आज: २०८२ पौष २, बुधबार | Wed, 17, Dec, 2025

कलियुगको ओली ‘कुटी’


  • आक्रमण न्युज
  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित २ दिन अघि
  • १०४ पाठक संख्या
  • ‘कुटी’ शब्द सुन्नसाथ हाम्रो मानसपटलमा एउटा आद्य–प्रतिमा जागृत हुन्छ-जंगलको छेउ, नदीकिनार, वनको बीच एकान्तमा बनेको सानो झुपडी । जहाँ साधुसन्त बस्छन् । मन्त्र-जप हुन्छ । जसलाई मनको विश्रामगृहको रूपमा लिइन्छ ।

    साधु-सन्तको निवास भनेर बुझिने कुटी वास्तवमा आत्मानुसन्धानको सूक्ष्म प्रयोगशाला हो । जहाँ मन्त्र जप मात्र हुँदैन, मनकै गोप्य ध्वनि स्वयम् प्रतिध्वनित हुन्छ । संसारका आकर्षण र चञ्चलताबाट अलग बसेर मनुष्यको मौलिक स्वरूप (वैराग्य, सरलता र निर्मलताको दर्शन) त्यहीँ पूर्णरूपमा उद्घाटित हुन्छ । कुटी भौगोलिक एकान्त मात्र होइन, अस्तित्वको एकाग्रता हो, जहाँ दृष्टि बाहिरी संसारतर्फ होइन, आफ्नै आँसु, आफ्नै हर्ष, आफ्नै विघटन पुनर्निर्माणका चक्रहरूतर्फ फेरिन्छन् ।

    त्यस अर्थमा ‘कुटी’ कुनै साधारण झुपडीको संकेत होइन । यो अनुरागबाट वैराग्यतर्फ उन्मुख यात्राको प्रतीक हो । र, आत्मजागरणको निःशब्द सभागार । तर, यो कलियुग हो, जहाँ ‘कुटी’ अब वनको एकान्तमा जन्मिँदैन, सहरको मुटुमै उभिन्छ । पक्की जग, आधुनिक डिजाइन, मार्बल-टायलको झिलिमिली, अट्याच्ड बाथरुम, कडा सुरक्षा घेरा, अनि चारैतिर उठेको कम्पाउन्ड वालले घेरिएको यस्तो संरचना पनि आजकल कुटी नै मानिन्छ । यही परिवर्तित ‘कुटी’ एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका लागि बनाइँदै छ । संघीय राजधानीमै १५ आना तीन पैसा जग्गामा उठ्दै गरेको यो संरचना ‘ओली कुटी’ नामले प्रचारित छ । एक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अढाईतले यो कुटी भक्तपुरको परम्परागत नेवारी सांस्कृतिक छाप र ग्रामीण सौन्दर्य झल्किनेजस्तो डिजाइन गरिएको छ ।

    यद्यपि यसको आत्मा भने आधुनिक सहरको सुविधासँग गाँसिएको छ । भुइँतलामा बैठक कक्ष, प्रतीक्षालय, पुस्तकालय, लिभिङ रुम र डाइनिङ रहनेछन् । दोस्रो तलामा परिवारका बेडरुम र विशिष्ट पाहुनासँग भेटघाटका कक्ष रहनेछन् । तेस्रो तलामा पाहुनाका कोठा, अध्ययन कक्ष र ‘ग्रिन रुम’ रहने गरी डिजाइन गरिएको छ । कौसीमा कौसीखेतीको व्यवस्था समेत राखिएको छ । प्रारम्भिक डिजाइनअनुसार, करिब एक करोड रुपैयाँ लागतमा यी सबै सुविधासहितको आधुनिक ‘कुटी’ तयार हुने अनुमान छ ।

    जहाँ वैराग्य होइन, शक्तिको वास्तु बस्नेछ, र जहाँ कंक्रिटको मौनताले परम्परागत कुटीको आध्यात्मिक प्रतिध्वनि पूरै प्रतीत हुन्छ । कम्युनिस्ट नेताहरू आँफूहरूलाई सादगी भएको दाबी गर्छन् । सर्वहाराको नेता भन्छन् । तर, सादगीको मापदण्ड त नेताको कुटीले नै बताउँछ । यदि सुविधा सम्पन्न, मार्बल-टायल, अट्याच्ड बाथरुमसहितको भवनलाई ‘कुटी’ भनेर पुकारिन्छ भने गरिब बाँच्ने झुप्रीलाई के भन्ने ? जनताको महल ? नेपालमा अझै पनि ४० प्रतिशतभन्दा बढी जनता खरको छानो वा जस्तापाताको सानो घरमा बस्छन् ।

    ती साँच्चैका कुटीहरूमा बिजुली कहिलेकाहीँ आउँछ, शौचालय बाहिर हुन्छ, पानीको धारा टाढा हुन्छ । त्यही समाजलाई सम्बोधन नगरी आफ्नो आलिसान निवासलाई ‘कुटी’ भन्ने शैली अपनाउँदा, त्यो शब्दमाथि बेइज्जती हो, गरिबीमाथि खिल्ली हो । यो ठीक त्यसै हो जसरी कसैले आफ्नो मर्सिडिजलाई ‘ठेला गाडी’ भन्छन् । ‘कुटी’ शब्द आफैँमा पवित्र छ । तर जब यो शब्द सत्ताको चाकरी र छवि निर्माणको औजार बन्छ, तब यो शब्द दूषित हुन्छ । ओलीको गुन्डुको निवास जतिसुकै सुन्दर र सुविधायुक्त भए पनि त्यसलाई ‘महल’ वा ‘निवास’भन्दा केही बिग्रँदैनथ्यो । तर ‘कुटी’ भन्नु भनेको नेपाली समाजको गरिबी र साधु-सन्तमाथि गरिएको सबैभन्दा ठूलो राजनीतिक मजाक हो ।

    जो ध्यान, प्राणायाम, कुण्डलिनी जागरण, समाधि आदि अभ्यासका लागि वर्षौंसम्म एकान्त खोज्छन्, तिनीहरू कुटीमा बस्छन् । स्वामी विवेकनन्द, रामकृष्ण परमहंसका शिष्यहरू, निसर्गदत्त महाराजका केही शिष्यहरू पनि यस्तै कुटीमा बसेका उदाहरण छन् । वेदकालदेखि नै ऋषिहरू हिमालयका कुटी-गुफाहरूमा बसेर तपस्या गर्थे । आज पनि कतिपय ऋषिमुनि हिमालयका कुटीहरूमा जीवित नै भेटिन्छन् । कुटी बस्नेहरू कम बोल्छन् । बोलिहाले पनि मधुर र अर्थपूर्ण बोल्छन् । अनावश्यक कुरामा समय खेर फाल्दैनन् । पाए खान्छन्, नपाए भोकै पनि बस्छन् । जाडोमा आगो ताप्नु परे दुईवटा दाउरा जोहो गर्छन्, नभए चिसोमै बस्छन् । कसैसँग केही माग्दैनन् ।

    हिंसाको नामसम्म सुन्न चाहँदैनन् । कमिला–किरा पनि नमारी हिँड्छन् । कसैले दुःख दियो भने पनि मुस्कुराएर स्वीकार गर्छन् । अहङ्कार शून्य हुन्छ । आफूलाई सबैभन्दा सानो र अयोग्य ठान्छन् । सबैलाई समान दृष्टिले हेर्छन् । साँचो कुटीवासी त्यो हो, जसले बाहिरी संसारलाई पूर्ण त्याग गरिसकेको हुन्छ । तर, गुन्डुमा बन्न लागेको आधुनिक कुटी पनि त्यस्तै हाला त ? कस्ता मानिस बस्लान् ? यो कल्पना गर्न समेत मूर्खता हुन्छ । कुटी बनाउने अगुवाइ नै गुन्डा नेताको छवि बनाएका महेश बस्नेतले गरेका छन् । त्यस्ता कुटीमा मुख्य ऋषिको रूपमा ‘अहंकारी’ ओली रहनेछन् । जो ज्यानमारा मुद्दामा दोषी ठहरिएर अपराधको सजाय पनि काटेका व्यक्ति हुन् । ओलीको वरिपरि बदनाम र विवादित पात्रहरू मात्र छन् । ओली आजकल केवल एउटा व्यक्तिको नाम मात्र रहेनन्, नेपाली राजनीतिक संस्कृतिमा अहङ्कार, दम्भ र कुण्ठाका जीवित पर्याय बनेका छन् । विडम्बना के छ भने जसको शासनकालयमा जेनजी विद्रोह विस्फोट भयो, राज्यदमनमा ७६ नागरिकको ज्यान गयो, त्यस व्यक्तिले आजसम्म न आत्मालोचना गरेका छन्, न त मृतकप्रति सहानुभूति नै व्यक्त गरेका छन् ।

    देशको कार्यकारी प्रमुखको हैसियतले जेनजी आन्दोलनको राजनीतिक र नैतिक जिम्मेवारी उनीमाथि आउँछ । तर ओलीका शब्दकोशमा ‘जिम्मेवारी’ भन्ने शब्द नै छैन । त्यहाँ अहम् मात्र बस्छ । जो आलोचनालाई पनि अपव्याख्या ठान्छ । र, जनआवाजलाई पनि षड्यन्त्रको उपज भन्छ । जस आन्दोलनको लहरले पुरानो संरचना चिरिएर आएको सुशीला कार्की नेतृत्वको सरकारलाई तिनै ओलीले आजसम्म स्वीकार गर्न सकेका छैनन् । विदेशी शक्तिले बनाएको भन्दै उनले गरेको खिसीटिउरी, राजनीतिक पराजयको कुण्ठाले भरिएको प्रतिक्रियाबाहेक केही होइन । यही हो कलियुगको कुटी जहाँ आत्मा बस्नुपर्ने थियो, त्यहाँ अहंस्थापन गरिएको छ ।

    जहाँ सार्वजनिक उत्तरदायित्व बस्नुपर्ने थियो । त्यहाँ व्यक्तिगत दम्भ शासन गरिरहेको छ । र, जहाँ जनमानसको पीडा बुझिनुपर्ने थियो, त्यहाँ सत्ता बाँच्ने प्रवृत्ति मात्रै पलाउँदैछ । गुन्डुको कुटी ध्यान र आत्मानुसन्धानको थलो हुने छैन । त्यहाँ आध्यात्मिक शान्तिको होइन, राजनीतिक शक्तिको न्यानो खोजिनेछ । कुटी भएकै कारणले निर्मल, निर्विकार र सत्यनिष्ठ हुने भन्ने पुरानो कल्पना अब केवल मिथकजस्तै बन्नेछ, किनकि त्यहाँ बस्नेहरू साधु होइनन् । सत्ता–साधक हुन् । त्यस कुटीभित्र अब ‘कसलाई कसरी पर्छाने’ भन्ने कौशल नै मुख्य साधना हुनेछ । ध्यानको सट्टा योजनाबद्ध नजर, चुनिएका संवाद र गुपचुप गठबन्धनको खेल चल्नेछ । राजनीति अब कुटीमै छिरेको छ ।

    जहाँ ध्यानस्थल मौनतालाई जालझेलले विस्थापित गर्छ । र, आत्मज्ञानको स्थानमा रणनीतिक बदमासी खडा हुन्छ ।कुटी बस्नेहरू उग्र हुनेछन् । उनीहरूको भाषामा कोमलता होइन, कुण्ठा र प्रतिस्पर्धाको ताप मिसिएको हुनेछ । आफ्नै छायामै आफ्नो प्रतिमा बनाउने, अरूको उज्यालोलाई कालो देखाउने, र आफूलाई नै ‘देशको एकमात्र विकल्प’ साबित गर्ने उन्माद यही त्यहाँको ‘ध्यान’ हुनेछ । त्यहाँ जनताका चिन्ता होइन, जनतालाई कसरी झुक्याउने भन्ने कलाको अभ्यास हुनेछ ।

    चिप्ला नारा, फूलबुट्टा भरिएका शब्द, सस्तो भावुकतालाई ‘लोकप्रियता’कोे रंग लगाइनेछ । गुन्डुको कुटी यसरी राजनीतिक नाटकको रंगमञ्चमा रूपान्तरण हुँदै छ । जहाँ आत्मा होइन, मुखुण्डोहरू बदलिन्छन् । सत्य होइन, रणनीति बोल्छ । र, जनताको विश्वास होइन, राजनीतिक स्वार्थ ध्यानस्थल हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट