आज: २०८३ भाद्र १८, बिहिबार | Thu, 03, Sep, 2026

बाढिको भेलमा बगेको “मानवियता”


  • आक्रमण न्युज
  • २०८३ भाद्र १८, बिहिबार मा प्रकाशित २ घण्टा अघि
  • ४० पाठक संख्या
  • भोटेकोशीमा आएको बाढीपहिरोले यतिबेला सिङ्गो मुलुकलाई शोकाकुल र स्तब्ध बनाएको छ । गत हप्ता आएको हिमपहिरो र बाढी केही घण्टा अघिसम्म सामान्य रूपमा आफ्नो दैनिकीमा व्यस्त रहेका स्थानीयहरू एकाएक आफ्नो घर, व्यवसाय, सम्पत्ति र आफन्तजन गुमाउनु परेको छ । कसैको जिन्दगीभर दुख गरेर बनाएको घर छैन, कसैको दैनिकी रोजीरोटी जुटाउने पसल रहेन ।

    कयौँ जना मजदुरहरूको रोजगारी रहेन, कसैले आफ्ना सन्तान गुमाए, कसैले आमाबाबु गुमाए, कसैले सिङ्गो परिवार नै गुमाए । भाग्यले बाँचेका कतिपय नागरिकसँग अहिले बाँच्नुको खुसीभन्दा पनि कसरी बाँच्ने भन्ने ठूलो प्रश्न खडा भएको छ । भोटेकोशीमा उर्लिएको बाढीले बस्ती मात्रै बगाएको छैन, धेरै मानिसका वर्षौँको पसिना, श्रम र सपना समेत उजाड बनाइदिएको छ ।

    टिमुरे, स्याफ्रुबेँसी, बेत्रावतीलगायतका क्षेत्रबाट सामाजिक सञ्जालमा आएका दृश्यहरू सामान्य बाढीका दृश्य होइनन् । ती दृश्यभित्र एउटा परिवारको जीवनभरको कमाइ भग्नावशेषमा परिणत भएको पीडा छ । कतिपय प्रभावित बस्तीमा खानेकुरा, पानी, औषधि र बसोबासको समस्या रहेको समाचार आइरहेका छन् । जताततै छरिएका शवहरूको खोजी, पहिचान र व्यवस्थापन आफैँमा अर्को चुनौती बनेको छ । यो बेला सरकारले केही गर्दै नगरेको भने होइन । उद्धारमा सेना, सुरक्षाकर्मी खटिएका छन्, हेलिकोप्टर परिचालन भएका छन्, राहतको प्रयास भएको छ, विभिन्न तहका सरकारी संयन्त्र सक्रिय भएका छन् ।

    सरकारले विपद्को गम्भीरतालाई सम्बोधन गर्न विभिन्न निर्णय पनि गरेको छ । यी प्रयासलाई नै नदेखेजस्तो गर्नु न्यायोचित हुँदैन । तर सरकारले केही गरेको छ भन्नुको अर्थ सरकारले गर्नुपर्ने सबै काम गरिसकेको छ भन्ने पनि होइन । मान्छेहरूले सामाजिक सञ्जालमा अनाहकमै होहल्ला मच्चाइरहेका छन् । उनीहरूको नजरमा सरकारको कामको समीक्षा गरौँ भन्दा सरकार विरोधी भइन्छ, राहत पुगेन भन्यो भने विकास विरोधी भइन्छ, कुनै प्रभावित नागरिकले आफ्नो पीडा सार्वजनिक ग¥यो भने उसलाई राजनीतिक स्वार्थ बोकेको मान्छे बनाइन्छ ।

    अहिले राजनीतिक लाभ खोज्ने होइन, मानवीय क्षति कम गर्ने समय हो । सरकारले राम्रो काम गरिरहेको छ भने त्यसको समर्थन गर्नुपर्छ । तर जहाँ कमजोरी देखिन्छ, त्यहाँ औँला ठड्याउन पनि सक्नुपर्छ । किनकि, सरकारको आलोचना गर्नु भनेको सरकारलाई असफल बनाउन खोज्नु होइन, सरकार असफल नहोस् भनेर खबरदारी गर्नु पनि हो भन्ने कुरा बुझ्नुपर्छ ! केही राम्रो दृश्य जोड्यो, मन्त्री वा प्रधानमन्त्रीले दिएको निर्देशनको दृश्य राख्यो, उद्धारमा खटिएका सुरक्षाकर्मीको तस्बिर राख्यो, अनि लेखिदियो–‘गज्जब भइरहेको छ ।’ गज्जब भइरहेको भए राम्रो हो । हामी सबैले त्यसै भनौँला, तर प्रश्न यति हो कि त्यो गज्जब कहाँ भइरहेको छ ?

    आफ्नो घर गुमाएको नागरिकले पनि ‘गज्जब भइरहेको छ’ भन्न सक्ने अवस्था छ कि छैन? भोकै बसेको परिवारले पनि राज्यले हामीलाई हेरेको छ भन्न सक्ने अवस्था छ कि छैन ? हराइरहेको आफन्तको खोजीमा बसेकाले पनि सरकारप्रति भरोसा गर्न सक्ने अवस्था छ कि छैन? समस्याको गहिराई यहाँनेर खोजेपछि अवश्य भेटिने छ । एकातिर सरकारको प्रयास देखाउन बनाइएका सामग्रीहरू सामाजिक सञ्जालमा छरिएका छन्, अर्कोतिर प्रभावित क्षेत्रका नागरिकहरू आफूले भोगिरहेको समस्या सार्वजनिक गरिरहेका छन् ।

    अब राज्यले कुन आवाजलाई पहिलो प्राथमिकता दिने ? भन्ने कुराले नै उसको परिपक्वता निर्धारण गर्दछ । किनकि, संकटको समयमा नागरिकको गुनासो नै सरकारका लागि सबैभन्दा महत्त्वपूर्ण सूचना हुनसक्छ । कुनै प्रभावित बस्तीमा राहत पुगेन भने त्यो सरकारलाई बदनाम गर्ने समाचार होइन, सरकारलाई सचेत गराउने सूचना हुनसक्छ । कुनै ठाउँमा उद्धार ढिलो भयो भने उद्धार प्रणाली सुधार्ने संकेतका रूपमा लिन सक्नुपर्छ । शव व्यवस्थापन हुन सकेन भने त्यसबारे लेख्नु अपराध होइन, बरु एउटा नागरिकले राज्यलाई आफ्नो दायित्व सम्झाएको रूपमा ग्रहण गर्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट