आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

राजनितिमा विद्याले ल्याएको तरङ्ग


  • आक्रमण न्युज
  • २०८२ श्रावण ४, आईतबार मा प्रकाशित १ साल अघि
  • ४३१ पाठक संख्या
  • नेपाली राजनीतिमा महिला सर्वेसर्वा भएको लामो इतिहास छ । महिला प्रत्यक्ष शासनमा नदेखिएपनि उनीहरू शासन सत्तामा अप्रत्यक्ष रूपमा हाबी भएका थिए । लिच्छविकलामा राजा मानदेवकी आमा राज्यवती शासन सत्तामा हाबी थिइन् । रणबहादुर शाहकी आमा राजेन्द्र राज्यलक्ष्मी शाहले पनि नायवी बनी शासन चलाएकी थिइन् । दुवैले कलिलो उमेरमै पतिको निधन भएपछि बालक राजालाई गद्दीमा राखी शासनको बागडोर सम्हालेका थिए । शाह वंशको शासन हुँदा शासन सत्तामा रानीहरूको हालीमुहाली र टकरावका धेरै घटना भए । कतिपय हत्याकाण्डमा रानीहरूको द्वन्द्व मूल कारण थियो । तर, महिलाहरू कहिले पनि प्रत्यक्ष रूपमा शासनमा कार्यकारी पदसम्म पुगेनन् । राजाको शासन हुने राजनीतिक प्रणालीमा बेलायतमा जस्तो रानी सरकार प्रमुख बन्ने अवस्था पनि रहेन ।
    २००७ सालको परिवर्तनपछि महिलाहरू राजनीतिमा बिस्तारै सक्रिय देखिनथाले । वीपी कोइरालाको क्याबिनेटमा सहायमन्त्रीका रूपमा द्वारिकादेवी ठकुरानी समावेश गरिइन् । नेपालमा पहिलो महिला मन्त्री बन्ने इतिहास उनैले रचिन् । पञ्चायतमा महिलाहरू फाट्टफुट्ट मन्त्री बने । २०४६ सालको परिवर्तनपछि बिस्तारै राजनीतिमा महिलाको सहभागिता बढ्न थाल्यो । शैलजा आचार्य पहिलो महिला उपप्रधानमन्त्री बनिन् । उनलाई देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा हेरिन्थ्यो । नेपाली कांग्रेसको सभापतिको दाबेदार थिइन् आचार्य । कांग्रेस उपसभापति समेत बनेकी आचार्य पार्टीभित्रको शक्तिसंघर्षका दौरान पाखा लगाइन् । प्रथम महिला प्रधानमन्त्रीको सम्भावित आचार्य ६५ वर्षको उमेरमा संसारबाट बिदा भइन् ।
    सहाना प्रधानलाई पनि सम्भावित महिला प्रधानमन्त्रीका रूपमा लिइन्थ्यो । उपप्रधानमन्त्री सम्म बनेकी उनी पनि एमाले विभाजन, पार्टीभित्र कमजोर सांगठनिक पकडका कारण प्रधानमन्त्रीको दौडमा पछि परिन् । दुवैको निधनपछि नेपाली राजनीतिमा दरिलो महिला राजनीतिज्ञको अभाव देखियो । २०६२/६३ को जनआन्दोलनपछि नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइराला निकै बलियो देखिए । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका उनले देशले छिट्टै महिला प्रधानमन्त्री पाउने अभिव्यक्ति दिएर तरंग ल्याइदिए । धेरैले सुजाता कोइराला प्रधानमन्त्री बन्ने दौडमा रहेको अनुमान लगाउन थाले । माधवकुमार नेपाल प्रधानमन्त्री बन्दा सुजाता उपप्रधानमन्त्री बनिन् ।
    भारतमा जवाहरलाल नेहरुले छोरी इन्दिरा गान्धीलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको जस्तै गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई प्रधानमन्त्री बनाउन खोजेको भन्दै कांग्रेसभित्र र बाहिर विभिन्न टिकाटिप्पणी पनि भए । तर, सुजाताले कांग्रेसको संगठनमा पकड बढाउन सकिनन् । उनको प्रधानमन्त्रीको दौड कमजोर बन्यो । कांग्रेसभित्र आरजु राणालाई प्रधानमन्त्रीको दाबेदार मान्नेहरू नभएका होइनन् । सभापति शेरबहादुर देउवा पत्नी आरजु परराष्ट्रमन्त्री बनिन् । तर, पार्टीभित्र संगठनमा पकड बनाउन नसक्नुले आरजुको प्रधानमन्त्रीको दौड फलामको च्युरा चपाउनु सावित देखिइसकेको छ ।
    विश्व राजनीतिमा महिला प्रधानमन्त्री या कार्यकारी राष्ट्रपति बनेका घटनाहरू धेरै छन् । कतिपय पिता या पतिको विरासतको राजनीतिबाट उच्च पदमा पुगेका छन् । इन्दिरा गान्धी पिता जवाहरलाल नेहरुका कारण राजनीतिमा स्थापित भई भारतको प्रधानमन्त्री बनिन् । बंगलादेशमा हत्याकाण्डमा सपरिवार मारिएका शेख मुजिबर रहमानकी बाँचेकी दुई छोरीमध्ये एक शेख हसिनाले बाबुको विरासत थामिन् अनि प्रधानमन्त्री बनिन् । पाकिस्तानकी प्रथम महिला प्रधानमन्त्री बेनजिर भुट्टो सैनिक शासकबाट मारिएका जुल्फिकर अली भुट्टोकी छोरी हुन् । विरासतको राजनीतिबाट उठेर देशको प्रधानमन्त्री या राष्ट्रपति बनेका विश्वका धेरै महिला नेता छन् । तर, उनीहरू पार्टी राजनीतिमा बलियो पकड बनाएरै सत्तामा पुग्न सफल भएका हुन् ।
    नेपाल जस्तो दलीय राजनीति हाबी भएको देशमा जसको पार्टीभित्र संगठन बलियो हुन्छ ऊ नै प्रधानमन्त्रीको दौडमा अगाडि देखिने गरेको छ । पार्टी सभापति नै प्रधानमन्त्रीको मुख्य दाबेदार बनेका छन् । बहुदलपछि पार्टी अध्यक्ष नभइकन प्रधानमन्त्री बनेकाहरू कमै छन् । यो तथ्य राजनीतिमा बलियो मानिएका महिला नेताहरूले मनन गरिसकेको हुनुपर्छ । यसैकारण विद्या भण्डारी नेकपा एमालेको राजनीतिमा फर्किएर संगठनमा पकड बनाउन सक्रिय देखिएकी छिन् । जबसम्म संगठनमा पकड हुन्न तबसम्म पार्टी नेतृत्वमा पुग्ने सम्भावना रहन्न । जबसम्म पार्टी नेतृत्वमा पुगिँदैन तबसम्म प्रधानमन्त्रीको दाबेदारी टाढाको विषय हो । भण्डारीले यही तथ्य बुझेर रणनीति बनाएर राजनीतिमा सक्रियता बढाएको देखिन्छ ।
    विद्या भण्डारीले अहिलेको राजनीतिक उचाइ बनाउनुमा विरासतको राजनीति पनि आधार हो । तर, उनले राजनीतिमा लामो सङ्घर्ष पनि गरेको देखिन्छ । मदन भण्डारीको निधनपछि उनी राजनीतिमा उदाइन् । मदनसँग विवाह नहुँदा पनि उनी राजनीतिमा थिइन् । तर, विवाहपछि उनी गृहस्थ जीवनमा सीमित भइन् र भूमिगतकालमा मदनलाई सघाइन् । आकस्मिक घटनाले उनलाई आकस्मिक रूपमा राजनीतिमा फर्कायो । उनी एमालेभित्रको केपी शर्मा ओली समूहमा रहेर संगठनमा भिजिन् । एमालेको अखिल नेपाल महिला संघको नेतृत्वमा पुगिन् । एमाले उपाध्यक्ष हुँदै प्रथम महिला राष्ट्रपति सम्म बनिन् । राष्ट्रपति बनिसकेकाले उनले सक्रिय राजनीतिबाट विश्राम लिने अनुमानहरू पनि गरिए । तर, भण्डारी एमाले राजनीतिमा फर्किएर नेतृत्वको दौडमा होमिएकी छिन् । उनको प्रतिस्पर्धा कुनैबेला उनैले नेता मानेका केपी शर्मा ओली नै हुने देखिएको छ ।
    राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन । कुनैबलाका गुरु चेला राजनीतिक प्रतिस्पर्धी हुन सक्छन् । नेता मानेकालाई कार्यकर्ताले पदको प्रतिस्पर्धामा चुनौती दिने गर्छन् । माधव नेपाल गुटमा लामो समय रहेका ओलीले पछि उनैलाई विस्थापित गरी एमाले अध्यक्ष बनेको इतिहास छ । विद्या भण्डारीले भविष्यमा ओलीलाई विस्थापित गरी एमाले अध्यक्ष बनेमा आश्चर्य नमाने हुन्छ । राजनीति सम्भावना नै सम्भावनाको खेल न हो । एमालेभित्र अहिले जे जस्तो राजनीतिक घटनाक्रम विकास भइरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट