आज: २०८३ भाद्र २१, आईतबार | Sun, 06, Sep, 2026

राजनिति मौनताले बोल्छ


  • आक्रमण न्युज
  • २०८३ भाद्र २१, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • ५० पाठक संख्या
  • राजनीति भाषणले होइन, मौनताले बोल्छ । प्रधानमन्त्रीले संसद्मा उभिएर दिएको लामो भाषणभन्दा उनको एउटा यात्राले धेरै प्रश्न जन्माउँछ । अहिले प्रधानमन्त्री बालेन साहको मुस्ताङ यात्रा पनि त्यस्तै एउटा प्रश्न बनेर उभिएको छ । प्रधानमन्त्रीलाई शनिबार घुम्ने रहर लाग्नु अस्वाभाविक होइन । उसलाई हिमाल हेर्न मन लाग्न सक्छ, उसलाई प्रकृतिसँग केही समय बिताउन मन लाग्न सक्छ ! तर जब देश भदौको झरीसँग जुधिरहेको हुन्छ, ठाउँ–ठाउँमा पहिरो खसिरहेका हुन्छन्, सडक अवरुद्ध भइरहेका हुन्छन् र प्रशासन विपद्को सम्भावित जोखिमसँग जुधिरहेको हुन्छ, त्यही बेला प्रधानमन्त्रीको गाडीको लामो लस्कर मुस्ताङतिर लाग्छ भने प्रश्न उठ्नु पनि स्वाभाविक हो ।

    प्रधानमन्त्री हेलिकप्टर चढेर पनि त मुस्ताङ जान सक्थे ? आखिर सेनाको हेलिकप्टर पोखरा एयरपोर्टमै तैनाथ थियो । बिदा मनाउने नियमितता भए पनि प्रश्न फेरि त्यहीँ आएर ठोक्किन्छ—यो पटक मुस्ताङ नै किन ? इलाम जान सकिन्थ्यो । भेडेटार पुग्न सकिन्थ्यो । रारालाई फन्को मार्दै मज्जा लिन सकिन्थ्यो ! नेपालका प्रत्येक भूगोलमा प्रधानमन्त्री पुग्नु आफैँँमा नराम्रो कुरा होइन तर मुस्ताङ केवल हिमाल, हावा र सुन्दरताको जिल्ला मात्र होइन । यसको भूगोलभित्र इतिहास छ, सीमा छ, सामरिक संवेदनशीलता छ र नेपालको आधुनिक राजनीतिक स्मृतिमा एउटा असहज अध्याय पनि छ । त्यसैले मुस्ताङको बाटोमा प्रधानमन्त्रीको गाडी देखिँदा प्रश्नहरू पनि सँगसँगै यात्रा गर्छन् ।

    जुुंँगा चल्दा कुरा बुझ्न सकिन्छ । धादिङको गजुरीस्थित सैनिक ब्यारेकमा प्रधानमन्त्रीको ब्रेकफास्ट भएको खबर एकाएक सञ्चारमाध्यममा आउँछ । त्यसपछि काठमाडौंका समाचार कक्षहरूमा मुस्ताङ यात्राको चर्चा शुरु हुन्छ । गतिला समाचार छैनन्– मात्रै गाडीको लावालस्कर र पहिरो पन्छाएर अघि बढेका हेडलाइनहरू । धादिङदेखि मुस्ताङसम्म पर्ने चितवन, तनहुँ, कास्की जिल्लाका प्रशासनिक संयन्त्र स्वाभाविक रूपमा सतर्क हुनुपर्छ । प्रधानमन्त्रीको सुरक्षा जहाँ जान्छ, त्यहाँ राज्यको संयन्त्र पनि सँगै हिँड्छ । तर आम मानिसको मनमा भने अर्को प्रश्न जन्मिन्छ— प्रधानमन्त्री बिदा मनाउन मुस्ताङ पुगेका हुन्, कि मुस्ताङले प्रधानमन्त्रीलाई बोलाएको हो ?

    उत्तर प्रधानमन्त्रीले नै जानून् । बालेन साहको एउटा विशेषता छ—उनी धेरै बोल्दैनन् । उनी बोल्दा पनि मनका सबै कुरा खोल्दैनन् । यही मौनताले उनको व्यक्तित्वलाई रहस्यमय बनाएको छ । लोकतन्त्रमा मौनता पनि कहिलेकाहीँ राजनीतिक भाषा त बन्ला त्यो मौनताको भाषा खतरनाक पनि हुन सक्छ । समस्या त्यतिबेला शुरु हुन्छ, जब राज्य प्रमुखको मौनताले जनतामा जिज्ञासाभन्दा बढी आशंका जन्माउन थाल्छ । रोम जलिरहेको थियो र नीरोलाई बाँसुरी बजाइरहेको कथासँग इतिहासले अनेक व्याख्या जोडेको छ । आजको नेपालमा त्यो कथा सम्झिनु आफैँँमा एउटा राजनीतिक व्यंग्य बन्न सक्छ । देशका अनेक समस्या बलिरहेका छन् ।

    ग्यासको हाहाकार छ । तीन वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको बेला प्रधानमन्त्री कहाँ छन्, किन छन् र के गर्दैछन् भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन । तर मुस्ताङको कथा आजको यात्राभन्दा धेरै पुरानो छ । प्रधानमन्त्री नजन्मँदैको त्यो खम्पा विद्रोह । मुस्ताङको आकाशले तिब्बततिर हेर्छ । त्यहाँको हावाले सीमाको संवेदनशीलता बोकेको छ । शीतयुद्धताका तिब्बती खम्पा विद्रोह र नेपालसँग जोडिएको त्यो अध्याय आज पनि इतिहासको पानामा सुरक्षित छ ।

    प्रधानमन्त्रीले पक्कै खम्पा दिद्रोह र खम्पा निःशस्त्रीकरणको इतिहास पढेका होलान् । खम्पा गतिविधिमा बाह्य शक्तिहरूको भूमिका र तिब्बती धार्मिक नेतृत्वसँग जोडिएका आरोप तथा ऐतिहासिक बहसहरू आजसम्म पनि विवादमुक्त हुन सकेका छैनन् । राजा वीरेन्द्रको शासनकालमा नेपालले खम्पा लडाकुलाई निःशस्त्रीकरण गर्दै आफ्नो भूभागबाट त्यस्तो सशस्त्र गतिविधिको अन्त्य गर्ने कठोर निर्णय लिएको थियो । त्यसपछि पनि मुस्ताङ केवल पर्यटकको स्वर्ग रहेन । यो नेपाल–चीन सम्बन्धको संवेदनशील भूगोल रहिरह्यो ।

    नेपालले लामो समयदेखि एक चीन नीतिप्रति प्रतिबद्धता व्यक्त गर्दै आएको छ । तर यो सरकार बनेदेखि राज्यको व्यवहार, सुरक्षा संयन्त्रको सक्रियता, विदेशी शक्तिहरूको चासो र सीमावर्ती भूगोलका गतिविधिले धेरै प्रश्न उठेका छन् । कहिलेकाहीँ कूटनीतिक संवेदनशीलतालाई नयाँ प्रश्नतिर धकेल्छन् । यही प्रश्न हो– प्रधानमन्त्री मुस्ताङ नै किन गए ? त्यसैले प्रधानमन्त्रीको मुस्ताङ यात्रा सामान्य पर्यटकीय भ्रमण हो भने त्यसको स्पष्टता दिन कठिन के छ ? जनताले अनुमान होइन, सूचना चाहेका छन् । कसैले भन्छ—प्रधानमन्त्रीलाई प्रकृति मन पर्यो । कसैले भन्न सक्छ —यो नियमित बिदाको यात्रा हो । कसैले प्रश्न गर्छ—मुस्ताङको सामरिक भूगोलसँग जोडिएको कुनै सरकारी काम त छैन ? अझ कतिपयले त युरेनियमलगायत खनिज सम्भावनाको अध्ययन गर्न विज्ञ टोली गएकोसम्म अनुमान गरिरहेका छन् ।

    यीमध्ये कुन कुरा सत्य हो ? अहिलेलाई भन्न सकिने कुरा यत्ति हो—अनुमानलाई तथ्य बनाउनु हुँदैन ।राजनीतिमा सबैभन्दा खतरनाक कुरा कहिलेकाहीँ झुट होइन, अपूर्ण सूचना हुन्छ । नेपाली मिडियाले यो कुरा बाहिर ल्याउनुपर्छ । तागत कुन मिडियाको छ ? अपूर्ण सूचना जब जनताको कल्पनासँग मिसिन्छ, त्यसले अनेक कथा जन्माउँछ । प्रधानमन्त्री बालेनको मौनताले ती कथालाई अझ लामो आयु दिन सक्छ किनभने बालेन नबोलेर रहस्यमयी बनेका हुन् । विदेशी शक्तिका सन्दर्भमा पनि हामीले भावनाभन्दा इतिहासबाट सिक्नुपर्छ । विश्व राजनीतिमा ठूला शक्तिहरूले आफ्ना स्वार्थअनुकूल सत्ता र पात्रहरू प्रयोग गरेका धेरै उदाहरण छन् ।

    कुनै बेला कसैलाई मित्र बनाइन्छ, अर्को बेला त्यही व्यक्ति असह्य भएपछि शत्रु घोषणा गरिन्छ । सद्दाम हुसेनदेखि ओसामा बिन लादेनसम्मका अन्तर्राष्ट्रिय राजनीतिक अध्यायहरूले एउटा कुरा सिकाउँछन् कि—ठूला शक्तिको मित्रता स्थायी हुँदैन, स्वार्थ मात्रै स्थायी हुन्छ । त्यसैले नेपालको परराष्ट्र नीति कुनै शक्तिको आदेशमा होइन, राष्ट्रिय हितका आधारमा चल्नुपर्छ । मुस्ताङको पहाडले हामीलाई यही पाठ पढाउँछ । हिमाल चुपचाप उभिएको हुन्छ, तर उसले सीमा पनि जोगाइरहेको हुन्छ । हिउँ पग्लिएर नदी बगिरहेको हुन्छ, तर उसले भूगोलको इतिहास पनि बोकेको हुन्छ । बाटोमा प्रधानमन्त्रीको गाडी गुड्छ, तर त्यो बाटो केवल गन्तव्यसम्म पुग्ने सडक हुँदैन कि कहिलेकाहीँ इतिहास, भू–राजनीति र भविष्यको बाटो पनि हुन्छ । त्यसैले प्रश्न बालेन मुस्ताङ गए कि गएनन् भन्ने मात्र होइन । प्रश्न हो—उनी किन गए त्यहाँ ?

    यदि बिदा मनाउन गएका हुन् भने खुलेर भनुन्– जनताले शुभकामना दिनेछन् । सरकारी कामका लागि गएका हुन् भने त्यसको उद्देश्य बताउन्– जनताले सजिलै बुझ्नेछन् । यदि सामरिक वा प्राकृतिक स्रोतसम्बन्धी कुनै अध्ययन हो भने त्यसको पारदर्शी जानकारी दिउन्—जनताले प्रश्न गर्ने अधिकार राख्छन् र उत्तर सुन्ने अधिकार पनि । किनकि लोकतन्त्रमा प्रधानमन्त्री देवता होइनन् । उनी जनताका प्रतिनिधि हुन् ।

    देवता नबोल्दा भक्तले पूजा गर्छ; प्रधानमन्त्री नबोल्दा नागरिकले प्रश्न गर्छ ।मुस्ताङको चिसो हावामा अहिले त्यही प्रश्न उडिरहेको छ—यो केवल एउटा शनिबारको बिदा हो, कि नेपालको उत्तरी आकाशमा लेखिन लागेको कुनै नयाँ राजनीतिक अध्यायको पहिलो पाना ? समयले यसको उत्तर दिनेछ तर इतिहासको एउटा कुरा निश्चित छ—मुस्ताङमा बाटोहरू मात्र उकालो लाग्दैनन्, कहिलेकाहीँ प्रश्नहरू पनि उकालो लाग्छन् र ती प्रश्नहरू हिमालभन्दा माथि पुगेपछि मात्र तिनको वास्तविक उचाइ देखिन्छ । नबोल्ने प्रधानमन्त्री साहको मुस्ताङ मिसनको उद्देश्य भोलिको समयले स्पष्ट पार्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट