
नेपालमा राजसंस्था रहुञ्जेल देशमा सानो-ठुलो जस्तोसुकै परिस्थिति उत्पन्न भएपनि अब दरबारले के गर्ला भन्दै नेतालगायत आम नेपालीको नजर नारायणहिटी राजदरबारमा केन्द्रित हुन्थ्यो । राजाले अब के कदम चाल्छन्, के होला कसो होला भन्ने जिज्ञासा र उत्सुकताले मान्छे छट्पटिन्थे । आशाअनुरुप दरबारबाट उत्पन्न समस्याको बारेमा सम्बोधन हुन्थ्यो अथवा विज्ञप्ति जारी हुन्थ्यो वा यस्तै अन्य उपायद्वारा समस्या समाधान हुन्थे । ०३६ साल, ०४६ साल ०५९ साल र ०६२/६३ सालका घटनाहरूमा त्यस्तै भयो ।
अहिले नारायणहिटी दरबार रित्तो छ । दरबारलाई संग्रहालयमा परिणत गरिएको छ । दरबारभित्र माथि भनेजस्तै समस्या समाधान गर्ने केही–कोही नै बाँकी छैन । नारायणहिटीमा रहेको राष्ट्रिय शक्ति विदेशी दलालहरूले विदेशीकै इशारामा दिल्लीको लालकिल्लामा लगेर झुण्ड्याएका छन् । यस बारेको निकट अतीतको तितो इतिहास पङ्क्तिकारभन्दा बढी जान्ने–बुझ्ने पाठकवृन्द नै हुनुहुन्छ । अथवा भनौं, राजाबिनाको देशको अवस्थाका बारेमा सारा दुनियाँ जगजाहेर छ ! भदौ २३÷२४ पछि देशलाई अत्यन्त अप्ठेरोमा पारिएको छ । संविधान बनाउनेले नै नमानेको संविधानको धारा पनि नलगाएर ‘बडो जुक्ति लगाएर’ देशमा सरकार बनेको छ । जुक्ति लगाएर सरकार बन्नुपुर्व पहिलो शर्त नै संसद् भङ्ग गर्नुपर्ने भयो – त्यसै भयो ! र फागुन २१ मा चुनाव तोकियो । जेन्जी आन्दोलनबाट बनेको सरकारले कार्यभार सम्हालेको भोलिपल्टदेखि नै धमाधम हत्यारालाई समाउँदै जेलमा कोच्दै गर्नुको सट्टा हत्याराकै पक्षपोषणमा लाग्यो । उता सरकार बनेदेखि नै सरकारको थाप्लोमाथि छिन-छिनमा आकाशवाणीको ध्वनी सिंहदरबारको कार्यकक्षमा परावर्तन हुन थाल्यो ।
परावर्तित ध्वनीले सुशीला सरकारको दिमाग खल्बलियो र जिब्रो लर्बराउन थाल्यो । कोठरीमा हुनुपर्ने हत्यारालाई उल्टै ऐश-आरामपूर्वक कौचमा राज गराइयो । भन्छन् नि – रात रहे अग्राख पलाउँछ ! पलायो पनि अग्राख ! देख्नुहुँदैछ नि के के हुँदैछ घर–घरमा पुगेर बयान हुँदैछ ?! शर्तअनुसार बडो जुक्तिले बनेको सरकारले संसद् भङ्ग गरेकैले ‘बडो चुनाव’ गर्ने सरकारको सुर छ । तर चुनाव बिस्तारै घाँडो बन्दैछ । ‘जोगीदेखि भैंसी डराइ, भैंसीदेखि जोगी डराइ’को अवस्था चुनावका सरोकारवालाहरूको मनस्थिति छ । ‘कुत्तेका चारा खाने’ नेता भनाउँदाहरू यही डरले मालिकका पाउमा बिन्ती बिसाउन लालकिल्लामा झुण्डिएको शक्तिकेन्द्र धाउन थालेका छन् । चुनाव नेपालको हुने भारतको दिल्ली किन जानुपर्ने ? राजदुतावास नेपालमै छन् राजदूतमार्फत कुरा पुऱ्याए भैहाल्थ्यो, कुरो बुझिन्न र !
पवित्र नारायणहिटी मन्दिर मासेर लालकिल्ला आफ्नो सम्झने लालध्वज महाशयहरूले क्या गिजोल्यौ प्यारो मातृभूमिलाई ! क्या ध्वस्त बनायौ पाशुपत क्षेत्रलाई ! जन्मैदेखि स्वतन्त्र र सवाभिमानी नेपालीका भगवानरुपी राजालाई छोडेर सिमापारी गएर कस्ताका खुट्टामा ढोगभेट गर्न थाल्यौ ? किन ? कुरो बुझिन्न र ! समय संधै एकनाश हुन्न महाशयहरू ! अब के गर्ला लालकिल्लाले हेरौँला ! चुनाव गराउँछ कि तिम्रा थाप्लामा तबला बजाउँछ ‘बडो विचार’ गर्ने बेला आएको छ, कमसेकम यत्ति त बुझि राखौँ ! कठै ! ती स-साना नानीहरू पढ्दै रमाउने खेल्ने उमेरमा अकस्मात् सामाजिक सञ्जाल बन्द गरेपछि रन्थनिन पुगे । अर्कोतिर उनीहरू तीन दलीय निरंकुशताले आजित त थिए नै, झन् सरकारको मनपरीतन्त्रले वाक्क-दिक्क हुन्थे । वर्षौं लगाएर बल्लतल्ल पढ्यो,पढाई सकेपछि भविष्य नै देखिन्न । वर्षौं पढेको स्वदेशमा कामै पाउँदैन, गर्ने के ? जति सरकार बनेपनि यतापट्टी कसैले ध्यान दिएनन् ।
नेता नेताका परिवार उनका आफन्त र पार्टीका झोलेबाहेक अरुले राज्यका तर्फबाट कुनै अवसरै पाउँदैनन् । भित्रैदखि मन नपरि-नपरि भ्रष्टाचारीका पुच्छर समाउन अहिलेका पुस्ताले चाहन्नन् । विशुद्ध योग्यताको कतै कदर भएन । पैसाले किनेका योग्यता सदर भए । नाम मात्रका प्रतिष्पर्धाबाट उनकै आशेपासे र झोलेहरूलाई सेटिङ मिलाएर खुसुखुसु भित्र हुलिन्छन् ! यस्तो बेथितिबाट मन मारेका जेन्जीहरूले बिद्रोह बोले ! सरकारविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शनका माध्यमबाट झक्झकाउन खोजे । विरोध जुलुस निस्केको एकाध घण्टामै सरकारले ड्याङ्की-ड्याङ गोली ठोक्यो । अलिअलि हो’र ! शान्तिपुर्ण विरोध प्रदर्शनमा उत्रेका त्यस्ता स-साना केटाकेटीहरूको कत्लेआम गरियो । एक/दुई तीन गर्दै गन्दै जाँदा सत्ताइस घण्टामा त ७६ जना मारे । देशभर कोलाहल मच्चियो । मर्नेका बा-आमा त उसै मूर्छित भए-भए, अरु सारा नेपालीहरू आफ्नै बच्चाको हत्या भए बराबर भाव विह्वल हुँदै सबै रोए । रुने मात्र होइन बलिनधारा आँशु झारे । तत्काल त पुलिस देख्यो कि झम्टी हालौँ जस्तो जो-कसैलाई हुन्थ्यो । पुलिसका पोशाकमा ओली र लेखकका अनुहार छर्लङ्ग देखिन्थे । जनतामा आक्रोशको ज्वाला दनदनी दन्केको थियो । तथाकथित परिवर्तनकारीहरूको आडमा राजालाई ट्र्यापमा पारियो । राजा कमजोर भएपछि नेपालीहरू स्वतः निरीह बने । प्रजातन्त्र नामको ‘खान्की’मा भुलेका हामीले घरको जग खलबलिएको चालै पाएनौँ । आपसमा काटाकाट मारामार गऱ्यौं । आखिर यो हत्या हिंसा पनि अरुकै लागि रहेछ । स्वार्थीको स्वार्थ पुगेपछि आफ्नै भान्छेलाई पनि भीरबाट गुल्ट्यादिन्छ ।
अब को-को भीरबाट गुल्टिन्छन् समयले बताउला ! जनताको त्यो आक्रोश र भयानक वातावरणलाई शान्त पार्न त्यस्तै कठोर सरकार बनोस् भन्ने सारा नेपालीले कामना गरेका थिए । आक्रोश यति थियो कि, देशमा प्रचलित ऐन कानुनभन्दा परको कानुन समातेर फाँसीको सजाय दिनुपर्नेसम्म जनताको माग थियो । तर सरकारको नेतृत्व गर्नेले एकघण्टाअघि बोलेको कुरा एकघण्टा पछि नै बिर्से ! सरकारले हत्याराहरूलाई झ्याप-झ्याप समाउँदै खोरमा हाल्नुको सट्टा सिमापारीको आकाशवाणी पर्खन थाल्यो । ज्या ! जनता त हिस्सै ! जुन जोगी आएपनि कानै चिरेको ! हात्ति आयो हात्ति आयो – फुस्सा ! ती कलिला होनहार युवाहरूले बानेश्वरमा बगाएको तातो र रातो रगत सरकारमा रहेकाहरूले रेस्टरुममा फेरेको पिसाबसरह बनाए । बानेश्वरमा रगतले लतपतिएको सेतो जूत्ता सिंहदरबारको पटाँगिनीमा फुटबल खेले ।
जेन्जीहरूको विद्रोह र तिनको बलिदानबाट रातारात उथलपुथल गराएको आन्दोलनलाई ‘भदौरे जात्रा’ जत्तिको पनि महत्व दिइएन । यस्तो पृष्ठभूमिले निर्माण गरेको समयमा हामी छौँ । अझैपनि चुनाव हुन्छ भन्ने विश्वासमा केन्द्रदेखि जिल्लासम्म अनेक तिकडम र चलखेल शुरु भएका छन् । जिल्लाबाट नाम सिफारिश गरि पठाउन थालिएको छ । पार्टीमा लागेकाहरू पार्टीप्रतिको त्याग निष्ठा आदर्श र संघर्षका आधारमा उहिल्यैदेखि सिफारिस पाउन छाडेका हुन् । अहिले पनि हाल उही हो । धनले मात्र चुनाव जित्न सजिलो छैन ‘गाँठ’ निकाल्नु पर्छ गाँठ ! तब चुनाव जितिन्छ ! नामका धनप्रसादहरू गाँठबहादुरका अघि बेकार छ । त्यसैले पार्टीमा खटेका र दुःख पाएकाहरू पाखा परेका छन् । एकजना मैले राम्रै चिनेका नवलपरासीका एक मित्रले फेसबुकमा अत्यन्त भावुक हुँदै सिफारिस नपाएकोमा दुःखेसो पोखेका छन् । उनी लेख्छन्– ‘आस्था र विचार मात्र रहेनछ । नैतिक तागत पनि चाहिँदो रहेछ, राजनीतिक तागत पनि चाहिँदो रहेछ, सांस्कृतिक तागत चाहिँदो रहेछ, जनसम्बन्ध पनि चाहिँदो रहेछ त्यो मसँग छ । तर ! आर्थिक तागत पनि चाहिँदो रहेछ, त्यो पुगेन त्यसैले अपाङ्ग जस्तो महसुस भएको छु ।’ उनको यो रोदन वाहियात हो । यसको सुनवाइ उनकै गाँठवाला सहकर्मीले गर्दा कहिल्यै हुनेछैन । यो हजारौं अव्यक्त आवाजहरूको प्रतिनिधि आवाज मात्र नभै विद्रोहको क्रन्दन हो । जुन पार्टीले विद्रोह सिकायो त्यही पार्टीमा विद्रोह गुम्सिन थालेको छ ।
एकातिर यस्तो छ अर्कोतिर गाँठको अभावमा पछाडि परिने रहेछ भनेर जसोपनि गरेर गाँठ जम्मा पारेकाहरू अहिले मागेजति गाँठ बुझाउँछु टिकटको ग्यारेण्टी चाहियो भन्दै जुन पार्टीले टिकट दिन्छ उसकै ढोका ढक्ढकाउँदै जनप्रतिनिधि हुन आतुर छन् । शासन ब्यवस्थाले कुन रुप लिने हो थाहा छैन, तर धमिलो पानीमा माछा मरि पो हाल्छ कि भन्दै गाँठवालाहरूको लर्को विशेषगरी नयाँ पार्टीका खुला दैलाअगाडि देखिन थालेका छन् । दुर्भाग्य ! यसरी पद-प्रतिष्ठा हत्याउनेले देश र जनताको कहिल्यै हित गर्लान् ? गम्भीर प्रश्न खडा हुन्छ । यही शैलीले देश कसरी सुरक्षित रहला ! सोचनीय अवस्था श्रृजना भएको छ । हामी अरुको लहै-लहैमा ०४६ सालदेखि नै लाग्यौँ । ०४६ सालको परिवर्तन पनि विशुद्ध मौलिक थिएन । अर्काको बुई चढेर आएको परिवर्तन थियो ।
तथाकथित परिवर्तनकारीहरूको आडमा राजालाई ट्र्यापमा पारियो । राजा कमजोर भएपछि नेपालीहरू स्वतः निरीह बने । प्रजातन्त्र नामको ‘खान्की’मा भुलेका हामीले घरको जग खलबलिएको चालै पाएनौँ । आपसमा काटाकाट मारामार गऱ्यौं । हज्जारौं नेपाली दाजुभाइ दिदीबहिनीहरूले अरुले उचालेको भरमा अनाहकमा ज्यान गुमाए । आखिर यो हत्या हिंसा पनि अरुकै लागि रहेछ । जन्मदिने बा-आमाले आफ्ना सन्तानको माया गरेजस्तो अर्काले के गर्थ्यो ! स्वार्थीको स्वार्थ पुगेपछि आफ्नै भान्छेलाई पनि भीरबाट गुल्ट्यादिन्छ । अब को-को भीरबाट गुल्टिन्छन् समयले बताउला ! अन्तमा, अझ्झै पनि समय घर्केको छैन । उचित समय आएको छ । यो पुष महिना शाहवंशका तीन महत्वपुर्ण राजाहरू (राजा महेन्द्र, वीरेन्द्र र पृथ्वीनारायण शाह) लाई स्मरण गर्ने महिना पनि हो ।
महिना चिसो भएपनि दिन घमाइला र रमाइला छन् । यही समयमा सबैले आपसि तिक्तता भुलेर समयानुकुल र सुव्यवस्था कायम गर्ने राजसंस्थाको पुनर्स्थापना गर्न सक्यौं भने नेपाल र नेपालीको भाग्योदय हुने निश्चित छ । जानाजान लालकिल्लामा लगेर झुण्डाइएको हाम्रो तागत स्वदेशमै फर्किनेछ । र, नारायणहिटी राजदरबार हिजोको जस्तै आस्था र भरोसाको बलियो केन्द्र बन्ने निश्चित छ । यस्तो दिनको घामझैं छर्लङ्ग बुझिने कुरालाई पनि अझै हामीले बुझेनौं भने छाडा भतुवा कुकुरले पनि नपाउने दुःख हामी नेपालीले पाउनेमा कुनै शंका छैन । बेलैमा बुझ्ने हो कि !
प्रतिक्रिया दिनुहोस