आज: २०८२ चैत्र २६, बिहिबार | Thu, 09, Apr, 2026

जुन जोगि आए पनि कानै चिरेको


  • आक्रमण न्युज
  • २०८२ चैत्र २५, बुधबार मा प्रकाशित १ दिन अघि
  • ११० पाठक संख्या
  • हक्की स्वभावका ट्रम्पले अमेरिकालाई पुनः महान बनाउने नारा लिएर सँसारको राजनीतिलाई आतंकित पारिरहेका छन् । लोकप्रीयताभन्दा कठोरताको नीतिमा विश्वास गर्ने उनले अमेरिकाका लागि निकै ठूलो जोखिम पनि मोलेका छन् । जसकारण अमेरिकी जनताले उनलाई पहिलोपटक चुनावमा जिताए, फेरि हराए र पछिल्लो समय जिताए ।

    अमेरिका विरोधी सरकार रहेको देशहरूमा धमाधम धावा बोलेर आफ्नो देश अरूको हित होइन, आफ्नै हित केन्द्रमा राख्छ भन्ने सन्देश दिन खोज्दा ट्रम्प आलोचित बनेका छन् । अमेरिका पश्चिमा सभ्यता र इशाई धर्मको संरक्षक हो भन्ने ट्रम्पको स्पष्ट सन्देश छ । त्यसैले उदारवादी धारका विपक्षीमाथि ट्रम्प आक्रामक बन्ने गर्छन् । उनीहरुलाई देशहितमा भन्दा विदेशीको हित रक्षामा लागेको अरोप लगाउँछन् । उनी अमेरिका विरोधी विदेशी सत्ताप्रति कठोर बन्दा आलोचित पनि भएका छन् । तर, ट्रम्प रोकिएका छैनन् ।

    विश्वकै विशाल देश रुसमा २६ वर्षयता भ्लादिमिर पुटिन सत्ता चलाइरहेका छन् । सोभियत संघको विघटनपछि खुम्चिएको रुसलाई फेरि पुरानै शक्तिमा फर्काउन पुटिनले सफल नेतृत्व गरे । मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद जस्ता सिद्धान्तबाट लामो समय चल्दै अएको सोभियत संघको विघटनसँगै रुस कठिन युगमा प्रवेश गरेको थियो । पुटिनले विगतमा धेरै गल्ती भएको, सँसारमा सोभियत संघलाई कसैले केही गर्न नसक्ने अहंकारका कारण क्षति भएको मात्र भनेनन् नयाँ युगतर्फ लान सिद्धान्त र नीतिमै आमूल परिवर्तन गरे ।

    राष्ट्र भनेकै नागरिक हुन् भन्ने मान्यताका साथ कार्य गरे । ७३ वर्षीय पुटिनले साइबेरियाको अथाह खनिज भण्डारभन्दा रुसका १५ करोड नागरिक महत्वपूर्ण हुन् भनी हरेक नागरिकलाई राज्यले ठूलो धन मानिरहेको सन्देश दिए । उनले रुसलाई पूर्वीय सभ्यताको देश मात्र भनेनन् पृथक संस्कृति र धर्म भएको भने । रुसको हितलाई केन्द्रमा राखेर पुटिनले युद्ध र शान्ति दुवैको रणनीति अपनाए ।

    अफगानिस्तानमा तालिवानसँगको निकटता, अफ्रिकामा रुसको बढ्दो प्रभाव देखि युक्रेन युद्धबाट यस्ता रणनीति देखिन्छन् ।
    विश्वको दोस्रो धनी देश चीनमा सी चिनफिङ १३ वर्षयता सत्तामा छन् । आधुनिक चीनमा माओपछि सर्वाधिक शक्तिशाली बनेका सीले राष्ट्रलाई केन्द्रमा राखेर कार्य गरे ।

    विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश भारतमा नरेन्द्र मोदी १२ वर्षयता प्रधानमन्त्री छन् । मोदी युगलाई भारतको राजनीतिमा नयाँ युगका रुपमा लिइएको छ । मोदीले हिन्दुत्वको सिद्धान्तको अनुयायीका रुपमा आफूलाई उभ्याएनन् मात्र भारतलाई नयाँ उचाई दिए । विश्वका हिन्दूहरुलाई हिन्दू सभ्यताप्रति अझ गर्व गर्न सक्ने बनाए मोदीले ।

    उनीमाथि धार्मिक कट्टरताको आरोप नलागेको होइन तर सांस्कृतिक राष्ट्रवादका माध्यमले विश्वभरका भारतीयलाई जोड्ने र मजबुत बनाउन सके । मोदी युगमा भारत दशौं बाट विश्वको चौंथो धनी देश बन्यो । विश्व राजनीतिमा भारत सशक्त शक्तिमा गणना भयो । ७५ वर्षीय मोदी उही जोस र जागरका साथ सक्रिय छन् जतिबेला सन् २०१४ मा ६३ वर्षको उमेरमा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । एक्काइसौं शताब्दीमा विश्वभर धेरै परिर्वतहरु भए ।

    त्यसबाट धनी र शक्तिशाली देश देखि गरिब र कमजोर देश पनि अछुतो हुन सकेनन् । फरक यति हो गरिब देशहरुमा शासनमा पात्र धेरै परिवर्तन भए प्रवृत्ति र कार्यशैलीमा कमै परिवर्तन भए । गरिबी, बेरोजगारी र भ्रष्टाचार घटेन । नेताहरु परिवर्तन भइरहे ।

    चुनावबाट निर्वाचितले पूरा कार्यकाल शासन चलाएको घटना सायदै होला । अमेरिकामा कठिनभन्दा कठिन परिस्थितिमा पनि राष्ट्रपतिहरुले चार वर्षे कार्यकाल पूरा गरेको इतिहास छ । मोनिका लिवेन्स्कीसँगको यौनकाण्डमा मुछिएपनि बिल क्लिन्टनले कार्यकाल पूरा नगरी राजीनामा दिनु परेन ।

    डोनाल्ड ट्रम्प कम उमेरका युवतीलाई यौनधन्दामा लगाउने इपिस्टिनसँग जोडिएको तथ्यहरु बाहिर आए । तर, ट्रम्प सत्तामै टिकिरहे । सी चिनफिङले संविधान नै परिवर्तन गरी राष्ट्रपतिको कार्यकाल असिमित बनाए । पुटिनले त्यही गरे । मोदी तेस्रो कार्यकाल निर्वाचित प्रधानमन्त्री छन् । सत्ताको स्थायित्वसँगै बलिया देशहरुले झन् शक्ति आर्जन गरे ।

    अमेरिका, चीन, भारत र रुस यसका उदाहरण हुन् । त्यहाँका नेताहरुले देशलाई केन्द्रमा राखेर आवश्यकता अनुसार नीति र रणनीति दुवै परिवर्तन गर्दै समृद्धि र सैन्य शक्ति दुवै हासिल गरे ।
    राजनीतिक स्थायित्वले देश कति बलियो हुन्छ भन्ने सिंगापुर उदाहरण हो । लि क्वानको स्थायी शासनबाट सिंगापुरले फड्को मार्यो। क्वानले समृद्धिसँगै देशको संस्कृति समेत मजबुत बनाइराखे ।

    राजनीतिक स्थायित्वले समृद्धि हासिल गर्दै गइरहेको अफ्रिकाको भूपरिवेष्ठित देश बोत्सवाना पनि हो । नामिबियाले पनि स्थायित्वका कारण आर्थिक फड्को मारेको छ । जुन देश नीति परिवर्तनभन्दा नेता परिवर्तनमै अल्झियो त्यो देश उभो लागेको छैन । देश हितमा नीति बनाई कार्यान्वयन पनि गर्न सक्नेहरु ओझेलमै परे ।

    नेपालमा पनि प्रधानमन्त्री बदलिइरहने क्रम चल्दै आयो । नीति परिवर्तन नहुने नेता परिवर्तन गरिरहने शैलीका कारण देश अस्थिरताको भूमरिमा परिरह्यो । पुटिनले २६ वर्ष रुसमा शासन गरिसक्दा नेपालमा २० भन्दा बढी पटक प्रधानमन्त्री परिवर्तन भइसके । राजाको ठाउँमा राष्ट्रपति राष्ट्रप्रमुख बनाउने प्रणाली आयो । तर, देशले विकासमा अपेक्षाकृत फड्को मार्न सकेन । बरु उल्टै राजनीतिक अस्थिरताको दलदल बढ्दै गयो ।

    छिमेकी भारतमा मोदी १२ वर्ष प्रधानमन्त्री हुँदा नेपालमा भने १२ पटक नै प्रधानमन्त्री फेरिइसके । मोदीको निम्तोमा वर्षैपिच्छे नयाँ नयाँ प्रधानमन्त्री दिल्ली यात्रामा जाने गरेका छन् । अर्को छिमेकी चीनमा सी चिनफिङले पनि वर्षैपिच्छे नेपालका नयाँ नयाँ प्रधानमन्त्रीलाई बेइजिङमा निम्तो गर्नुपरेको छ । न्युयोर्क पुगेर डोनाल्ड ट्रम्पसँग नेपालका फरक फरक प्रधानमन्त्रीले तस्बिर खिचाए । यसरी पात्र परिवर्तन भइरहे तर देश बनाउने नीतिमा खासै कुनै परिवर्तन आएन ।देशमा जेनजी विद्रोहपछि नेता परिवर्तनको लहर नै चलेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट