
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेपछि छटपटाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मोदीको दर्शनभेट पाएका छन् । दर्शनभेट पनि यस्तो मिल्यो कि एक्लाएक्लै । विदेशी सरकार प्रमुखलाई विरलै एक्लाएक्लै भेट्ने मोदीले ओलीलाई दिएको यो ‘एक्स्क्लुसिव दर्शनभेट’ केका लागि थियो ? त्यो दर्शनभेटको भाँडोमा केके पाक्यो ?, त्योचाहिँ अहिले पनि रहस्यकै गर्भमा छ । अहिले यो दर्शनभेटलाई लिएर परस्पर विरोधी अनुमानहरू बाहिर आएका छन् । ओलीका गोयबल्सहरू यस भेटलाई नेपाल–भारत सम्बन्धको कोशेढुंगाका रूपमा भाष्य दिने प्रयत्नमा छन् । तर, बाँकीले यसलाई सहज र स्वाभाविक भेटका रूपमा लिइरहेका छैनन्; शंकाकै घेरामा राखेर हेरिरहेका छन् ।
राजावादीहरूले राजा फर्काउने आन्दोलन सुरु गरेकै समयमा भएको यो दर्शनभेट सामान्य छैन । यसको पृष्ठभूमिमा नेपाल र भारत दुवैतिर केही विशिष्ट कारण र आधार छन् । नेपालतिरको कुरा गर्दा वयलगाडा सिद्धान्तका प्रतिपादक ओलीको गणतन्त्रप्रतिको प्रतिबद्धतासँग जोडेर हेर्नुपर्ने हुन्छ । यतिमात्र हैन, योसँगै राजावादीहरूलाई दूध खुवाएर गणतन्त्रविरूद्ध विषवमन गर्ने हैसियतमा उकाल्ने उनको भूमिकालाई पनि सँगै राखेर हेर्नुपर्ने हुन्छ । आखिर यो सबै उनले किन गरिरहेका थिए ? भारततिरको कुरा गर्दा मोदी नेपालमा सके राजासहितको हिन्दू राज्य नसके पनि संवैधानिक राजासहितको हिन्दूराष्ट्र र त्यो पनि नसके हिन्दू राष्ट्र फर्काउनुपर्ने चरम दबाबमा छन् । यो दबाब उनलाई आफ्नै मातृसंस्था राष्ट्रिय स्वयंसेवक दलले दिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले त्यो दबाबको नेतृत्व लिएका छन् ।
आदित्यनाथसँग पूर्वराजा ज्ञानेन्द्र शाहको बाक्लो उठबस मात्र भइरहेको छैन, केही दिन पहिले भएको राजावादी आन्दोलनमा उनको तस्बिर ज्ञानेन्द्रको भन्दा पनि ठूलो थियो । यी दुई परिघटनालाई केवल संयोग मात्र भन्न सकिने अवस्था छैन । अझ त्यसमाथि पनि भारतीय गोदी मिडियाले यसलाई जुन किसिमको ‘भगुवा रङ’ दिने कोसिस गरे, त्यो त असामान्य नै छ । प्रस्तुत पृष्ठभूमिमा ओलीले मोदीको एक्लाएक्लै दर्शनभेट पाएका हुन् । र, यो भेट ओलीलाई लामो समय तडपाएपछि मात्र दिइएको छ । भेटपछिको ओलीको ‘भर्वल कम्युनिकेसन’ ठिकै देखिए पनि ‘ननभर्वल कम्युनिकेसन’ उत्साहप्रद छैन । खासगरी ओलीको अनुहारबाट चमक हराएको छ । लाग्छ, उनलाई मोदीले जुन गृहकार्य दिएका छन्, त्यसैको भारीले उनको यो दशा भएको हो ।
मोदी लुकाएर कुरा गर्ने स्वभावका छैनन् । शायद उनले यो भेटमा पनि ओलीसँग सिधै राष्ट्रिय स्वयंसेवक दलको चाहना र आफ्नो बाध्यता बताएको हुनुपर्छ । त्यो भनेको ‘सके राजासहितको हिन्दू राज्य नसके पनि संवैधानिक राजासहितको हिन्दू राष्ट्र र त्यो पनि नसके हिन्दू राष्ट्र फर्काउनुपर्ने’ हो । मोदीले यसमा ओलीको सक्रिय भूमिका र सहयोग चाहेका छन् । त्यति मात्र हैन, मोदीले त्यसो भए मात्र ओलीलाई प्रधानमन्त्रीका रूपमा सहयोग मिल्छ र नेपाल–भारत सम्बन्ध पनि सुमधुर हुन्छ ।
सत्ताका वाचाल खेलाडी मोदीले ओलीको गणतन्त्रप्रतिको प्रतिबद्धता र राजावादी हुर्काउन गरेको योगदानको नाडी छामिसकेकै छन् । अझ उनलाई ओलीको सत्तामोह र अरू कमजोरीको पनि राम्रैसँग हेक्का छ । त्यसमाथि पनि उनले आफू राजाको पक्षमा उभिन बाध्य हुने र त्यतिबेला आम्नेसाम्ने हुनुपर्ने अवस्था आउँछ भनेर तर्साएको पनि हुनुपर्छ । मोदीको साम, दाम, दण्ड, भेदमा लत्रेर ओलीले कम्तीमा पनि नेपाललाई संवैधानिक राजासहितको लोकतन्त्रको मध्यमार्गी बाटोमा स्विकार गरेर आएको हुनुपर्छ । यही नै ओलीले पाएको कठिन गृहकार्य हो । ओलीकै सबैभन्दा प्रिय विषयकै गृहकार्य भए पनि यो फत्ते गर्न सहज छैन । ओलीको टाउको दुखाइ पनि यही नै हो ।
ओली अहिले नै मोदीलाई दिएको वचन सार्वजनिक गर्न सक्ने अवस्थामा छैनन् । उनलाई थाहा छ, नेपालको पछिल्लो राजनीतिक तावा त्यतिसम्म तातिसकेको छैन । यसका लागि अरूको त कुरै नगरौँ, ’ओमाले’ बनिसकेको उनको आफ्नै पार्टी पनि तयार छैन । कांग्रेसमा एउटा धार राजावादी नै छ । त्यसको दबाब पार्टीमा बढ्दै पनि छ । यद्यपि, संस्थापन पक्ष त्यो धारमा गइसकेको छैन । कांग्रेसको युवा पुस्ता पनि राजा पाल्ने पक्षमा छैन । तर, मोदीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक दलले आरजु राणामार्फत कांग्रेसको संस्थापनलाई राजाको पक्षमा ल्याउने प्रयास थालिसके जस्तो देखिन्छ । आरजुको बढ्दो राजनीतिक महत्वाकांक्षाका सामु सधैँ निहुरमुन्टी न हुने चरित्र र छैटौँ पटक प्रधानमन्त्री हुन जे पनि गर्ने मानसिकताका कारण देउवाले गति छोड्दैनन् भन्न सकिने अवस्था छैन ।
अझ त्यसमाथि पनि ओलीले मोदीलाई दिएको वाचा पूरा गरियो भने मात्र ‘तपाई प्रधानमन्त्री हुनुहुन्छ’ भनेर देउवालाई भन्न सक्छन् । यस्तो अवस्थामा कांग्रेस पनि संवैधानिक राजासहितको लोकतन्त्रको मध्यमार्गी बाटोमा उभिन सक्छ । कांग्रेसमा यस्तो अवस्था सिर्जना गरेपछि ओली आफ्नो पार्टीमा संवैधानिक राजासहितको लोकतन्त्रको मध्यमार्गी बाटोमा फर्काउन दबाब बढाउन सक्छन् । त्यस्तो अवस्थामा पार्टीको ठूलो पंक्तिको असहमति रहँदारहँदै पनि ओलीले एमालेलाई मोदीलाई दिएको बचनको पक्षमा उभ्याउन सक्छन् । त्यस्तो अवस्थामा एमाले विभाजनमा जान पनि सक्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी त रविलाई बचाउने सर्तमा जुन कित्तामा पनि उभिन तयार नै छ । त्यसका लागि रविले मोदीका भाइमार्फत लबिङ गर्न थालेको पनि धेरै भइसक्यो । यद्यपि, अझै त्यसको परिणाम देखिएको छैन । ओली र देउवा मिलेर रविलाई बचाउने वचन दिए भने रास्वपा नै सबैभन्दा पहिले राजावादी कित्तामा उभिन्छ । राजावादी आन्दोलन राप्रपाको काँधबाट रास्वपाको काँधमा सार्न सकियो भने त्यसमा केही बल पुग्न पनि सक्छ । यस्तो अवस्थामा ओली–देउवालाई आआफ्नो पार्टीमा आफ्नो बाध्यता सम्झाउन सहज हुन्छ । र, उनीहरू राजाको पक्षमा वार्ता र सम्झौता गर्ने आफ्नो रोडम्यापमा अगाडि बढ्छन् । नेपालमा यो स्थिति सिर्जना भएपछि मोदीलाई पनि आफ्नो राजावादी तुरुपको पत्ता हाकाहाकी खोल्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस