आज: २०८३ अषाढ २७, शनिबार | Sat, 11, Jul, 2026

पत्रकारिताको यात्रामा नारायणी टुडे राष्ट्रिय मासिकको गौरवपूर्ण २६ वर्ष पूरा


  • आक्रमण न्युज
  • २०८३ अषाढ २७, शनिबार मा प्रकाशित २ घण्टा अघि
  • ३२ पाठक संख्या
  • जनताको आवाज, समाजको ऐना र सत्यको पक्षमा निरन्तर प्रतिबद्ध रहने प्रकाशक पौडेलको भनाइ

    भरतपुर । समाजका समसामयिक विषय, जनसरोकार र सूचनाको विश्वसनीय माध्यम बन्दै आएको नारायणी टुडे राष्ट्रिय मासिकले आफ्नो प्रकाशन यात्राको २६ औँ वार्षिकोत्सव भव्य समारोहका बीच सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि निरन्तर क्रियाशील रहँदै आएको नारायणी टुडेले आफ्नो २६ वर्षे यात्रालाई समीक्षा गर्दै आगामी दिनमा अझ जिम्मेवार, प्रभावकारी र जनमुखी पत्रकारितालाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    वार्षिकोत्सव समारोहका प्रमुख अतिथि भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले सञ्चारमाध्यमले समाज परिवर्तनमा खेलेको भूमिकाको प्रशंसा गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभयो । उहाँले स्थानीय समस्या, विकास निर्माण र जनताका आवाजलाई प्राथमिकताका साथ उजागर गर्दै आएको नारायणी टुडेले पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “सञ्चारमाध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र होइन, समाजलाई सही दिशातर्फ डो¥याउने शक्तिशाली अभियान पनि हो । नारायणी टुडेले २६ वर्षको यात्रामा जनताको आवाजलाई स्थान दिँदै समाज र राष्ट्रप्रतिको आफ्नो दायित्व निर्वाह गरेको छ । आगामी दिनमा पनि अझ सशक्त र जिम्मेवार पत्रकारिताको यात्रामा अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

    कार्यक्रमका विशिष्ट अतिथि अरबिन्द प्रताप राणाले नारायणी टुडे टुडे नै रहिरहोस कहिल्यैपनि एसटडे नहोस भनि व्यख्या गर्नुभएको थियो । तथापी पत्रिका निरन्तर प्रकाशनमा रहनु आफैँमा ठूलो उपलब्धि भएको बताउँदै सञ्चार संस्थाको स्थायित्वका लागि निरन्तरता, विश्वसनीयता र पाठकसँगको सम्बन्ध महत्वपूर्ण हुने धारणा राख्नुभयो ।

    त्यस्तै कार्यक्रमका अर्का विशिष्ट अतिथि डा. भोजराज अधिकारीले समाजका सकारात्मक पक्षलाई उजागर गर्दै विकृति र विसंगतिविरुद्ध कलम चलाउने पत्रकारिता अहिलेको आवश्यकता भएको बताउनुभयो । उहाँले नारायणी टुडेले स्थानीयदेखि राष्ट्रिय महत्वका विषयलाई समेट्दै आफ्नो छुट्टै पहिचान निर्माण गरेको उल्लेख गर्नुभयो ।

    भरतपुर महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्लेले स्थानीय विकास, सामाजिक गतिविधि र जनप्रतिनिधिका कामलाई जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउँदै नारायणी टुडेले स्थानीय पत्रकारितालाई मजबुत बनाउन योगदान दिएको धारणा राख्नुभयो ।

    कार्यक्रममा वरिष्ठ साहित्यकार डि.आर. पोखरेल, समाजसेवी नारायण सिंह कुँवर, प्रा.डा. श्यामराज रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्य तथा साहित्यकार बाबा बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नारायणी टुडेले पत्रकारिता, साहित्य, समाज र संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारिता क्षेत्रमा निरन्तरता र विश्वसनीयता नै सबैभन्दा ठूलो पूँजी भएको बताउँदै २६ वर्षसम्म पाठकको विश्वास कायम राख्न सफल हुनु नारायणी टुडे परिवारको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा स्वागत मन्तव्य दिँदै एलिशा कंडेलले नारायणी टुडेले समाजका विविध पक्षलाई समेट्दै सूचना, विचार र चेतनाको माध्यमका रूपमा निरन्तर भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

    समारोहको सञ्चालन विन्दु पौडेलले प्रभावकारी रूपमा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, आजीवन सदस्य, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    वार्षिकोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो ।

    कार्यक्रमको अध्यक्षता गर्दै नारायणी टुडे राष्ट्रिय मासिकका प्रकाशक तथा प्रधान सम्पादक वीरेन्द्रमणि पौडेलले २६ वर्षको यात्रामा साथ, सहयोग र विश्वास प्रदान गर्ने सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभेच्छुक, पत्रकार तथा आजीवन सदस्यप्रति आभार व्यक्त गर्नुभयो ।

    उहाँले पत्रकारिता पेशालाई अझ जिम्मेवार, निष्पक्ष र जनमुखी बनाउँदै आगामी दिनमा डिजिटल तथा छापा माध्यममार्फत प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    “नारायणी टुडे केवल एउटा पत्रिका होइन, २६ वर्षदेखि समाजको आवाज बोकेको एउटा अभियान हो । पाठकको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” पौडेलले भन्नुभयो ।

    समापनसँगै नारायणी टुडे राष्ट्रिय मासिकले आफ्नो गौरवपूर्ण यात्राको नयाँ अध्याय सुरु गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट