
विश्वविख्यात दार्शनिक एरिस्टोटलले भनेका थिए-‘प्रजातन्त्र विकृत भयो भने त्यसबाट तानासाह जन्मिन्छ ।’ नेपालको राजनीतिमा प्रजातन्त्र तथा लोकतन्त्रको आवरणमा व्याप्त नेतातन्त्र र दलतन्त्रको भ्रष्टाचार, दण्डहीनता, नातावाद र कृपावादले जेनजी विद्रोह निम्तियो ।
त्यसले संघर्षशील राजनीतिक इतिहास बोकेका दलहरू असक्षम साबित भए । यसले आगामी निर्वाचनमार्फत दूरगामी प्रभावस्वरुप अनेकौँ अराजनीतिक चरित्रका पात्र र प्रवृत्ति हाबी हुने परिदृश्य अहिले हामी देखिरहेका छौँ । लोकतान्त्रिक गणतन्त्र आफैँमा उत्कृष्ट व्यवस्था हो । तर दलतन्त्रले नेपालको लोकतन्त्र कुरुप बनाएपछि आगामी निर्वाचनमार्फत अराजनीतिक चरित्रका पात्रहरूको उदय भएर लामो सङ्घर्षबाट प्राप्त भएको लोकतन्त्र कतै अराजकता र तानासाही तन्त्रमा परिणत हुने त होइन भन्ने आशंका बढाएको छ ।
लोकतन्त्र जनताद्वारा जनताकै लागि जनताले गरिने शासन व्यवस्था भए पनि नेपालको सन्दर्भमा यस विपरीत दल र तिनका नेताहरू आफ्नै राजनीतिक स्वार्थपूर्तिमा लिप्त हुँदा जनतामा त्यसको प्रत्याभूति हुन सकेन । फलस्वरूप जनतामा पुराना दलले केही गरेनन् भन्ने जर्बजस्ती नयाँ भाष्य निर्माण हुन पुग्यो । अहिले नेपाली राजनीतिमा नयाँ र पुरानो राजनीतिक दलको बीचमा भेद छुट्याउँदै पुरानालाई दुत्कार्ने प्रवृत्ति हाबी भएको छ । यो लोकतन्त्रका लागि किमार्थ शुभ संकेत होइन ।
लोकतन्त्रमा दल खोलेर आफ्ना एजेण्डामार्फत जनताबाट चुनिने सबैको संविधानप्रदत्त अधिकार हो । यही संवैधानिक व्यवस्था अनुरूप हर्क, बालेन, रवि कुलमान, सर्वेन्द्र खनाल लगायतका परिचित अनुहार आफ्नो दलमार्फत फागुन २१ को चुनावी मैदानमा होमिने गृहकार्य गरिरहेका छन् । रवि लामिछानेको रास्वपा यसअघि छोटो समयमै संसदमा चौथो शक्तिका रूपमा स्थापित भएको थियो । त्यो लोकतन्त्रकै सुन्दर र सकारात्मक पक्षकै उपज हो । रास्वपा सभापति रवि लामिछाने पनि सञ्चारकर्मी हुँदै राजनीतिमा होमिएर छोटो समयमै राजनीतिक छलाङ मारेका पात्र हुन् । यद्यपि, उनको छवि विवादित छ ।
गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरमा बालेन्द्र साह(बालेन)को उदय भयो । लामो राजनीतिक इतिहास बोकेका संगठित दलहरूको चुनावी सहकार्यलाई समेत माथ खुवाएर बालेन उल्लेख्य मतसहित मेयरमा विजयी भए । उनको जित सामान्य मेयरको रूपमा मात्रै नभएर पुराना राजनीतिक दललाई चुनौती दिने पात्रको रूपमा उदय भयो । अहिले उनै बालेनलाई नेपालको आगामी राष्ट्रिय राजनीतिमा स्थापित हुने सम्भावित पात्रका रूपमा चित्रण गर्ने गरिन्छ । आउँदो निर्वाचनमा रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा उनैलाई अघि सारेपछि उनको सम्भावित आगमनबारे अनेकौँ आङ्कलन र प्रवृत्तिबारे बहस सुरु भएको छ ।
अर्का हर्क साम्पाङ पनि गत स्थानीय तहको निर्वाचनमा पुराना दललाई हराएर धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए । उनको राजनीतिक उदयले त्यहाँको दलीय राजनीति तरङ्गित बन्न पुग्यो । अहिले उनै साम्पाङ आफ्नै नेतृत्वमा नयाँ दल खोलेर राजनीतिमा होमिएका छन् । उनले आफ्नै नेतृत्वमा दलीय सक्रियताको उद्घोष गर्दै मुलुककै पूर्वी क्षेत्रमा पुराना दलहरूको प्रभाव क्षेत्रमा धावा बोलेका छन् । उनको जनसहभागितामा आधारित श्रमदानबाट स्थानीय स्तरमा पूर्वाधार निर्माण गर्ने कार्य निकै अनुकरणयोग्य छ ।
यद्यपि, उनका स्वभावजन्य क्रियाकलाप भने बारम्बार विवादमा आइरहेका हुन्छन् । यसरी मुलुकको आगामी निर्वाचनलक्षित नयाँ पात्रहरू उदयको पूर्वसंकेत लोकतन्त्रका लागि सकारात्मक पक्ष हो । तथापि, उनीहरूको अस्वाभाविक क्रियाकलापकै कारण भोलि राजनीतिक नेतृत्वमा आए भने त्यो समग्र देशकै लागि हितकर हुनेमा भने सन्देह पैदा गरेको छ ।
अहिले अधिकांश नयाँ दलहरूमा आफ्नो राजनीतिक एजेन्डा प्रस्तुत गर्ने भन्दा पनि पुरानाले केही गरेनन् भन्दै उनीहरूलाई दुत्कार्दै आफू स्थापित हुने प्रवृत्तिले मुलुकको राजनीति अराजकतातर्फ उन्मुख भएको छ । मुलुक र जनताप्रति उत्तरदायी राजनीतिक दलले देश र जनतालाई सम्बोधन गर्ने राजनीतिक र आर्थिक एजेन्डा प्रस्तुत गर्दै निर्वाचनमार्फत जनताबाट त्यसलाई अनुमोदन गराएर सत्तामा पुग्दा कार्यान्वयन गर्ने उनीहरूको मुख्य दायित्व हो । त्यसकै लागि देश र जनता लक्षित कार्यक्रम र योजना अगाडि सारेर जनतामाझ जानुपर्ने बेलामा पुराना दल र नेताहरूलाई गाली गर्दै लोकप्रियताबाटको आड लिनु आफू र आफ्नो दलका लागि क्षणिकरुपमा लाभदायक भए पनि दीर्घकालीन रूपमा मुलुकका लागि भने क्षतिप्रद हुनेमा सबै सचेत हुुनैपर्छ ।
आगामी निर्वाचनमार्फत उदय हुने सम्भावित राजनीतिक पात्रका रूपमा हेरिएका काठमाडौँका मेयर बालेन पनि सामाजिक सञ्जालमार्फत आक्रामक, उत्तेजक र अमर्यादित अभिव्यक्ति दिएर विवादमा आइरहने पात्र हुन् । भदौ २३ र २४ को जेनजी आन्दोलनमा नेपथ्यमा रहेर उनले प्रमुख भूमिका खेलेका थिए ।जेनजी आन्दोलनको समयमा संसद् विघटन गर्न सुझाउँदै आन्दोलनकारीलाई उद्वेलित बनाएका उनले त्यसपछिको संकटपूर्ण राजनीतिक घडीमा भने आफ्नो भूमिका निर्वाह गर्न असमर्थ भए । उनलाई प्रधानमन्त्रीको प्रस्ताव आउँदा सङ्कटको सामना गर्दै जिम्मेवारी लिन तयार हुनुपर्नेमा सम्पर्कविहीन भएर जेनजी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामथ्र्य देखाउन सकेनन् ।
उनले पर्दा पछाडिबाट आन्दोलनलाई उत्तेजित बनाउन प्रमुख भूमिका खेले पनि आन्दोलन परिणाममुखी भएपछि सङ्कटको सामना गर्दै नेतृत्व नलिएर अलप हुनु भनेको गैरजिम्मेवारपनको पराकाष्ठा हो । उनले जेनजी आन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गरेका उनी त्यत्रो जनधनको क्षति भएर मुलुक राजनीतिक शून्यतामा गएको संकटपूर्ण अवस्थामा राजनीतिक नेतृत्व लिनुपर्नेमा सम्पर्कविहीन भएर पूर्णतया गैरजिम्मेवार चरित्र प्रदर्शित गरेका थिए ।
त्यसअघि बालेन सिंहदरबार जलाउने अराजक अभिव्यक्ति दिएर समेत उनी विवादमा तानिएका थिए । संयोग हो या नियोजित भदौ २४ गते सिंहदरबार जल्दा उनले दमकलसमेत नपठाएर आफ्नो विगतको विध्वंशकारी अभिव्यक्तिलाई व्यवहारबाटै प्रश्रय दिने काम गरेको आरोप छ । सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले २६ गते आफू अदालतमा आउँदा समेत आगो लागिरहेको बताउँदै अरू कसैले आगो निभाउन सहयोग नगरेको र त्यसैदिन ललितपुर महानगरका मेयरले दमकल पठाएर आगो निभाएको सार्वजनिक रूपमै बताएका छन् ।मुलुकका ऐतिहासिक महत्वका प्रशासनिक एवं न्यायिक सम्पदा भौतिक धरोहर मात्रै नभएर ती राष्ट्रको सावभौमसत्ताका प्रतीक हुन् । त्यसको रक्षा गर्नु सबै जिम्मेवार नागरिकको कर्तव्य हो ।
विद्यमान दल र नेतासँगको आवेगले राष्ट्रका अमूल्य धरोहर ध्वंस गर्ने कार्य निन्दनीय छ । यिनै पुराना दलको अक्षमता र नयाँको अराजकता दुवैले मुलुकको आगामी राजनीतिक भविष्य झनै अन्योल र कष्टप्रद हुने संकेत देखापरेको छ । लोकतन्त्रमा दल खोल्ने स्वतन्त्रता सबैलाई छ । तथापि, आम मतदाताले भ्रमवश फागुन २१ को निर्वाचनमा नयाँ राम्रो र पुराना खराब भन्ने भाष्य अनुरूप उम्मेदवार छनोट गरेमा मुलुकमा अर्को संकट निम्तिएर लोकतन्त्र खतरामा पर्ने छ ।
तसर्थ, आगामी निर्वाचनमा राजनीतिक एजेण्डाका आधारमा विवेकपूर्ण तवरले आफ्नो मतको सदुपयोग गर्दै मुलुक र लोकतन्त्र जोगाउने चुनौतीपूर्ण दायित्व सबै सचेत मतदाताका सामु खडा भएको छ ।

प्रतिक्रिया दिनुहोस