
अराजक स्वभावका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रयोग गरेर चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसात्मक घटना घटाएको २ महिनापछि राजावादीहरू अर्को आन्दोलनको रिहर्सलमा लागेका छन् । त्यसको ठ्याक्कै २ महिना पुगेको दिन जेठ १५ गते राजावादी दल र समूहले त्यस्तै प्रकृतिको आन्दोलनको तयारी गरेका हुन् ।
यसअघि ८६ वर्षका नवराज सुवेदीको संयोजकत्वमा चैत ४ गते ‘संयुक्त जनआन्दोलन समिति’ गठन भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाहको योजनाअनुसार चैत १५ गते भीड जम्मा गर्न सक्ने प्रसाईंलाई कमान्डर बनाइएको थियो । यही समिति गठनपछि चैत १४ गते सुवेदी र प्रसाईंलाई निर्मल निवास बोलाएर ज्ञानेन्द्रले छलफल गरे । भोलिपल्टै राजावादी समूहले गरेको सो आन्दोलन हिंसामा परिणत हुन पुग्यो । जलाएर पत्रकार मार्ने, चोरी, डकैती, लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति, पार्टी कार्यालय र सरकारी सम्पत्ति तोडफोड तथा आगजनी गर्ने दर्जनौं घटना भए ।
सोही घटनाको जिम्मेवारी लिन ज्ञानेन्द्रमाथि चौतर्फी दबाब आयो । तर, जिम्मेवारी लिएनन् । बरु प्रसाईंलाई बेवास्ता गर्न र हिंसात्मक गतिविधिको दोष उनैको टाउकोमा थोपर्नतिर लागे । फेरि अर्को त्यस्तै वितण्डाका लागि ज्ञानेन्द्रले राजावादी दल र समूहरूसँग नियमित मन्त्रणा गरिरहेको घटनाक्रमले देखाएका छन् ।
फागुन २५ मा पोखराबाट काठमाडौं आउँदाको स्वागत कार्यक्रम आफूहरूले नराखेको ज्ञानेन्द्रले सचिवालयले जनाएको थियो । तर, प्रसाईंसहितका व्यक्ति सहभागी भएको सो स्वागत कार्यक्रम सफल भएपछि ज्ञानेन्द्रको सचिवालयले सो कार्यक्रम आफूहरूले आयोजना गरेको बतायो । त्रिभुवन विमानस्थलदेखि निर्मलनिवाससम्म भएको र्यालीसहितको स्वागतको कार्यक्रम सफल भएको भन्दै शाहको सचिवालयले जिम्मा लिएको थियो ।
यसैबाट उत्साही हुँदै ज्ञानेन्द्रकै अगुवाइमा चैत १५ गते तीनकुनेमा राखिएको कार्यक्रम हिंसात्मक बनिदियो । प्रदर्शन हिंसामा परिणत भएपछि ज्ञानेन्द्र र उनको टीमले त्यसको जिम्मा लिएन । कार्यक्रम सफल भए जिम्मा लिने तर अराजकतातर्फ अगाडि बढे दोष अर्कैतिर थोपर्ने प्रवृत्ति ज्ञानेन्द्रमा देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै पछिल्ला गतिविधि निर्मलनिवासकै योजनामुताविक भएको र योजनाकार ज्ञानेन्द्र भएको बताउँछ । ‘परिवर्तनका सबै दिवसको अवसर पारेर कार्यक्रम गर्ने र चुनौती दिने हर्कतको योजना निर्मल निवासमै बन्छ भन्नेमा दुईमत छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘कार्यक्रम हुनुअघि राप्रपा र राजावादीसँग भेट्ने, लञ्च खुवाउने, संयोजक र कमान्डर तोक्ने गतिविधिले यी सबैको योजनाकार ज्ञानेन्द्र हुन् भन्न गाह्रो छैन ।’ यसैले प्रधानमन्त्री ओलीले किटानीसाथ संसदबाट चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको जिम्मा लिन ज्ञानेन्द्रलाई भनेको नेताहरू बताउँछन् । एमालेका एक नेताले आफ्नो व्यक्तिगत स्वार्थका लागि पूर्वराजा ज्ञानेन्द्रले सबै कार्ड प्रयोग गर्न खोजेको बताए ।
‘ दुर्गा प्रसाईंलाई आन्दोलन अराजक बनाउन निवासमै बोलाएर छलफल गरे । जनकमान्डर तोके । उनी थुनिँदा र मुद्दा चल्दा कोही भेट्न पुगेनन् भन्ने सुनेका छौं । आफ्नो लागि लडाउन, मार्न जे गर्न पनि तयार हुने, तर समस्या परेपछि मैले होइन भन्दै भाग्ने प्रवृत्ति ज्ञानेन्द्रमा देखियो,’ ती नेताले भने, ‘आफ्नो लागि मर्न र लड्न आइजो, अरू कुराको मतलब छैन भन्नु सिधै रैती हो भनेका हुन् । मान्छेलाई फ्रस्टेट बनाउने र समाजमा नकारात्मक हावा फैलाउनेप्रति सरकार र दलहरू सचेत हुनुपर्छ ।’
जिम्मेवारी लिन दबाबका बीच ज्ञानेन्द्रले नयाँ वर्षको अवसरमा चैत ३१ गते भिडियो सन्देश जारी गरे । तर, चैत १५ गतेको हिंसात्मक आन्दोलनको जिम्मेवारी लिएनन् । घटनाप्रति दुःख व्यक्त मात्रै गरे । आफ्नै अगुवाइमा भएको प्रदर्शन हिंसात्मक बनेपछि ज्ञानेन्द्र अलि सम्हालिन्छन् भन्ने आकलन थियो । तर, उनी झन् संस्थागत हिसाबले नेताहरूसँग श्रृंखलाबद्ध भेट र लञ्च मिटिङमा देखिन थालेका छन् ।
राप्रपाको विरोध कार्यक्रमअघि ज्ञानेन्द्रले वैशाख ५ गते सो पार्टीका ७ नेतासँग लञ्च मिटिङ गरेका थिए । आफ्नो पक्षमा माहोल सिर्जज गर्नैका लागि ज्ञानेन्द्रले विश्वासको वातावरण बनाउन यस्तो गरेको नेताहरू बताउँछन् । त्यसपछि फेरि वैशाख अन्तिममा ज्ञानेन्द्रले १२ दिनसम्म बसेर नगरकोटमा थुप्रै नेता र शुभेच्छुकलाई भेटे । प्रसाईं थुनिएपछि राजवादी दल र समूहका नेतासँग छुट्टाछुट्दै भेट गरे । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्दनदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका राजावादी समूह र राजावादी पत्रकारसँग ज्ञानेन्द्रले ‘वान टु वान’ वार्ता गरेका थिए ।
ज्ञानेन्द्रले फेरि जेठ ८ गते बिहीबार पनि राजावादी ४ नेतासँग होटल सोल्टीमा लञ्च मिटिङ गरे । जेठ १५ गतेको तयारीका लागि भन्दै ज्ञानेन्द्रले राजेन्द्र लिङ्देन, कमल थापा, नवराज सुवेदी र केशरबहादुर विष्टसँग भेट र छलफल गरेका हुन् । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ आन्दोलनको पूर्वसन्ध्यामा भएका यस्ता भेट संयोगमात्रै भएको दाबी गर्छन् । ‘राजसंस्था पुनःस्थापनाको पक्षमा लागेका पार्टी र दलका नेतासँग राजाले भेट्नु सामान्य हो,’ श्रेष्ठले भने, ‘आन्दोलनको पूर्वसन्ध्यामा राजासँग भेट हुनु संयोग । राजाले भनेर आन्दोलन गर्न लाग्या होइन, देशका लागि आवश्यक भएर गर्न लागेका हौं ।’ श्रेष्ठले यस्तो दाबी गरे पनि पूर्वराजाले ऐतिहासिक दिनलाई काउन्टर दिने नीति लिएका छन् ।
जनआन्दोलनको ऐतिहासिक दिवस, प्रजातन्त्र दिवस, लोकतन्त्र दिवसपछि जेठ १५ गते गणतन्त्र घोषणा भएको दिनलाई काउन्टर दिने गरी राजावादीले कार्यक्रम गर्न लागेका हुन् । खुला रूपले गणतन्त्रलाई उल्टाउने भन्दै उनीहरूले चुनौती दिएका छन् । ज्ञानेन्द्रको शाही कुविरुद्ध २०६२/६३ सालमा दोस्रो जनआन्दोलन भएको थियो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते देशलाई गणतन्त्र घोषणा गरेको थियो । लाखौं नागरिक सडकमा उत्रिएपछि ज्ञानेन्द्र ‘जनताको नासो जनतालाई फिर्ता गरें’ भन्दै नारायणहिटीबाट नागार्जुन सरेका थिए ।
प्रतिक्रिया दिनुहोस