
प्रधानमन्त्री बनेको ९ महिनापछि बालेन्द्र साह छिमेकी भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री बनेपछि यो उनको दोस्रो विदेश भ्रमण हो । उनको पहिलो भ्रमण अमेरिका थियो, जहाँ संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर उनले सम्बोधन गरेका थिए । भारत भ्रमणको माहोल र एजेन्डा तयार गर्न नेपाल र भारत दुवैतर्फबाट निकै गृहकार्य भए यसपटक । तयारीकै लागि भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आएका थिए । नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पनि सक्रिय रहेका छन् । बालेनका दूत केही महिनाअघि अनौपचारिक रुपमा भारत पुगेका थिए ।



बालेनको भारत भ्रमण केही महिना अघि नै हुने चर्चा थियो । भारतको उपेक्षा गर्ने व्यवहारले ढिलो भयो । विदेशी अधिकारीहरुसँग भेट्न आनाकानी गर्ने बालेनको स्वभावका कारण भारतका विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण केही पछि धकेलिएको थियो । बालेनभन्दा पहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्तारुढ पार्टीका नेताका रुपमा भारत भ्रमण गरेका थिए । भारतीय जनता पार्टीको निम्तोमा दिल्ली पुगेका रविले यसअघि नेपालका कुनैपनि दलका नेताले नपाएको भव्य स्वागत सत्कार पाएका थिए ।
उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष नीतिन नविन, गृहमन्त्री अमित साहलगायत उच्चअधिकारीहरुसँग भेट गरेका थिए । यो घटनाले सत्तारुढ दल रास्वपाभित्रको राजनीतिलाई समेत तरंगित पारेको थियो । भारतलाई आश्वस्त पार्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त नयाँ दिल्लीमा आयोजित एनडीटीभी वल्र्ड समिटमा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने युग समाप्त भएको अभिव्यक्ति दिए ।
भारतको विरोध गरेपछि राजनीतिक लाभ लिन सकिन्छ भन्ने विगतका केही नेताप्रति लक्षित यो अभिव्यक्ति निकै विवादमा तानियो । नेपालमा भारतविरोधी जनमत विकास गर्ने र त्यही आधारमा राजनीति गर्ने प्रवृत्तिले विगत लामो समययता मलजल पाएकै हो । भारतसँग नमिलेका जायज मुद्दालाई जायज तरिकाले उठान गर्नेभन्दा भोटबैंकका रुपमा सिमित राख्ने परिपाटी चल्दै आयो । सीमाका मुद्दा हुन् या जलस्रोतका मुद्दा नै किन नहुन् नेपालको स्वार्थमा काम गर्नेभन्दा राजनीतिक रोटी सेक्ने रणनीतिमै सिमित हुँदै आयो ।
भारतसँग महाकाली सन्धी हुँदा त नेकपा एमाले पार्टी नै फुटेको इतिहास साक्षी छ । सन्धी त भयो तर पञ्चेश्वर जलविद्युत आयोजनाको डीपीआर सम्म अझै बनेन । कालापानीको विषय जोडतोडले बेला बेलामा उठ्ने सेलाउने गर्दै आयो । तर, समाधान निस्किएन ।
दश वर्ष सशस्त्र द्वन्द्व गर्दा तत्कालीन नेकपा माओवादीले भारतविरुद्ध सुरुङयुद्ध गर्ने उद्घोष समेत गरेको थियो । तर, ती सबै भारतविरोधी जनमत जगाउने र त्यसलाई आकर्षित गर्ने रणनीति मात्र रहेछ भन्ने कालान्तरमा प्रमाणित भयो ।
व्यवस्था र राजनीतिक दलका अलोकप्रिय नेताविरुद्ध ¥याप गाएर युवामाझ लोकप्रिय बनेका बालेन्द्र साह स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयर जित्छन् भन्नेमा पाका पुस्तालाई होस समेत थिएन । उनी मेयरमात्र जितेनन् सामाजिक सञ्जालमा लोकप्रिय ‘स्टाटस’ राख्दै जेनजी विद्रोहको अघोषित नेता बनिसकेका थिए ।
मेयर बन्दा उनले भारत र चीनलाई समेत चुनौती दिनेगरी स्टाटसहरु सार्वजनिक गरेर छिमेक विरोधी जनमत तानेनन् मात्र नेपालको राष्ट्रवाद नै छिमेकविरोधी हो भन्ने भाष्यलाई मलजल गराए । यतिसम्मकी, भारतको संसदमा भारतवर्षको सांस्कृतिक नक्शा राखिएको बदलामा ग्रेटर नेपालको नक्शा महानगरपालिकाको मेयरको कक्षको पछाडितर्फको भित्तामै टाँसेर सार्वजनिक गरेका थिए ।
उनले भारतको समेत नाम तोकेर अश्लील स्टाटस ट्वीट गरेको घटना चर्चामा थियो । रोचक त यो छ कि यस्ता हर्कतका बाबजुद नेपाली समाजले बालेनलाई अलोकप्रिय पुराना नेताहरुको विकल्पमा स्थापित गरिदियो । नेपालमा नेता बन्न भारतको विरोध गर्नुपर्छ भन्ने भाष्य फेरि एकपटक स्थापित भयो ।
जेनजी विद्रोहपछिको माहोलमा भएको निर्वाचनमा रास्वपाले अभूतपूर्व सफलता हासिल गरेपछि प्रधानमन्त्री बनेका बालेनलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन वार्ताबाट बधाई दिएका थिए । त्यसपछि भारतले उनलाई भ्रमणका लागि निम्त्याउने आतुरता देखाएको थियो । निवर्तमान राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री बालेन साहलाई भेट्ने प्रयासहरु गरेका थिए । तर बालेनले राजदूतहरुसँग सामूहिक भेट मात्र गरे ।
उनले विदेशी अधिकारीलाई भेट्न तब मात्र सुरु गरे जब एशियाली विकास बैंकका अध्यक्ष मासाटो कान्डालाई असारमा आफ्नै कार्यकक्षमा भेटे । भारतप्रति उनको नीतिबारे आशंकाहरु उब्जिए । बालेनको उपेक्षा वाध्यकारी रुपमा आशामा बदलिन पुग्यो जब रसुवा बाढीमा भारतको सहयोग आवश्यक पर्न गयो ।
रसुवा बाढीबाट ठूलो जनधनको क्षति हुँदा भारत सबैभन्दा पहिला सहयोगी बनेर देखाप¥यो । भारतका विदेशमन्त्री डा. एस. जयशंकर देखि विदेश मन्त्रालयका उच्च अधिकारीहरु राहतको प्याकेज पठाउन व्यस्त देखिए । जयशंकरले त रसुवा बाढीमा नेपाली सेनाको उच्च प्रशंशा गरिएको भिडियो नै सार्वजनिक गरेका थिए । भारतले मागेको सहयोग सक्दो पठाइरह्यो । उद्धारका लागि दक्ष प्राविधिकहरु समेत पठाएर टनलभित्र उद्धार कार्यमा योगदान गरिह्यो ।
तत्कालीन भारतीय राजदूत नवीन श्रीवास्तव स्वयं बाढी प्रभावित क्षेत्रमा पुगे । प्राकृतिक प्रकोपको घटनापछि बालेन सरकारसँग भारतबाट बढी सम्पर्कहरु स्थापित हुनपुगे । बालेनको भारत भ्रमणमा नेपालको प्राथमिकता बाढीपछिको पुनः निर्माणमा सहयोगको विषय मुख्य हुने चर्चा चलेको छ ।
प्रधानमन्त्री बालेन साहको भ्रमणमा नेपालले बाढीपछिको पुनः निर्माणमा आर्थिक सहयोग, जलविद्युतमा लगानी र भारतको सहयोगमा निर्माणाधीन भौतिक पूर्वाधारलाई गति दिने आशा राख्ने टाइम्स अफ इन्डियाले लेखेको छ । यिनै मुद्दाको तयारीका लागि भारतका विदेश सचिव विक्रम मिश्रीले नेपाल भ्रमण गरेर परराष्ट्रसचिव समकक्षी अमृत राईलाई भेटेर फर्किइसके ।
लिपुलेकलगायत मामलाले महिनौको कूटनीतिक टकरावपछि बालेनको भ्रमण हुन लागेको टाइम्स अफ इन्डियाले लेखेको छ ।


प्रतिक्रिया दिनुहोस