सिन्धुपाल्चोक। स्थानीय कृषि तथा परम्परागत (रैथाने) उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्ची बजारमा कोसेली घर सञ्चालनमा ल्याएको छ । कोसेली घरमा ताजा फलफूल, तरकारी, घरेलु अचार, मह, विभिन्न परिकारका सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी, हर्बल सामग्री तथा हस्तकलाका वस्तुसहित स्थानीय रैथाने उत्पादनको प्रत्यक्ष बिक्रीवितरण गरिने छ ।
“मेलम्ची आउने आन्तरिक एवं पर्यटक तथा आम उपभोक्ताले कोसेलीका रूपमा सामान किनेर लैजान सजिलो होस् भनेर कोसेली घर सञ्चालनमा ल्याइएको हो”, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भन्नुभयो, “कोसेली घरमार्फत स्थानीय उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने तथा बजार पहुँच सहज हुनेछ ।” उहाँले आवश्यकता अनुसार स्थानीय उत्पादनलाई जिल्ला बाहिरसमेत बजार विस्तार गरिने बताउनुभयो ।
कोसेली घरमा उद्यमीले तयार पारेका सामग्री सङ्कलन गरी बिक्री गर्ने व्यवस्था मिलाइएको छ भने उद्यमीलाई सामान बेच्न र पर्यटकलाई मेलम्चीको पहिचानका रूपमा सामान किनेर लैजान सजिलो भएको छ । ‘फार्मदेखि किचनसम्म’को अवधारणाअनुसार उत्पादनलाई परिस्कृत गरी उपभोक्तासम्म पुर्याइने मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले बताउनुभयो । उहाँका अनुसार उद्यमीबीच अन्तक्र्रिया गराई नयाँ व्यावसायिक अवसर सृजना गर्ने योजना छ ।
उहाँले सरकारी तथा निजी कार्यालयका कर्मचारी, पर्यटक, स्थानीय र छिमेकी पालिकाका नागरिकलाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको जानकारी दिनुभयो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माण गर्ने अभियानमा हातेमालो गर्न र स्थानीय उत्पादन गर्ने व्यक्ति, समूह, सहकारी तथा उद्यमीलाई आफ्ना उत्पादन कोसेली घरसम्म ल्याउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस