आज: २०८३ भाद्र २१, आईतबार | Sun, 06, Sep, 2026

जलेश्वर भन्सारबाट ८ अर्बभन्दा बढीको खाद्यान्न आयात


  • आक्रमण न्युज
  • २०८३ भाद्र २१, आईतबार मा प्रकाशित २ घण्टा अघि
  • १६ पाठक संख्या
  • सुभाष कायस्थ

    जनकपुरधाम । आर्थिक वर्ष २०८२/८३ मा महोत्तरीको जलेश्वर भन्सार नाकाबाट ८ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य तथा खाद्य पदार्थ आयात भएको छ।

    प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, क्वारेन्टाइन कार्यालय जलेश्वरले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारतबाट सो नाका हुँदै ८ अर्ब ४५ करोड ५५ लाख ८० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा प्रशोधित कृषिजन्य वस्तु भित्रिएको हो।

    कार्यालयका निमित्त प्रमुख किशोरकुमार यादवका अनुसार जलेश्वर भन्सार नाकाबाट भित्रिएका सम्पूर्ण कृषिजन्य खाद्यान्न सामग्री भारतबाट आयात भएका हुन्। उनका अनुसार गत आवमा कूल २ लाख ३६ हजार ३८८ दशमलव ५ मेट्रिक टन कृषिजन्य वस्तु आयात भएको छ।

    सबैभन्दा ठूलो हिस्सा मसलासहितका प्रशोधित कृषिजन्य खाद्यवस्तुको रहेको छ। यस अवधिमा ३ अर्ब ८९ करोड ४६ लाख ४० हजार रुपैयाँ बराबरको प्रशोधित तथा अन्य कृषिजन्य वस्तु आयात भएको छ।

    जसमा कसूरी मेथी, मेथीको दाना, हिङ, धनियाँ, बेसार, कालो मरिच, राइस ब्रान, राइस डिडिजी, सोया फिट, कनिका, बिँडीको पात लगायत १ लाख १ हजार ४६६ दशमलव ५ मेट्रिक टन वस्तु ल्याइएको छ। यसमध्ये सबैभन्दा बढी परिमाण बिँडीको पात (४३५ दशमलव ४ मेट्रिक टन) रहेको छ।

    दोस्रो ठूलो हिस्सा धान, चामल, गहुँ, जौ र बजरासहितको खाद्यान्नको छ। यी खाद्यान्न वस्तु मात्रै १ अर्ब ४९ करोड ५३ लाख रुपैयाँ बराबरको आयात भएको छ। जसमध्ये २६ हजार ७७४ मेट्रिक टन (८५ करोड ६८ लाख रुपैयाँ बराबरको) धान मात्रै आयात भएको क्वारेन्टाइनको विवरणमा उल्लेख छ।

    त्यस्तै, तरकारी समूह अन्तर्गत करिब १ अर्ब ३६ करोड ९८ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जसमा आलु र प्याजको हिस्सा अत्यधिक छ। विवरण अनुसार आलु मात्रै ३ अर्ब १८ करोड २४ लाख ६० हजार रुपैयाँको आयात भएको छ भने प्याज १ अर्ब २१ करोड २७ लाख २० हजार रुपैयाँ बराबरको भित्रिएको छ।

    यसबाहेक परबल, काँक्रो, भन्टा, खुर्सानी, भिन्डी, चुकन्दर, हरियो केराउ, लौका, गाजर लगायतका तरकारी तथा बासमती चामल, मकै, जौ र बाजरा पनि भारतबाटै आयात गरिएका छन्। यसले खाद्यान्न आयातमा ठूलो धनराशी बाहिरिएको देखाउँछ।

    दलहन समूहतर्फ रु. ३० करोड ६० लाख बराबरको आयात भएको छ। यस समूहमा रहर, मास, चना, मसुरो, बकुल्ला, राजमा र मुगको दाल तथा चनाको गेडा आयात भएको छ। यीमध्ये चना १ हजार १०७ मेट्रिक टन र रहर दाल ८४२ दशमलव ६ मेट्रिक टन आयात भएको छ। स्वदेशी उत्पादन कमजोर हुँदा नेपाली बजार भारतीय उत्पादनमा निर्भर हुँदै गएको यस तथ्याङ्कले पुष्टि गर्छ।

    फलफूलतर्फ स्याउ, सुन्तला, अनार, केरा, अङ्गुर, नरिवल, अम्बा, सरिफा, मेवा, अञ्जिर, लिची र भुइँकटर गरी ९ हजार ७२५ मेट्रिक टन (करिब ७० करोड रुपैयाँ बराबरको) भित्रिएको छ। फलफूलमा सबैभन्दा बढी स्याउ २२ करोड ३७ लाख, अनार २० करोड ८५ लाख र अङ्गुर ११ करोड १९ लाख रुपैयाँ बराबरको आयात भएको छ।

    तेलहनतर्फ तोरी आयातमा रु. ५० लाखभन्दा बढी रकम बाहिरिएको छ।

    खाद्यान्न, तरकारी, दाल र फलफूल आयातमा ठूलो धनराशि बाहिरिनुले नेपालको कृषि उत्पादन र बजार व्यवस्थापनको कमजोरी उजागर गरेको छ। एकातिर नेपाली किसानले उत्पादन लागत बढेको, मल-बीउको अभाव भएको र बजारको सुनिश्चितता नभएको गुनासो गरिरहेका छन् भने अर्कातिर तिनै वस्तु ठूलो परिमाणमा छिमेकी मुलुकबाट आयात भइरहेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट