कहिलेकाहीँ चलचित्रसँग सम्वद्ध उरन्ठेउला बैंशालु गीत सुनिपाउँदा गम्भीर प्रकृतिका समसामयिक विषयमा जोडेर चर्चा गर्न पनि साह्रै मजा आउँदो रहेछ । यो मजा त मेरो कुरा भयो, यदि अरुलाई पनि मलाई जस्तै मजा लागेको खण्डमा सुनमा सुगन्ध थपिएजस्तै हुनेथियो ।
अनयासै रिमोट ह्याङ् भएर समाचारको सट्टा टिभिका कुनै संगीतमालामा आँखा लाग्दा पुरानो सदृश्य गीत बज्यो । आजकलको ढलेँ-ढलेँ गीतमा झैँ चलचित्रकी नायिका आफ्ना संगीनीहरूका बीचमा ढल्दै गीत गाइन्- ‘किन मन हुन्छ चञ्चल हो..हो, म त लडेँ लडेँ लौन बचाऊ !’ वि.सं. २०४९ तिर प्रदर्शित गोपीकृष्ण चलचित्रको गीत रहेछ यो ।
गीतको त्यति अंश सुनेपछि रिमोटले बल्ल रोजेको टिभि च्यानलमा पुऱ्यायो । समाचार वाचनको पहिलो समाचारमा तिनले हामीलाई नचिने पनि हामीले चिनेका अनुहार देखिए । नेता, मन्त्री, पुलिस, प्रशासक, बैंकर्स सबका सब अनुहार आए । सबैका बारेमा जनमानसमा त राम्रै छाप थियो, तर उनीहरू त आर्थिक अपराधमा संलग्न भइ राष्ट्रलाई ठगी गरेको आरोपमा पो नराम्रो छाप छर्दै टिभिमा छाएका रहेछन् । पढेलेखेका विद्वान् भलादमी र समाजमा उदाहरणीय लाग्ने उनीहरूले त गाँठको ठुलै तरक्की गरेको बिस्तारको समाचारले गन्ध छरेको आभाष मिल्यो ।
त्यस्ता हाटहुटे र लाटलुटे पनि लाग्दैनथे उनीहरू ! बहुत दुःख लाग्यो । त्यही माथि उल्लेखित गीत सम्झेँ । मान्छेको चञ्चले मन न हो बिग्रन र भत्किन कतिबेर लाग्छ र ! हो, गीत ठिकै सुनेछु- किन मन हुन्छ चञ्चल ! यौवनको चञ्चलता मात्र होइन मान्छेको जीवनका विविध कुरालाई लिएर पनि मान्छेको मन चञ्चल हुन्छ । मनको चञ्चलताले गर्दा त्यही कोमल मन कहाँ गएर दुर्घटनामा पर्छ थाहै हुन्न । मन दुर्घटनामा पर्दा मनको त अंगभंग खासै हुँदैन, न त मनको रातो रगत नै बहन्छ । तर जसको मन हो उही पात्रले मात्र दुर्घटनाको नालिबेली थाहा पाउँछ । अनेक पीडा दुःख सबै उसैले ब्यहोर्छ । मनलाई यथास्थितिमा राख्न मनकै मालिकले उपचारका अनेक उपाय गर्छ । कुनै मन पुर्ण निको भएर उही मन भएर बस्छ, कुनै मन घाइते भएर मरणासन्न भइ बाँचेको कथा बिर्सन्छ र फेरि चञ्चल बन्दै निहुँ खोज्दै चञ्चलताको उही पुरानो मार्गलाई पछ्याउँछ ।
जो आफूलाई स्थीर राख्न सक्दैन त्यस्तो मनले आफू त गयो-गयो, उसको मालिकलाई कहीँ न कहीँ लगेर निस्कनै नसक्ने गरी फसाउँछ । भर्खर जन्मेको नवजात शिशु क्रमशः एउटा बालक किशोर हुँदै वयस्क हुन्छ । वयस्क छउञ्जेल बाउ-आमालाई घुर्की लगाउँदै आफ्ना मनचाहे आवश्यकता पूर्ति गर्छ । यही वयस्क अवस्थामा पुगेपछि आधारभुत मागका अतिरिक्त फजुल खर्चका माग थपिन्छन् । फजुल खर्चका माग वयस्कताले सृजना गरेको अनावश्यक ब्ययभार हो । यो अतिरिक्त मागको व्यवस्थापन गर्नु भनेकै जवानीको उचित व्यवस्थापन गर्नु हो । अतिरिक्त ब्ययभार बन्दै गएको चञ्चल जवानीको उचित प्रबन्ध नगरे जन्मदाताहरूलाई थप चिन्तित बनाउँछ । त्यसैले वयस्कतालाई समयमै व्यवस्थापन गर्नु अनिवार्य छ ।
चञ्चलतालाई स्थीर गराउने उपाय सुझाउँदा अचेल योगा-स्योगाका कुरा आउँछन् । तर मनको चञ्चलताले व्यक्ति स्थीर रहन द्रब्यपिचास बन्न प्रेरित गर्दछ । परिवारलाई पुग्ने मनग्य धन सम्पति हुँदाहुँदै मनले ‘धनकाजी’ हुन चाहेपछि कस्को के लाग्छ ? कालान्तरमा धनकाजी ‘जाबो पाजी’ बन्छ भने रामराम भन्नु बाहेक सुझाउनेहरूले थप केही सुझाइरहनु पर्ला र ! प्रसिद्ध रूसी कथाकार लियो टाल्सटायले एउटा गज्जबको कथा लेखेका छन् ।
कथाको शीर्षक छ- ‘हाउ मच ल्याण्ड डज अ म्यान नीड ?’ अर्थात्, एउटा मान्छेलाई कति जमीन चाहिन्छ ? सग्लो कथातिर जानुपर्दैन तर यस कथाको निचोड अथवा एक वाक्यको सन्देश पढेपछि लोभले नभरिएको अर्धभाँडो भरिपूर्ण हुन्छ । कथामा पहुँम नाम गरेको किसानको एउटा मात्र चिन्ता थियो । त्यो के भने उसको खेतबारी थोरै थियो । उसले सोच्थ्यो यदि मसँग पर्याप्त खेति–किसानी जमिन भैदिएको भए जीवन कति सुन्दर र सुखमय हुन्थ्यो ! त्यही सुन्दर र सुखमय जीवनको आशमा पर्याप्त जमिन खोज्दाखोज्दै एकदिन उसको मृत्यु हुन्छ । आफूसँग भएको जमीनमा ऊ कहिल्यै सन्तुष्ट हुन सकेन ।
अन्तमा मृत्युपछि ६ फिटको जमीन नै उसका लागि पर्याप्त भयो । आफूलाई पुग्दो अवस्थामा हुँदाहुँदै थप लोभी बन्नु अथवा मनलाई चञ्चल बनाउनु भनेको व्यक्तिले आफैलाई दुःखी बनाउनु हो भन्ने सन्देश टाल्सटायका पात्र किसानले दिएका छन् । जति थियो त्यही जमिनमा बिस्तारै बढोत्तरी गर्दै गएको भए किसानको जीवन उसै सुखमय र आनन्दको हुन्थ्यो । चञ्चले मनलाई किसानले रोक्न सकेको भए आफूसँग भएको सम्पत्तिबाटै सुख र सुन्दर जीवन प्राप्त गर्थ्यो ।
जसका कारण भएको पनि भोग्नै नपाइ उसले अकाल मृत्युवरण गर्न पुग्यो । टाल्सटायको दुःखी पात्र पहुँमलेजस्तै चञ्चल मनलाई नियन्त्रण गर्न नसक्दा र अतिरिक्त लोभमा फस्दा अचेल धेरै नेपाली मनुवाका जीवन पनि जिउँदै मरेतुल्य दखिन्छन् । अचेल हाम्रो नेपालमा घण्टा-घण्टामा समाचार जन्मिन भन्दा तुहिन थालेका छन् । एउटा ‘हट न्यूज’ पढ्दानपढ्दै अर्को झन् तातो समाचार बनेर आइदिन्छ । क्षणभरमा तात्ताता समाचार हिऊँ बन्छन्, जम्छन् र मर्छन् ।
क्षणभरमै आगो ओकल्छन क्षणभरमै सेलाउँछन् त्राहीमाम बनाउँछन् हाम्रा समाचारहरू ! अनि कतिबेला के सुन्नुपर्ने हो पत्तो ठेगान केही छैन । माथिको समाचार पनि पानीको फोका जस्तै बन्यो । माया लाग्ने प्यारा मुहारहरू चिसा कोठरीमा रात बिताउन बाध्य बन्छन् । आफ्नै समाजका सुन्दर अनुहारहरू कुरुप बनेका तस्बिर पढ्नुपर्दा बढो दिक्क लाग्छ, पढियो । सुन्दर मुहारहरूले उन्नति र प्रगति गर्ने भन्दा ‘छिटो तरक्की’ गर्नेतर्फ मनलाई चञ्चल गराएपछि उनीहरूको रुप भत्कन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।
मान्छेको इमान-जमान र कर्मको धर्म-मर्मअनुसार मनलाई शान्त नराखेर हाटहुट लाटलुट गरेर छिट्टै तरक्की गर्ने चञ्चल मनहरू अचेल पश्चातापको आगोमा जल्न पुगेको देखेर आफै पोलिएको जस्तो भान हुन्छ । यदाकदा नजन्मँदै तुहिएका थुप्रै समाचार सुनेर देखेर सबभन्दा बढी मन पोल्छ । हाम्रा पठन पाठन शिक्षामा हराएका नैतिकताका पाठ जस्तै इमानको लोप हुन थालेको धेरै भैसक्यो । इमानको कमाइमा रमाउन भन्दा हरामको कमाइमा नाङ्गो नाच्नेहरूको बोलवाला समाजमा ब्याप्त भएको छ ।
जो नाङ्गो नाच्छ उसैले हर्लक्क तरक्की गर्न थालेका छन । नाङ्गाहरूको जयगान गर्ने हाम्रो समाज पनि कम्ति उत्तरदायी छैन । इमानको प्रगति र उन्नति गरोस् भन्ने कामना गर्नुभन्दा पनि रातारात फड्को मार्ने हरामहरूको अनुशरण गर्न सिकाएर आफ्ना सन्तान-सन्ततीलाई कुमार्गमा लगाउने हामी पनि कम्ति दोषभागी छैनौँ । मनको चञ्चलतालाई उछाल्ने हामी नै हौँ । राष्ट्रको सेवामा लागेका आफ्ना सन्ततीलाई पापकर्म गर्नेतर्फ कहिल्यै मन नलानु है, त्यतापट्टी मनलाई चञ्चल नबाउनु है भनेर कहिल्यै भनेनौँ । ईज्जत प्रतिष्ठाको जागीर छाडेपछि पनि पापको छायाँले लखेटिरहने र चयनको जिन्दगी जिउञ्जेल नपाउने गराउने हामी नै दोषी हौँ । समाचारले राम्रा अनुहारहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो तथा अदुअआको अनुसन्धानमा तानिएको सुनायो ।
उनीहरूको शैक्षिक पृष्ठभूमि हेर्दा साधारण सामुदायिक विद्यालयबाट शुरु गरेको अध्ययन खासै उम्दा प्रकृतिका पनि लाग्दैनथे । फेरि पनि उनीहरूको थप अध्ययनले एउटा निश्चित विषयगत विशिष्टता हासिल गर्दै राष्ट्रका निजामति जंगी प्रहरी संगठनका उच्चतम निकाय एवं वित्तिय संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको देखेर त्यस्ता प्रतिभाप्रति समाजले गौरवको अनुभुति गर्थ्यो । तर यिनै उदाहरणीय व्यक्ति एक्कासी गलत आर्थिक अपचलनको कसुरमा राज्यले नियन्त्रणमा लिँदा नेपाली आदर्श समाजको सर्वोच्च शीर नुघेर कालापत्थरमा मुण्टो घुसार्न पुग्यो ।
समाज र राष्ट्रलाई नै विशिष्ट योगदान पुऱ्याइरहेको सुपात्र केको लोभमा फंसेर त्यस्तो बदनामीको बाटो अँगाल्छ होला ? राज्यले उसैपनि चाहिँदो भन्दा धेरै दिएकै थियो । मासिक वेतनले परिवार पाल्न पढाउन र मनोरञ्जन गर्नसमेत पर्याप्त सेवा-सुविधामा कुनै कमी थिएन । तर टाल्सटायको पात्र किसानजस्तै जमिनको खोजिमा क्षितिजमा किन भौँतारिए होलान् भन्ने दुःख लाग्छ ! यो सबै मनकै चञ्चलताको प्रतिफल हो । यो मन चञ्चल बनाउने तत्व के हो भन्ने सबैलाई थाहा छ तर व्यक्त गर्दैनन् । पञ्चायतकालमा धन थुपार्न सजिलो थिएन, स्वास्नी थुपार्थे । जुन दुर्गम जिल्लामा कर्मचारी सरुवा भयो त्यहीँ स्वास्नी बनाउने-छोड्ने गर्थे र जन्मेका सन्तान उसैको जिम्मा लगाउने र भाग्ने गर्थे । बहुदल आएपछि धन थुपार्ने प्रवृत्ति आकाशियो ।
अहिले बाहिर अवैध दशवटी राख्ने घरमा एउटी देखावटी ‘रामप्यारी’ राख्ने चलन ब्याप्त छ । मान्छे स्वास्नीप्रेमी बनेपछि सुन्दर मुहारका मनहरू वशमा रहन्नन् । असन्तोषी स्वास्नी-भक्तिले मान्छेको मन स्थीर हुँदैन, चञ्चल बन्छ । स्त्री हठको अगाडि कसैको केही लाग्दैन । भित्र-बाहिर दुबैको दिल चित्त बुझाउन पऱ्यो । मासिक वेतन त केवल खानासँग खाने चटनी जस्तै खानै नपाइ सकिन्छ । यही तत्वको कारण हाम्रा मान्छेका मायालु अनुहारहरू गलत आर्जन गर्न चञ्चलताका कारण बिफरले खोपिल्टा परेका जस्ता अनुहार बनेका छन् । स्त्री तत्व कति खतरनाक रहेछ भन्दा यमराजकहाँ पुगिसकेको लोग्नेलाई असुलउपर गर्न नमिलेपछि पापको धन उसकी स्वास्नीबाट भएपनि असुलउपर गराउन भनी अनुसन्धानमा तानिनु कम्ता दुःखदायी लाग्छ ! यसले प्रष्ट बताउँछ स्वास्नीको गलत मन्त्रणाले नै लोग्नेको मनलाई चञ्चल बनायो ! अर्कोतिर नेताहरूले धूर्त मान्छेहरू खोजेर इज्जत, पद र प्रतिष्ठाका लागि चलाखी गर्न सिकाए । मातहतमा खटिनु र तालुकवाला बन्नुको मजै अर्को हुन्छ ।
अनेक हर्कत गरेर अकुत सम्पत्तिको जोहो गर्न लगाउनेहरू पनि मान्छेका मनमा चञ्चलता भर्ने अर्का तत्व हुन् । तँलाई सांसद बनाउँला, अझै अलिकति पार्टीलाई ‘सहयोग’ गऱ्यौ भने मन्त्री नै बनाउँला भन्ने आश्वासनहरू मान्छेको अनुशासन तोड्ने चञ्चल मनलाई हौसाउने बलिया तत्व हुन् । दश-पन्ध्र करोड सहयोग गर्ने बाचा गर्दै सांसद बन्ने महाशयहरू तिनै नेतालाई पनि कबोलबमोजिमको नगद नबुझाएर फन्दामा पर्दारहेछन् । नेता कति बेइमान भने उसले कबुलअनुसार सबै बुझायो भने फलानोलाई धेरै आँखा नलाउनु भन्ने आदेश दिँदारहेछन् । नत्र, अख्तियार सिआईबी लगाउने पत्रु नेताहरूले कर्मचारीतन्त्र र वित्तिय क्षेत्रका नवकुवेरहरूलाई राष्ट्रको ढुकुटी हिनामिना गरेको आरोपमा बहर डामे झैं डाम्ने गर्दछन् र छोड्छन् ।
तालुकवालाकै कूर्ची ताक्ने कारण त्यही पद-प्रतिष्ठाका लागि खाइपाइ आएको भन्दा अतिरिक्त र अकुत धन प्राप्तिमा चञ्चले बन्छ । चञ्चले पनि सांसद, मन्त्री बन्छु भन्ने अहङ्कारले त्यो मान्छे भष्म नभए को हुने हो ! अन्तमा, चञ्चलेहरूकै कारण जेन्जी विद्रोहका लागि उर्वरता मिल्यो । यिनै ‘जेन्जी’को सोझो आन्दोलनमा सरकारले नरसंहार मच्चाएको ठिक तीन महिना पुगेको छ । २३ गतेपछि २४ गते आएको हो । २३ र ५३ जना होइन पुरै ७६ जनाको ज्यान तत्कालिन सरकारले कत्लेआम गरेकै हो ।
यस्तो उत्पातपछि बनेको वर्तमान सरकार के हो के हो बुझिनसक्नुको छ । हेर्दा केही नगर्ने जस्तो तर समयको पर्खाइमा रहेको पनि छ कि जस्तो पनि लाग्छ यो सरकार ! संकेत शुभ छन् । अन्तरआत्माले भन्दा परको आत्माको बढी भरपर्ने यो सरकार कतै नेपालको नयाँ सुशासनयुक्त कठोर राजनीतिको उद्गम विन्दु त बन्ने हैन भन्ने समकालिन घटनाक्रमका बारेमा सुक्ष्म अध्ययन गरिरहेका राजनीतिक विश्लेषकहरूको आँकलन छ ।
परम्परागत शक्ति र राष्ट्रको मौलिक पहिचान कायम राख्दै निषेध रहित राजनीतिक आँगन खुलोस् । विश्लेषकहरूले आँकलन गरेजस्तै साँच्चै सुशासनले भरिपुर्ण राजनैतिक व्यवस्थाको स्थापना हुने हो भने चञ्चलेहरूले ठिकै गरेछन् भन्नु पर्ला र मन चञ्चल बनाउँदै देश लुट्नेहरूको सिको गर्दै राज्य संयन्त्रमा ढलिमलि गर्दै बसेकाहरूलाई गतिलो सबक बने त कति राम्रो हुन्थ्यो ! त्यस्तो व्यवस्था स्थापित भएर नयाँ मति र गति चञ्चले मनका सेवकहरूले देशको माया गर्ने थिए कि ! त्यसोभए त देश पुनः एकपटक स्वर्णयुगतर्फ उन्मुख हुने थियो । आशा गरौँ, प्राणभन्दा प्यारो हाम्रो देशमा यसै होस् !
प्रतिक्रिया दिनुहोस