काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागू गर्ने जनाएको हो । क्यानका अनुसार एनपिएल २०२६ को सबै खेलमा ‘डिआरएस’ प्रविधिको प्रयोग गरिनेछ ।
‘डिआरएस’को प्रयोगले खेल प्रतियोगिताका क्रममा मैदानमा खटिने ‘अम्पायर’बाट हुने निर्णयलाई चुनौती दिन टोलीलाई अवसर दिनेछ । ‘अम्पायर’को निर्णयप्रति असहमति जनाउने टोलीले मागदाबीसहित सम्बन्धित ‘फुटेज’ हेर्न सक्ने छ । यसैबीच, ‘डिआरएस’ को व्यवस्थासँगै खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ ।
आज सार्वजनिक गरिएको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ । एक खेल हुने दिन भने खेल साँझ ५ः०० बजे सुरु हुने क्यानले जनाएको छ । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस