आज: २०८३ बैशाख ११, शुक्रबार | Fri, 24, Apr, 2026

रवि र बालेनको उदय


  • आक्रमण न्युज
  • २०८३ बैशाख ११, शुक्रबार मा प्रकाशित ३ घण्टा अघि
  • ८९ पाठक संख्या
  • नेपाली राजनीति अस्वाभाविक रूपमा तातेको छ । यो तातोपन कुनै वैचारिक बहसको परिणाम होइन, न कुनै स्पष्ट राष्ट्रिय एजेन्डाको घोषणा हो । यो तातोपन असन्तोष, आक्रोश र ‘सबै पुराना असफल भए’ भन्ने भावनाको राजनीतिक व्यवस्थापनबाट सिर्जित भएको हो । आज नेपाली राजनीतिमा देखिएको मूल समस्या यही हो, आक्रोशलाई समाधानको रूपमा प्रस्तुत गर्ने प्रवृत्ति ।

    दलहरूप्रति वितृष्णा स्वाभाविक हो, विगतका गल्तीहरू निर्विवाद छन् । तर, असन्तोषको विकल्प खोज्ने क्रममा देशले अझ ठूलो जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुनु खतरनाक संकेत हो । जनताको आक्रोश सही हो, तर आक्रोश आफैँमा नीति होइन, शासन प्रणाली होइन, राज्य सञ्चालनको दर्शन होइन । रवि लामिछाने र बालेन साह दुवैको उदय यसै आक्रोशको परिणाम हो । उनीहरू व्यवस्थाको उपज होइनन्, व्यवस्थाप्रतिको असन्तोषका प्रतिनिधि हुन् । यही कारण उनीहरू लोकप्रिय छन् । तर, यही कारण उनीहरू जोखिमपूर्ण पनि छन् । आक्रोशको गर्भबाट जन्मिएको राजनीति जब संस्थागत दिशाविहीन हुन्छ, तब त्यो राष्ट्रका लागि बोझ बन्छ भन्ने तथ्य इतिहासले बारम्बार देखाएको छ । रवि लामिछानेको राजनीतिक अभ्यास भावनात्मक रूपमा प्रभावशाली देखिए पनि वैचारिक रूपमा सतही छ । भ्रष्टाचारविरुद्धको नारा, पुराना दलमाथिको आक्रोश र ‘सिस्टम फेल भयो’ भन्ने निष्कर्ष उनले प्रभावकारी रूपमा प्रस्तुत गरेका छन् । तर, प्रश्न उठ्छ- सिस्टम फेल भयो भने नयाँ सिस्टम के हो ? राज्यको भूमिका के हुने ?

    अर्थतन्त्र कसरी चल्ने ? सार्वजनिक लगानी, निजी क्षेत्र, श्रम बजार, सामाजिक सुरक्षा र राष्ट्रिय उत्पादनको मोडेलबारे उनको ठोस दस्ताबेज कहाँ छ ? राज्य सञ्चालन कुनै टेलिभिजन बहस होइन, जहाँ प्रश्न सोधेर लोकप्रियता कमाउन सकियोस् । राज्य निर्णयको निरन्तर शृङ्खला हो, जहाँ प्रत्येक निर्णयले अर्को पुस्तासम्म असर पार्छ । रवि लामिछानेको राजनीतिमा अहिले निर्णयभन्दा प्रतिक्रिया बढी देखिन्छ । प्रतिक्रिया लोकप्रिय हुन सक्छ, तर नीति लोकप्रियताबाट होइन, दूर दृष्टिबाट तय हुन्छ । बालेन साहको सन्दर्भ झनै गज्जवको छ । काठमाडौं महानगरपालिकामा उनले देखाएको सक्रियता, कार्यशैली र भ्रष्टाचार विरोधी अडानले स्थानीय तहमा नयाँ ऊर्जा दिएको छ । महानगरपालिकामा प्रशासनिक कठोरता देखाउनु सजिलो हुन्छ, किनकि त्यहाँ निर्णयको दायरा सीमित हुन्छ । तर, देश जातीय, भाषिक, सांस्कृतिक, भौगोलिक र राजनीतिक विविधताले भरिएको बहु आयामिक संरचना हो । बालेन साहको सार्वजनिक अभिव्यक्ति हेर्दा उनको सोच प्रबल देखिन्छ । लोकतन्त्र व्यक्तिको होइन, संस्थाको शासन हो ।

    बालेन र रवि दुई पात्रबीच देखिएको सम्भावित गठजोड वैचारिक भन्दा भावनात्मक आधारमा उभिएको देखिन्छ । यि दुइको मिलन दर्शन होइन, आत्मियता हो भन्दा हुन्छ । यस्तो पवित्र गठ जोडले तर देश चलाउन सजिलो हुन्छ । इतिहासमा यस्ता गठ जोडहरूले सधैँ संस्थागत र स्थिरता जन्माउछ ! नेपाल दुई ठूला शक्ति भारत र चीनको बीचमा अवस्थित छ । हाम्रो अर्थतन्त्र कमजोर छ, उत्पादन आधार संकूचित छ र राज्य संस्थाहरू अझै सुदृढ भइसकेका छैनन् । यस्तो अवस्थामा बालेन र रवि सत्तामा पुग्नु भनेको राष्ट्रिय निर्णय क्षमतालाई उजागर पार्नु हो । रवि-बालेन गठजोडको सम्भावित उदयले यही कुरा जन्माएको छ । बालेन रवि गठजोड कुनै सत्ता–लोभ का लागि होइन, यो राष्ट्रको दीर्घकालीन स्थायित्वप्रतिको प्रश्न हो । अधिनायकवाद सधैँ बन्दुक बोकेर आउँदैन, कहिलेकाहीँ ताली र नाराको आडमा पनि आउँछ । जब जनता संस्थाभन्दा व्यक्तिमा भरोसा गर्न थाल्छन्, तब लोकतन्त्र मजबुत हुन्छ ।

    यही सन्दर्भमा नेपालका कम्युनिस्ट पार्टीहरूको भूमिका निर्णायक बन्छ । अलग-अलग राजनीतिक यात्राबाट आएका भए पनि कम्युनिस्ट आन्दोलनको साझा आधार स्पष्ट छ– राज्यको सक्रिय भूमिका, सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता र सामूहिक हित । तर, विगतका वर्षहरूमा यी शक्तिहरू नेतृत्वको अहंकार, गुटबन्दी र सत्ताको मोहमा फसे । परिणामस्वरूप, जनतामा निराशा बढ्यो र विकल्पको नाममा दिसाहीन राजनीति उब्जियो । कम्युनिस्ट पार्टीहरूको सहकार्य आज कुनै वैकल्पिक रणनीति होइन, ऐतिहासिक आवश्यकता हो । यो सहकार्य सिटको गणितका लागि होइन, देशलाई भावनात्मक प्रयोगशाला बन्नबाट जोगाउनका लागि हो ।

    साझा न्यूनतम कार्यक्रम, स्पष्ट वैचारिक दिशा र अनुभवी नेतृत्वको संयोजनबिना मुलुक सुरक्षित रहन सक्दैन ! रवि बालेनको उदय लोकतन्त्रको स्वाभाविक प्रक्रिया हो । यि दुइ शक्तिले आउदा दिनमा संस्थागत परिपक्वता, वैचारिक स्पष्टता र राष्ट्रिय जिम्मेवारी देखाउनुपर्छ । नत्र, त्यो नयाँपन आफैँमा बोझ बन्छ । आज नेपाल निर्णायक मोडमा उभिएको छ । आक्रोशलाई विवेकले, भावनालाई नीतिले र व्यक्तिलाई संस्थाले नियन्त्रण गर्ने कि नगर्ने भन्ने प्रश्न हाम्रो सामु छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट