आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

गणतन्त्र भनेको प्रजातन्त्र होइन


  • आक्रमण न्युज
  • २०८१ कार्तिक १३, मंगलबार मा प्रकाशित १ साल अघि
  • ५८० पाठक संख्या
  • कार्तिक १३, २०८१/प्रभातराज पाण्डे
    नेपालमा लागू गर्न खोजिएको गणतन्त्रात्मक राजनीतिक प्रणालीको स्वरूप, संरचना, साध्य र संस्कृतिबारे धेरैजसो राजनीतज्ञ र उच्च पदस्थ कर्मचारी आज पनि अनभिज्ञ छन् । “आँखा नदेख्ने मान्छेले हात्ती छामेर त्यसको पुच्छर डोरी जस्तो,  सुँड केराको थाम जस्तो, कान नाङ्लो जस्तो र खुट्टा खाँबो जस्तो, शरीर भित्तो जस्तो हुन्छ भनेझैँ सबैले संघीयताको आ(आफ्नै व्याख्या गर्छन् ।सरकारले सिंहदरबारमै सप्ताह लगाएर हामीहरूलाई पनि संघीयता पढाइदिए हुन्थ्यो ।”
    “गणतन्त्र बहुमतको शासन हो भने प्रजातन्त्र विधिको शासन हो” ।शुद्ध, तटस्थ र निष्पक्ष भएमा बहुमतको शासन सधैँ खराब हुँदैन तर प्रजातन्त्रमा जस्तो गणतन्त्रमा न्याय, आत्मसम्मान, निष्पक्षता र सुशासनको अपेक्षा गर्नु अपरिपक्व हुनेछ भन्ने विद्वान्हरूको तर्क छ ।भ्रष्ट, अभिमानी र अविवेकीहरूका हातमा गणतन्त्रात्मक शासन आयो भने त्यो कालान्तरमा  बहुमतको निरंकुशता बन्न पुग्छ।
    “बहुमतको शासन अल्पसंख्यकहरूका लागि खतरा हुन्छ ।” अल्पसंख्यकले आफुहरुलाई असुरक्षित ठान्ने प्रणाली गणतन्त्र हो ।तर प्रजातन्त्रले अल्पमत र बहुमतको भेद गर्दैन ।संसद्ुमा सरकार बनाउन मात्र बहुमत चाहिन्छ, शासनप्रणाली ‘विधिको शासन’ भन्ने प्रबल मान्यताले अनुप्राणित हुन्छ ।उदाहरणका लागि स्वीडेनका जनताले जति स्वतन्त्रता,न्याय,  अवसर र आत्मसम्मान पाएका छन्, त्यो भन्दा धेरै तलअमेरिका उभिएको छ भनेर अन्वेषक, विश्लेषक र प्रजातन्त्रका मापदण्डहरूका आधारमा तथ्य, तथ्यांक प्रकाशित भएका छन् ।अमेरिकामा गणतन्त्र छ, स्वीडेनमा गणतन्त्र छैन तर  स्वतन्त्रता र प्रजातन्त्र पर्याप्त छ । विधिको शासन, निश्चित अवधिमा चुनाव, कार्यपालिका,न्यायपालिका र व्यवस्थापिका स्वतन्त्र रहने व्यवस्था, जनउत्तरदायी शासन, अभिव्यक्ति स्वतन्त्रता, कर्तव्य रअधिकारबीच सन्तुलन, स्वतन्त्र र दायित्वबोध गर्ने प्रेस,धर्म–संस्कृति र परम्पराको सम्मान सबै हुन्छ प्रजातन्त्रमा ।त्यसैले अन्तर्राष्ट्रिय संघसंस्थाहरूले प्रजातन्त्रको आधारभूत मान्यता र मापदण्ड मानेका छन् ।गणतन्त्रले भौतिक उन्नतिलाई मात्र समृद्धि मान्छ ।त्यहाँ इतिहास, संस्कृति, विभिन्न जातजातिका रीतिरिवाज एवं जनताको भावनासँग गाँसिएका अन्य पक्षको अवमूल्यन हुन्छ ।उदाहरणका लागि अमेरिकी गणतन्त्रवादीहरूमध्ये धेरैजसो कट्टु लगाएर ससुराली जान पनि लजाउँदैनन् ।ब्रिटेन र जापान जस्ता परम्परावादी राष्ट्रका जनता धर्म,शिष्टाचार, नैतिकता र चरित्रप्रति सचेत छन् ।पोसाक, खानपिन, रहनसहन, आचरण सबै कुरामा संवेदनशील छन्।
    ग्रीक शब्द ‘डेमो’(जनता) बाट जनताको शासन ‘डेमोक्रेसी’ प्रचलनमा आएको हो । गणतन्त्रमा राजतन्त्र अटाउँदैन ।  प्रजातन्त्रमा सबै अटाउँछन् ।त्यसैले त्यो गणतन्त्रभन्दा बढी समावेशी हुन्छ ।राजतन्त्रको समर्थन गर्ने विद्वान्–विदूषी, लेखक, प्राध्यापक, चिन्तक, उद्योगपति, अर्बपति सबै प्रजातन्त्रमा अटाउँछन् । दरिद्र किसान–मजदुरदेखि राजा वा महारानी सबैको राष्ट्र निर्माणमा योगदान रहन्छ । गणतन्त्रमा त्यो सम्भव हुँदैन ।प्रजातन्त्रले समता, समानता, स्थायित्व, समान अवसर र समृद्धिको परिकल्पना गर्छ ।गणतन्त्रमा सभ्य, संस्कारी र सुसंस्कृत मानिसभन्दा  धनी र शक्तिशालीलाई महत्व दिइन्छ ।
    प्रजातन्त्रको अभ्यास गरिहेका राजतन्त्रात्मक राष्ट्रहरूलाई संयुक्त राष्ट्रसंघले उच्च मूल्यांकन गरेको पाइन्छ ।नर्वे, स्वीडेन, जापान, बेल्जियम, थाइल्यान्ड, ओमान, कतार, युएई, साउदी अरेबिया, बहराइन, भुटान, मलेसिया, स्वाजिल्यान्ड (अफ्रिका), स्पेन, हल्याड (नेदरल्यान्ड), मोरक्को (अफ्रिका) जोर्डन, डेनमार्क, ब्रुनाई, कम्बोडिया, मोनाको,लिचेन्स्टाइन र लेसोथो (अफ्रिका) जस्ता गणतन्त्रविहीन राष्ट्रमध्ये अधिक राष्ट्र सुखी, समृद्ध र खुसी छन् , स्थायित्व छ त्यहाँ ।त्यो प्रजातन्त्र हो कि होइन ।
    राजतन्त्रात्मक शासनमा भन्दा सुख हुन्छ भनेर गणतन्त्रमा प्रवेश गरेका कैयन् अफ्रिकी राष्ट्र इथियोपिया, लिबिया, नाइजेरिया, रुआन्डा, बुरुन्डी, सियरालिओन, युगान्डा मात्र होइन, एसियाका अफगास्तिान, इरान, इराक, लाओस्, सिरिया, भियतनाम र यमनजस्ता राष्ट्रमागृहयुद्ध, अस्थिरता, दरिद्रता, विभाजन र विग्रह बढ्दै गयो । ती राष्ट्रहरूमध्ये धेरैजसो  आज पनि अशान्त र अन्यौलग्रस्त छन् ।
    विश्व शान्ति सूचक (ग्लोबल पिस इन्डेक्स) अनुसार १६३ राष्ट्रको अध्ययनमा६८ राष्ट्र अशान्त छन् । शान्ति, स्थायित्व र  प्रगतिका दृष्टिले गणतन्त्रात्मक राष्ट्रहरू अफगानिस्तान,इराक, दक्षिण सुडान, सिरिया, सोमालिया, सेन्ट्रल अफ्रिकन रिपब्लिक र यमन जस्ता राष्ट्र अत्यन्त अशान्त मानिएका छन् ।शान्त र सुखी पंक्तिमा धेरैजसो प्रजातन्त्रवादी राजतन्त्रभएका  राष्ट्र छन् ।
    कतिपय गणतन्त्रवादी राष्ट्र धनी छन् तर अशान्ति बढ्दो छ ।नेपालमा पाँच हजार वर्ष लामो इतिहासमा १९२ जना राजाले शासन गर्दा पाँच हजार मानिस पनि मारिएनन् ।तर गणतन्त्रका नायकहरूले झन्डै सत्र,अठार हजार मानिसको रगत बग्ने स्थिति सिर्जना गरे ।जताततै विध्वंश मच्चाएर अर्बौं रुपियाँको क्षति गरे ।हजारौँ नारीलाई विधवा बनाए । हजारौँ  केटाकेटी टुहुरा भए । ‘प्रजातन्त्र’ लेखिएको २०४७ सालको संविधान उनीहरूकै दबाबमा अवैध घोषित भयो । त्यसपछि  ‘गणतन्त्र’ लेखिएको संविधान ल्याइयो ।बितेका दश वर्षमा गणतन्त्रको प्रसूतिगृहमा दशजना प्रधानमन्त्री पैदा भए तर राष्ट्र अझै अन्यौलमा छ ।नेपाली जनताले गणतन्त्र चाहेको कि असफल राष्ट्रहरू हिँडिरहेको बाटो यसबारे गम्भीर भएर सोच्नैपर्छ । ‘प्रजातन्त्र’ त्यागेर गणतन्त्रको अनिश्चित बाटोतर्फ लाग्नुअघि चौतारामा बसेर एक घन्टा पनि छलफल गरेनन्  नेताहरूले ।जनता पनि ‘महाजनो येन गतः स पन्था’(ठूला मान्छेहरू जता जान्छन्, बाटो त्यही हो) भन्दै पछिपछि लागे ।परिणामहरू (दुष्परिणाम) आज ज्वालामुखी बनेर देखिँदैछन् ।विद्रोह, विभाजन, विग्रह र विद्वेषको लाभा छरपस्ट हुँदैछ । विस्तीर्ण  बन्दै छ ।
    गणतन्त्र र प्रजातन्त्र एउटै हो भनेर नेपाली जनतालाई ढाँट्ने, झुक्याउने र अल्मल्याइरहनेहरू आज आफँै विचलित देखिएका छन् ।जनदबाब, बौद्धिक समुदायको तर्क, सर्वसाधारणमा राष्ट्रियताप्रति देखिएको अदम्य उत्साह, राष्ट्रिय एकताप्रतिको जनताको समर्पण तथा राष्ट्र निर्माताप्रति जनताको अगाध आस्था देखेपछि बाध्य भएर सरकारले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्मान गर्ने सद्बुद्धि देखायो ।विदेशीले दिएको अर्बौं रुपियाँ खर्च गरेर बनाइएको संविधान रद्दीको टोकरीमा फ्याक्नैपर्ने भो, नत्र गृहयुद्धले देश दन्दनी जल्छ भन्ने चेत खुलेपछि एकदिन राजनीतिक दलहरू आफू हिँडेको बाटो गलत रहेछ भन्ने निष्कर्षमा पुग्नेछन् ।नेपाल र नेपालीले धान्नै नसक्ने संघीयता, तस्कर, धनाढ्य र लुटाहाले मात्र चुनावमा करोडौँ रुपियाँ खर्च गर्न सक्ने पद्धति, देश (राष्ट्र) कमजोर बनाएर प्रदेश (प्रान्त)का नाममा आगो सल्काउने  षड्यन्त्र र संविधानले नै जातीयतालाई मलजल गर्ने गणतन्त्रले राष्ट्रलाई पतनको मार्गमा धकेलिरहेको देखिन्छ ।यसरी सत्य औल्याउँदा त्यस्ता व्यक्तिलाई ‘प्रतिगामी’ भनिन्छ भने पृथकतावादीलाई ‘अग्रगामी’ मान्नैपर्ने हुन्छ ।
    प्रजातन्त्रमा गणतन्त्रात्मक विचार नअटाएझैँ गणतन्त्रमा ‘प्रजातन्त्र’ फस्टाउन सक्दैन भन्ने कुरा राजनीतिशास्त्रका विश्वप्रसिद्ध प्राध्यापक र लेखकहरूले उल्लेख गरेका छन् । गाईले मासु खाँदैन ।त्यसैले गाई शाकाहारी प्राणी हो ।तर गाई खाने मान्छेले गाई शाकाहारी भएकाले गोमांस खानेहरू शाकाहारी हुन् भन्न मिल्दैन । प्राचीन धर्म–संस्कृति मास्ने कुनियतले
    ल्याइएको धर्मनिरपेक्षता, विदेशीको ढलीमली गराउन ल्याइएको गणतन्त्र, नेपाली–नेपालीलाई विभाजित गर्न ल्याइएको
    संघीयता शिरमा बोकेर वर्तमान संविधान उत्कृष्ट छ भन्ने राप्रपालाई जनताले धुलो चटाइदिए ।सिद्धान्त, नैतिकता, धरातल र आचरण त्यागेपछि हरेकव्यक्ति र शक्तिको पतन हुन्छ । ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने त उखानै छ ।
    कुनै स्वाभिमानी मानिस गरिब नै छ भने पनि मजदुरी गरेर परिवार पाल्छ तर धनाढ्य व्यक्ति बोलाएर पत्नी, छोरी वा बुहारी भोग गरिदेऊ भन्दै पैसा माग्दैन ।सच्चा प्रजातन्त्रवादी र गणतन्त्रवादी चिन्तनमा आकाशजमिनको फरक छ ।गणतन्त्रले फिजी, सिक्किम वा अंगोला बनाउन सक्छ देश तर प्रजातन्त्रले इतिहासलाई खरानी पार्दैन ।राष्ट्रको शिर झुक्न दिदैन ।जनतालाई भिखारी बनाउँदैन ।
    प्रजातन्त्रमा विश्वास गर्ने अधिकांश राष्ट्र स्थिर, सुखी र शान्त छन् ।गणतन्त्र जताततै रोग, भोक र शोकको कारण बनेको छ ।समयमै सतर्क भएर राष्ट्रको रक्षा नगर्ने हो भने यो गणतन्त्रले एकदिन सबैलाई धुरुधुरु रुवाउनेछ ।राष्ट्रलाई पराधीन बनाउनेछ ।त्यो बेला मात्र हामीले बुझ्नेछौँ, गणतन्त्र भनेको प्रजातन्त्र होइन रहेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट