आज: २०८३ श्रावण २८, बिहिबार | Thu, 13, Aug, 2026

सुशिला र ओलीको इगोले जन्मेको जेन जी


  • आक्रमण न्युज
  • २०८२ आश्विन २८, मंगलबार मा प्रकाशित १0 महिना अघि
  • २७६ पाठक संख्या
  • भदौ २३ को जेनजी आन्दोलनपछि देश गहिरो तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ। यसको निकास जनताको नयाँ ‘म्यान्डेट’ बाहेक केहीले पनि दिन सक्दैन। हामीले बुझ्न जरूरी छ, अहिलेको राजनीतिक चुनौतीबाट मुलुकलाई बाहिर निकाल्ने एउटा मात्रै ढोका छ — त्यो हो निर्वाचन। त्यसैले निर्वाचनबाट कोही पनि भाग्न हुँदैन र यसलाई बिथोल्ने वा असर पुर्याउने काम कसैले पनि गर्नु हुँदैन।
    दुर्भाग्यवश्, आजको राजनीतिका प्रमुख पात्रमध्येका दुई जना — प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका गतिविधिले चुनावी वातावरण धमिल्याउने र बिथोल्ने खतरा बढाएका छन्। दुवै जनाका कदम मुलुकको दीर्घकालीन हितभन्दा व्यक्तिगत तुष, इगो र घमन्डले निर्देशित हुन थालेका छन्। दुवै जनाले आफ्ना व्यवहार र कदम सच्याएनन् भने मुलुकको राजनीति थप जटिल बन्ने खतरा बढेर गएको छ।

    जेनजी प्रदर्शनपछि आफ्नो प्रधानमन्त्री पद गुमाएका ओली पूर्ण रूपमा Denial mode (तथ्य र यथार्थ अस्वीकार गर्ने मानसिक अवस्था) मा छन्। ओली वा कुनै पनि मानिसहरू कहिलेकाहीँ किन डिनायल मोडमा जान्छन् भन्नेमा खास मनोवैज्ञानिक कारण छन्। प्रायः मानिसहरू डिनायल मोडमा यस कारण जान्छन् कि, यथार्थ स्वीकार गर्यो भने त्यसको चर्को मूल्य चुकाउनुपर्छ। मनोवैज्ञानिक रूपमा आफैलाई अप्ठ्यारो पर्छ, ग्लानीबोध हुन्छ। मनले ‘त्रुटि सच्याऊ, प्रायश्चित गर, बाटो परिवर्तन गर’ भन्छ। त्यसैले मानिसहरू आफैबाट आफ्नो रक्षा गर्न डिनायल मोडमा जान्छन्।

    भदौ २३ को आन्दोलनको निहुँ वा तात्कालिक कारण आफ्नै हठमा सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हो भन्ने मान्न ओली तयार छैनन्। त्यो दिन र भोलिपल्ट गरेर ७४ जना नेपाली युवाको ज्यान जानुको मूल कारण आफ्नो त्यही हठ थियो भन्ने मान्न उनी तयार छैनन्। तत्कालको निहुँ सामाजिक सञ्जालको प्रतिबन्ध भए पनि, युवा विद्रोहको मूल कारण लामो समयदेखि नेपालमा चलेको कुशासनको दुश्चक्र हो भन्ने मान्न ओली तयार छैनन्। अझ पछिल्ला दस वर्षमा जसरी तीन दलका तीन शीर्ष नेताले सत्ताको ‘म्युजिकल चेयर’ चलाए र कुशासनको दुश्चक्र जारी रह्यो, युवाहरूको धैर्य टुट्नुको मूल कारण त्यही हो भन्ने मान्न पनि उनी तयार छैनन्। नेकपाको विग्रह र टुटफुट अहिलेको राजनीतिक–सामाजिक विचलनको एउटा प्रमुख कडी हो भन्ने मान्न पनि उनी तयार छैनन्।

    अनि मानिसहरूबीच बढ्दो असन्तोष र बेचैनीमा उनका वचन र व्यवहारले लामो समयदेखि नुनचुक गरिरहेको थियो भन्ने मान्न ओली तयार हुने कुरै भएन! नेपाली समाज भदौ २३ को विद्रोहमा आइपुग्नुका पछाडि कुन कुन शीर्ष नेता मुख्य रूपमा जिम्मेवार छन् भनेर गम्ने हो भने, ओलीको भागमा त्यो जिम्मेवारी सबभन्दा धेरै पर्छ। तर उनी त्यो मान्न पनि तयार छैनन्! यी तथ्य र यथार्थ मान्ने बित्तिकै ओलीले जबाफदेहिता बहन गर्नुपर्ने हुन्छ। पार्टीभित्र र बाहिर त्यही जबाफदेहिताबाट भाग्न ओली अहिले पूर्ण रूपमा आफ्नो तागत केन्द्रित गरिरहेका छन्। सेनाको ब्यारेकबाट भक्तपुरको गुण्डुमा सरेदेखि ओलीले जे भनिरहेका छन्, त्यो सामान्य राजनीतिक ‘सेन्स’ भएको नेताले भन्न सक्ने कुरा होइन।

    उनी मूल रूपमा तीन वटा कुरा भनिरहेका छन्। पहिलो, भदौ २३ को जेनजी आन्दोलन विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रमा भएको हो। दोस्रो, भदौ २३–२४ को घटना छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगको अस्तित्व स्वीकार नगर्ने। तेस्रो, फागुन २१ गतेको निर्वाचन अस्वीकार गर्ने र संसद पुनः स्थापनाको बाटोमा अघि बढ्ने। भदौ २४ गते बालुवाटार गेटमै आइपुगेका प्रदर्शनकारीको मुखैबाट टिपेर सेनाको हेलिकप्टरले उनलाई हेटौंडास्थित सुपारीटार ब्यारेक पुर्याएको ओलीले कति छिटो बिर्सिएका? उनले बालुवाटारमै छाडेर गएका पार्टीका नेताहरू शंकर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवालीहरू त्यो दिन मध्यरातसम्म प्रहरी मुख्यालयमा लुकेर ज्यान जोगाएको कसरी बिर्सिएका? विषम राजनीतिक परिस्थितिमा सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन भदौ २३ गते संसद भवन अगाडि बगेको युवाहरूको रगत सुक्न नपाउँदै ओलीले यो आन्दोलनलाई विदेशी षड्यन्त्रको परिणाम भनेका छन्।

    हिजो २०४६ साल र २०६२–६३ सालको जनआन्दोलनलाई विदेशी षड्यन्त्रको परिणाम भनेर दरबारियाहरू दुत्कार्थे। अहिले पनि दुत्कार्छन्। ओलीले अहिले त्यही लय समातेका छन्। षड्यन्त्रको ‘न्यारेटिभ’ जबरजस्त रूपमा स्थापित गराउन ओली अहिले यति उद्दत छन्, एमाले पुनर्गठनको माग गर्ने सहकर्मीहरूलाई उनी नजिकका नेताहरूले ‘विदेशी प्रतिक्रियावादीका एजेन्ट’ भन्ने आरोप लगाएका छन्। ‘कन्सपिरेसी थ्योरी’ (षड्यन्त्रको सिद्धान्त) स्थापित नगरे आफू नेतृत्वबाट विस्थापित हुने अवस्था आउँछ भन्ने डर ओलीलाई छ।

    ओलीले जबरजस्ती स्थापित गर्न खोजेको कन्सपिरेसी थ्योरी एकछिनका लागि मान्ने नै हो भने, त्यसले पनि उनको राजनीतिक औचित्य समाप्त हुन्छ। एकछिनका लागि मानौं — ओलीविरूद्ध विदेशीले षड्यन्त्र गरे। अनि त्यो षड्यन्त्रमा सेना, सशस्त्र, गुप्तचर, प्रहरी र राज्यका सबै अंगले विदेशीलाई साथ दिए र उनलाई अन्तिमसम्म गुमराहमा राखे। अर्थात्, उनीहरूले विदेशीलाई विश्वास गरे, आफ्नै प्रधानमन्त्रीलाई विश्वास गरेनन्। कसैले विश्वास नगर्ने अवस्थामा ओली कसरी पुगे? कसैले विश्वास नगर्ने ओली मुलुकको राजनीतिमा एक जना शीर्ष नेताका रूपमा कसरी रहिरहन सक्छन्? कसरी एमालेको मियो बनिरहन सक्छन्? हिजो सत्तामा हुँदा, सारा सूचना र राज्यको तागत आफ्नै हातमा हुँदा विदेशी षड्यन्त्र चिर्न नसकेका ओलीले भोलि त्यसलाई कसरी चिर्न सक्छन्?

    जेनजी आन्दोलनपछिको परिस्थितिमा ओलीको राजनीतिक औचित्य जुन कोणबाट हेरे पनि समाप्त भएको छ। आगामी पाँच महिनाको छोटो समयमा हुने निर्वाचनले त्यो झनै स्पष्ट रूपमा स्थापित गर्नेछ भन्ने ओलीलाई थाहा छ। त्यसैले उनी निर्वाचन बिथोल्ने वा रोक्ने दिशामा अग्रसर छन्। हामी सबैले र खासगरी एमाले नेता–कार्यकर्ताले बुझ्नुपर्छ र भन्नुपर्छ — मुलुक अब ओलीको तुष र इगोको बन्दी बन्न सक्दैन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट