ।

    मोदी युगलाई भारतको राजनीतिमा नयाँ युगका रुपमा लिइएको छ । मोदीले हिन्दुत्वको सिद्धान्तको अनुयायीका रुपमा आफूलाई उभ्याएनन् मात्र भारतलाई नयाँ उचाई दिए । मोदी युगमा भारत दशौं बाट विश्वको चौंथो धनी देश बन्यो । विश्व राजनीतिमा भारत सशक्त शक्तिमा गणना भयो । ७५ वर्षीय मोदी उही जोस र जागरका साथ सक्रिय छन् जतिबेला सन् २०१४ मा ६३ वर्षको उमेरमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । एक्काइसौं शताब्दीमा विश्वभर धेरै परिर्वतहरु भए । त्यसबाट धनी र शक्तिशाली देश देखि गरिब र कमजोर देश पनि अछुतो हुन सकेनन् । फरक यति हो गरिब देशहरुमा शासनमा पात्र धेरै परिवर्तन भए प्रवृत्ति र कार्यशैलीमा कमै परिवर्तन भए । गरिबी, बेरोजगारी र भ्रष्टाचार घटेन । नेताहरु परिवर्तन भइरहे । चुनावबाट निर्वाचितले पूरा कार्यकाल शासन चलाएको घटना सायदै होला ।

    अमेरिकामा कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रपतिहरुले चार वर्षे कार्यकाल पूरा गरेको इतिहास छ । मोनिका लिवेन्स्कीसँगको यौनकाण्डमा मुछिएपनि बिल क्लिन्टनले कार्यकाल पूरा नगरी राजीनामा दिनु परेन । मोदी तेस्रो कार्यकाल निर्वाचित प्रधानमन्त्री छन् । सत्ताको स्थायित्वसँगै बलिया देशहरुले झन् शक्ति आर्जन गरे । अमेरिका, चीन, भारत र रुस यसका उदाहरण हुन् । त्यहाँका नेताहरुले देशलाई केन्द्रमा राखेर आवश्यकता अनुसार नीति र रणनीति दुवै परिवर्तन गर्दै समृद्धि र सैन्य शक्ति दुवै हासिल गरे । राजनीतिक स्थायित्वले देश कति बलियो हुन्छ भन्ने सिंगापुर उदाहरण हो । लि क्वानको स्थायी शासनबाट सिंगापुरले फड्को मार्यो। क्वानले समृद्धिसँगै देशको संस्कृति समेत मजबुत बनाइराखे । जुन देश नीति परिवर्तनभन्दा नेता परिवर्तनमै अल्झियो त्यो देश उभो लागेको छैन ।

    देश हितमा नीति बनाई कार्यान्वयन पनि गर्न सक्नेहरु ओझेलमै परे । नेपालमा पनि प्रधानमन्त्री बदलिइरहने क्रम चल्दै आयो । नीति परिवर्तन नहुने नेता परिवर्तन गरिरहने शैलीका कारण देश अस्थिरताको भूमरिमा परिरह्यो । पुटिनले २६ वर्ष रुसमा शासन गरिसक्दा नेपालमा २० भन्दा बढी पटक प्रधानमन्त्री परिवर्तन भइसके । राजाको ठाउँमा राष्ट्रपति राष्ट्रप्रमुख बनाउने प्रणाली आयो । तर, देशले विकासमा अपेक्षाकृत फड्को मार्न सकेन । बरु उल्टै राजनीतिक अस्थिरताको दलदल बढ्दै गयो । छिमेकी भारतमा मोदी १२ वर्ष प्रधानमन्त्री हुँदा नेपालमा भने १२ पटक नै प्रधानमन्त्री फेरिइसके । मोदीको निम्तोमा वर्षैपिच्छे नयाँ नयाँ प्रधानमन्त्री दिल्ली यात्रामा जाने गरेका छन् । अर्को छिमेकी चीनमा सी चिनफिङले पनि वर्षैपिच्छे नेपालका नयाँ नयाँ प्रधानमन्त्रीलाई बेइजिङमा निम्तो गर्नुपरेको छ ।

    न्युयोर्क पुगेर डोनाल्ड ट्रम्पसँग नेपालका फरक फरक प्रधानमन्त्रीले तस्बिर खिचाए । यसरी पात्र परिवर्तन भइरहे तर देश बनाउने नीतिमा खासै कुनै परिवर्तन आएन ! लोकप्रियता र भाइरल बनेर नेता बन्ने मापदण्ड विकास गर्न खोजिएको छ । नीति र सिद्धान्तभन्दा पार्टी नेतृत्वमा पात्र परिवर्तनको लहर चलाउन खोजिएको छ । सिद्धान्त, विचार, देश विकासको दुरगामी योजनामा कुनै बहस र विमर्श राजनीतिक दलहरुभित्र हुन छाडेको छ । देशलाई केन्द्रमा राखेर भन्दा व्यक्तिलाई केन्द्रमा राखेर परिवर्तन देखाउन खोजिएको छ । यसले देशलाई दुरगामी रुपमा अर्को संकटमा धकेल्न खोज्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट