आज: २०८३ कार्तिक ६, बिहिबार | Thu, 22, Oct, 2026

खै कता आयो दसै ?


  • आक्रमण न्युज
  • २०८३ कार्तिक ६, बिहिबार मा प्रकाशित २ घण्टा अघि
  • ५४ पाठक संख्या
  • दसैँ आयो’ भन्छन्, तर खै कता आयो ? कुनै मोडमा हरायो कि ? कतै दसैँ हाम्रो गाउँको मूलबाटोसम्म आइपुग्नै नसकेर कतै बीचैबाट फर्कियो कि ? कि सहरका पक्की भवनहरू र परदेशका मरुभूमिहरूसम्म पुगेर हाम्रा गाउँहरूलाई नदेखेझैँ गरी अर्कै बाटो लाग्यो ?रेडियो र टेलिभिजनमा मालश्री धुन र दसैँका मङ्गलमय गीतहरू बजिरहेकै छन् । तर, बाहिर आँगनमा निस्किएर हेर्छु, न त त्यो शरदको सिरसिरे हावाले उमङ्ग बोकेर ल्याएको छ, न त दसैँ घरभित्रै छिरिसकेको अनुभूति नै हुन्छ ।

    भयावह सन्नाटा देख्दा लाग्छ, दसैँ त गाउँको सिमानासम्म पनि नपुगी कतै मोडबाट अर्कैतिर सोझिएछ । गाउँ फर्किँदा मैले देखेको परिदृश्य सोचेभन्दा धेरै फरक र कहालीलाग्दो छ । हाम्रा गाउँहरू आज उदास र रित्तो खण्डहरजस्तै बनेका छन् । गाउँभरि आँखा घुमाएर हेर्छु, त्यहाँ केवल दुई किनाराका मानिसहरू मात्रै भेटिन्छन् । एकातिर उमेरले नेटो काटेका, दृष्टि कमजोर भइसकेका र काँपिरहेका हातहरूमा अक्षता लिएर बाटो हेरिरहेका वृद्ध बूढाबाआमाहरू हुनुहुन्छ; अर्कोतिर तोते बोली बोल्दै हातमा मोबाइल बोकेर भर्चुअल दुनियाँमा हराइरहेका साना बालबच्चाहरू मात्र छन् । यी दुवैका बीचमा हुनुपर्ने, गाउँको मेरुदण्ड मानिने, जोस र जाँगरले भरिएको सिङ्गो युवापुस्ता भने गाउँबाट पूर्ण रूपमा लोप भइसकेको छ । हो, मजस्तै उच्च शिक्षाका लागि सहर पसेका केही युवाहरू त दसैँ मान्न गाउँ फर्किएका छन् ।

    तर, हाम्रो यो सानो उपस्थिति गाउँको सन्नाटा मेटाउन र दसैँको रौनक फर्काउन पटक्कै पर्याप्त छैन ! रोजगारी र जिजीविषाको खोजीमा खाडीको ५० डिग्रीको कडा घाममा बालुवा पसिनाले सिञ्चित गर्न, मलेसियाका ओसिला फ्याक्ट्रीहरूमा जीवन घोट्न र पश्चिमा देशहरूमा आफ्ना सपनाहरू लिलाम गर्न परदेशिएका छन् । सहर पुगेका हामी त दसैँमा गाउँ फर्कियौँ, तर विदेशिएका ती अधिकांश युवापुस्ता फर्किन सकेका छैनन् । उनीहरू परदेशमै थुनिएका छन् ।

    पात्रो बदलिइरहला, असोज र कात्तिकका महिनाहरू वर्षैपिच्छे आइरहलान्, तर दसैँको त्यो साँचो आत्मा भने गाउँको मूलबाटोसम्म नपुग्दै कतै अर्कै मोडबाट फर्किएझैँ भइरहनेछ । त्यसैले गाउँमा कुनै हर्षोल्लास छैन । सहरबाट फर्किँदैमा गाउँमा दसैँ आउँदो रहेनछ । हिजोका दिनमा गाउँका तन्नेरी र ऊर्जावान् युवापुस्ताको बाक्लो उपस्थिति हुँदा असोज–कात्तिक आउनेबित्तिकै गाउँमा एउटा अलग्गै तरङ्ग छाउँथ्यो । बाटोघाटो खन्ने, कमेरो र रातो माटोले घर पोत्ने, अनि बाँस काटेर चौतारीमा लिङ्गे पिङ हाल्ने हुङ्कार र रडाको हुन्थ्यो । पिङको मच्चाइमा आकाश छुन खोज्ने तन्नेरीहरूको त्यो हाँसोले सिङ्गो डाँडा गुञ्जायमान हुन्थ्यो । तर आज, पिङ हाल्ने र मच्चाउने त्यो युवापुस्ता नै परदेशिएपछि गाउँको बाँसको झ्याङ उदास उभिएको छ । रित्तो चौतारीमा कुनै लिङ्गे पिङ ठडिन पाएको छैन ।

    कस्तो दसैँ हो यो ? परदेशिएका हाम्रा दाजुभाइ तथा युवापुस्ता भिडियो कलको सानो ५ इन्चको स्क्रिनमा कृत्रिम मुस्कान छर्दै परिवारसँग जोडिन खोज्छन् । यता गाउँको आँगनमा बसेकी आमाले मोबाइलको चिसो स्क्रिनमै आँसुका थोपाहरू खसाल्दै अक्षता टाँस्ने असफल प्रयास गर्नुहुन्छ । खुसीहरू भर्चुअल पिक्सेलमा फुटेका छन्, आशीर्वादहरू इन्टरनेटका तरङ्गहरूमा अल्झिएका छन् । यो कस्तो दसैँ हो ? जहाँ चाडपर्वले घरमा उल्लास होइन, केवल टोलाउने, रुने र विगत सम्झेर सुस्केरा हाल्ने वातावरण मात्र सिर्जना गरिदिन्छ ।

    जबसम्म परदेशिएका हाम्रा युवापुस्ता पुनः आफ्नै घरआँगन र खेतबारीमा फर्किँदैनन्, जबसम्म बूढाबाआमाका काँपिरहेका हातहरूले आफ्नै सन्ततिको निधारमा रातो टीका र जमरा प्रत्यक्ष लगाइदिने वातावरण बन्दैन र जबसम्म रित्तिएका चौतारीहरूमा तन्नेरीहरूको हाँसो र लिङ्गे पिङको मच्चाइ गुञ्जिँदैन, तबसम्म हाम्रा लागि दसैँ आउनेछैन । पात्रो बदलिइरहला, असोज र कात्तिकका महिनाहरू वर्षैपिच्छे आइरहलान्, तर दसैँको त्यो साँचो आत्मा भने गाउँको मूलबाटोसम्म नपुग्दै कतै अर्कै मोडबाट फर्किएझैँ भइरहनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑