
रौतहट । भारतीय सीमासँग जोडिएको रौतहटको ईशनाथ नगरपालिकामा दाजुभाइबीचको सामान्य विवादले उग्र रूप लिँदा दुई वटा मोटरसाइकल जलाइएका छन्।
ईशनाथ नगरपालिका–९ लौतना टोलमा शनिबार साँझ करिब ७ बजे यो घटना भएको हो। घरअगाडि राखिएका मोटरसाइकलमा एक्कासि आगो बलेपछि स्थानीयबीच खैलाबैला मच्चिएको थियो।
प्रहरीका अनुसार ४८ वर्षीय प्रमोद साह कानु र उनका ३९ वर्षीय भाइ मनोज साह कानुबीच मोटरसाइकलको विषयलाई लिएर विवाद भएको थियो। मादक पदार्थ सेवन गरेका प्रमोदले रिसको झोंकमा पेट्रोल छर्केर आफ्नै भारतीय नम्बरको ग्यालेम्बर र भाइ मनोजको साइन मोटरसाइकलमा आगो लगाइदिएका हुन्।
आगोले केही बेरमै दुवै मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगजनीबाट करिब २ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाउनासाथ प्रहरी चौकी औरैयाबाट प्रहरी सहायक निरीक्षक हरिशंकर साहको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले आगजनीमा संलग्न प्रमोदलाई नियन्त्रणमा लिएको छ।
क्षणिक रिसमा गरिएको निर्णयले लाखौँको क्षति पुर्याएको यो घटनाले पारिवारिक विवाद बेलैमा नियन्त्रण नगर्दा कस्तो रूप लिन सक्छ भन्ने देखाउँछ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस