आज: २०८३ बैशाख १०, बिहिबार | Thu, 23, Apr, 2026

उज्यालो भविष्यको आधार नारी


  • आक्रमण न्युज
  • २०८२ फागुन २४, आईतबार मा प्रकाशित १ महिना अघि
  • ४०२ पाठक संख्या
  • बिमला महतरा, चितवन
    यदि यस संसारमा नारी जातिको उदय नभएको भए सृष्टि कति रुखो, कठोर र विवत्स बन्थ्यो होला !

    सृष्टिको सुन्दरता, माया र जीवनको निरन्तरताको मूल स्रोत नै नारी हुन्। नारी केवल एउटा व्यक्तिमात्र होइनन्, उनी त एउटा राष्ट्रको मुहान हुन्। फ्रान्सका सम्राट नेपोलियनले भनेका थिए— “मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु।” यस भनाइले स्पष्ट पार्छ कि एउटा समृद्ध र सभ्य राष्ट्र निर्माणका लागि सुशिक्षित र सचेत आमा अनिवार्य हुन्छिन्।

    नारीको जीवनको मूल मर्म मातृत्वमा अडेको हुन्छ। उनी नौ महिना कोखमा राखेर अनेक दुःख, कष्ट र पीडा सहँदै एउटा नयाँ जीवनलाई संसारमा ल्याउँछिन्। त्यसपछि वात्सल्य प्रेमको अमृत खन्याउँदै शिशुको लालन–पालनमा समर्पित हुन्छिन्। वास्तवमा, एउटा बालकका लागि आमाको काख नै पहिलो पाठशाला हो।

    त्यही काखबाट उसले जीवनका पहिलो संस्कार, संस्कृति, नैतिकता र मानवीय मूल्य सिक्न थाल्छ। यदि आमा शिक्षित, सचेत र जागरुक छिन् भने उनले सन्तानलाई उज्यालो भविष्यतर्फ डोर्याउन सक्छिन्।

    आधा आकाश ढाक्ने नारी वर्ग अशिक्षित रहँदा राष्ट्रको आधा शक्ति नै कमजोर हुन्छ। राष्ट्रको एउटा महत्वपूर्ण अङ्ग नै अशिक्षित हुँदा सिङ्गो राष्ट्र अपाङ्गजस्तै बन्छ। तर विडम्बना, आज पनि हाम्रो समाजमा नारीलाई अबला, कमजोर वा अदना ठान्ने प्रवृत्ति पूर्ण रूपमा समाप्त भएको छैन। नारीले गरेको कामलाई फरक नजरले हेर्ने, ‘आइमाई मान्छे भएर’ भन्ने तिरस्कारपूर्ण शब्द प्रयोग गर्ने प्रवृत्ति अझै कतिपय ठाउँमा देखिन्छ।

    लामो समयसम्म पुरुषप्रधान सोचले महिलालाई केवल बच्चा जन्माउने साधनको रूपमा मात्र सीमित गर्न खोज्यो। महिलाले नेतृत्व गर्नु समाजले सहजै स्वीकार्न चाहेन। तर समय परिवर्तन भइरहेको छ। शिक्षा र चेतनाको उज्यालोले नारीहरूलाई आत्मनिर्भर बन्ने प्रेरणा दिएको छ। आजका महिलाहरू राष्ट्रको नेतृत्व तहसम्म पुग्दै समाजका पुराना सोच र सीमित मानसिकतालाई चुनौती दिइरहेका छन्।

    वास्तवमा नारी धैर्यता, सहनशीलता र साहसका जिउँदा प्रतिमूर्ति हुन्। यदि छोरीलाई बोझ नठानी शिक्षा र अवसर दिइयो भने एउटै घर मात्र होइन, समाज र राष्ट्रको मुहार नै परिवर्तन हुन सक्छ। त्यसैले नारीहरू अब कमजोर भएर बस्ने समय छैन। आफ्नो अधिकार, सम्मान र पहिचानका लागि स्वयं जागरुक बन्नु जरुरी छ।

    नारी केवल घरभित्र सीमित रहने शक्ति होइनन्, उनी नेतृत्व गर्न सक्ने सामर्थ्यवान शक्ति हुन्। घरको चौकठ पार गर्दै समाज, राष्ट्र र विश्वको नेतृत्वसम्म पुग्ने सामर्थ्य नारीमा छ।

    यस महान् अवसरमा सम्पूर्ण दिदीबहिनीहरूलाई अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।

    नारी सशक्तिकरण, शिक्षा र समानताको उज्यालोले हाम्रो समाज अझ समृद्ध बनोस्। ❤

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट