
कार्तिक १५, २०८१
चितवन । तीन दशक काटेका उनलाई भेटेका जो कोहीले पनि सम्झने उनको विशेषता हुन् – पातलो शरीर, गालामा टम्म दारी, हंसिलोपन र मिलनसार स्वभाव । झण्डै डेढदशक अघिदेखि राजनीति र फार्मेसी दुई भिन्न क्षेत्रमा आफ्नो आवद्धतालाई निरन्तरता दिएका छन् उनी । भरतपुरको चौबिसकोठीबाट हस्पिटल रोड जाने सडक शुरू हुने वित्तिकै बायाँ पट्टी साँघाइ मेडिकल हलमा जो कोहीको पनि आँखा पर्छ । त्यहीँ जम्काभेट हुन्छ यी खिरिलो शरीरका दारीवाल दिनेश पौडेलसँग । बिहानदेखि बेलुका अबेरसम्म नै उनको समय त्यहीं बित्ने गरेको छ ।
राजनीतिमा पनि उत्तिकै दख्खल छन र फार्मेसी पेशामा पनि अब्बल उनी अहिलेको यो अवस्थामा त्यसै पुगेका होइनन् । जीवनको उत्तारचढाव भोगे । परिश्रम र कामको निरन्तरता अपनाए । उनलाई यहाँसम्म ल्याउन यिनै कुरा मूलमन्त्र बने जसले भरतपुर महानगरपालिका वडा नम्बर ६ इन्द्रपुरीका उनलाई संघाई मेडिकल हल मालिक बनायो।
उनको विगत र संघर्ष जति प्रेरणादायी छ परिवारको आर्थिक अवस्था भने त्यस्तो दयनीय छैन । बाबुका दुईसन्तान त्यसमध्ये पनि कान्छो छोरा दिनेशलाई पैसा र मायाको कमी हुने कुरै भएन । भरतपुर महानगरपालिकामा पुरानै बासिन्दा , आफूलाई पुग्ने खेतबारी र बाबुको सरकारी शिक्षकको जागिरले पनि उनी आर्थिक हैसियत पनि राम्रै हुने नै भयो । ‘मेरो परिवारमा मै अभाव र दबाब कहिल्यै झेल्नु परेन, मलाई अभाव भन्ने कुन चराको नाम हो त्यो बेलामा के थाहा रु तर सानैदेखि म आफै केही गर्नुपर्छ भन्ने अठोट चाहीं थियो । ’ दिनेश बाल्यकालमा फर्कन्छन ।
त्यसो त उनी अध्ययनमा पनि उत्तिकै अब्बल थिए । प्राथमिक शिक्षा प्रेमवस्ती स्कुलबाट लिएका उनको अध्ययन अब्वल थियो । त्यसैले उनको उच्च शिक्षा पढ्ने बाटो बन्यो भरतपुरको स्कुल अफ हेल्थ साइन्स । ‘त्यसपछि महिला मेडिकल फिल्ड पढ्ने सानैदेखिको मेरो ईच्छा थियो अनि भर्ना भएँ’ मेडिकल क्षेत्रमा प्रवेश गर्दाको समय उनी सम्झिन्छन । पढाईमा अब्बल उनी आफ्नो राजनीीतक इच्छा र अठोटलाई पनि अघि बढाउँदै लगे । ‘म श्री मेडिकल कलेजको नेपाल विद्यार्थी संघ, कलेज इकाईको अध्यक्ष पनि भए विद्यार्थीको समस्यामा म सधै सारथी बनिरहें’ उनी भन्छन् ।
स्कुल अफ हेल्थ साईन्सबाट १२ पास गरेपछि भने उनी भरतपुरकै श्री मेडिकल कलेजमा व्याचलर इन फार्मेसी भर्ना भए । त्यतिवेलासम्म उनले जिल्लामा राजनीतिमा समेत अलग छाप बनाईसकेका थिए । त्यसपछि उनी नेविसंघको जिल्ला उपाध्यक्ष हुंँदै अध्यक्ष पनि बने । उनी विद्यार्थी आन्दोलन , पार्टीको आन्दोलन र ०६२÷६३को आन्दोलनमा पनि उत्तिकै सक्रिय र अगुवाई गरिरहे । ‘म विद्यार्थीको ०६२÷०६३ को आन्दोलनमा नेतृत्व पंत्तिमै थिएं , मेरो कानबाट गोली गएको मलाई हिजो जस्तै लाग्छ ।‘ उनी सम्झन्छन् । व्याचलर इन फार्मेसी पढ्दा पढ्दै काम पनि गर्दै आएका उनले भरतपुरका केही निजी अस्पताल र भरतपुर सरकारी अस्पतालको फार्मेसी विभागमा काम गरेको राम्रो अनुभव पनि छ ।
फार्मासिष्ट बनिसकेका उनले भरतपुरको क्यान्सर अस्पताल अगाडि एकदशक अघि सञ्चालनमा आएको द तीर फार्मेसी, दुईबर्ष अघि चौबीस कोठीमा सञ्चालनमा आएको सांघाई मेडिकल हल र औषधिको थोक विक्रेता तीर सप्लायर्स सम्हालिरहेका छन । उनी व्यवसायमा मात्रै सक्रिय छैनन , समाजसेवामा पनि उत्तिकै सक्रिय देखिन्छन् र राजनीतिलाई पनि सँगै लगेका छन् । पार्टीले गरेको र अह्राएको जुनसुकै काम पनि उनी छुटाउंदैनन । ‘म भुकम्पमा गोर्खा राहत सामाग्री लिएर गएँ । चितवनको हरेक दुर्गम वस्तीमा स्वास्थ्य शिविर राखिन की, रक्तदान कार्यक्रम त कति गरियो कति गरियो । ’ उनी गर्वसाथ सुनाउँछन् । हाल उनी सांघाई मेडिकल हलमा बिहान सबेरै र राती अबेरसम्म आफूलाई सक्रिय गराइरहेका छन । ‘राजनीति त विशुद्ध समाजसेवा हो’, उनको बुझाइ छ । ‘राजनीतिलाई निरन्तरता दिन र आफू बांच्न पनि व्यवसाय त गर्नै पर्यो ।’ उनले जसरी राजनीति उचाई प्राप्त गरे त्यतिनै फार्मेसी व्यवसायमा पनि फड्को मारेका छन । यस क्षेत्रमा लागे पछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन ।पछिल्ला दुई वर्षको अवधिमा उनको पसलमा सेवाग्राहीको संख्या बढ्दै गएको छ । दैनिक दुई सयभन्दा बढी सेवाग्राही उनकोमा औषधि किन्न पुग्छन् । जुनसुकै कम्पनी र जुनसुकै बिरामीका लागि औषधि एकै ठाउंँमा पाइने भएकोले पनि भीड हुने गरेको दिनेशको बुझाइ छ ।
‘बिरामीले खोजेकै ब्राण्डमा आौषधि दिन्छौं , त्यसले पनि धेरैलाई आकर्षित गरेको छ ।डाक्टरले जुन ब्राण्डको औषधि लेख्छन, बिरामीले त्यही ब्राण्डको खोज्नुहुन्छ, हामी बिरामीले खोजेकै औषधि दिन्छौं ।” दिनेश भन्छन् । यही विशेषताले गर्दा थाईराईड, उच्च रक्तचाप, मधुमेह लगायतका दीर्घरोगको नियमित औषधि खानेहरु पाँच सय जनाभन्दा बढी साङ्घाईका नियमित सेवाग्राही भएको उनको दाबी छ ।
बिहान ६ बजेदेखि राती १० बजेसम्म सेवा दिने साङ्घाईमा आएपछि यो औषधि पाईदैन भन्ने नभएकै कारण आफूलाई सफलता मिलेको दिनेशको अनुभव छ । ‘म अरुले खोल्नुभन्दा अघि पसल खोल्छु, अरुले बन्द गरेपछि मात्र पसल बन्द गर्छु’ उनी व्यवसायिक भिजन र सेवा बारे प्रष्ट हुन्छन।
भरतपुर १२ स्थित श्री मेडिकल एण्ड टेक्निकल कलेजबाट बीफर्माको अध्ययन पूरा गरेपछि उनले बिसं। २०७१ सालबाट भरतपुर अस्पतालमा फर्मासिस्टको जागिर खाए । अस्पताल विकास समितिको करार पदमा रहेर उहाँले ६ वर्ष बिताए । तर मेडिकल क्षेत्रबाट आत्मसन्तुष्टि भने अहिले उनलाई मिलेको छ ।
त्यसो त दिनेशको बि।सं। २०६८ सालमा नै दर्ता भएर वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि सञ्चालनमा रहेको तिर फार्मेसी थियो । फुर्सदको समयमा आफूले हेर्ने र अन्य समयमा उनका दाजुले हेर्दै आएका तिर फार्मेसीलाई अहिले थोक पसलका रुपमा विस्तार गरेका छन ।
हाल नेपाल स्वास्थ्यकर्मी संघ चितवनको सहसचिव रहेका राजनीतिमा पनि उत्तिकै दिलचस्पी राख्छन । ‘म जति औषधिमा अपडेट राख्छु त्यति नै राजनीतिमा अपडेट छु ।’ उनी सुनाउँछन् ।
उनलाई पढ्न र काम गर्न विदेश जाने अफर नआएको होइन । तर उनले कहिल्यै विदेश जाने मन गरेनन । ‘विदेश त नलेज र घुम्न जाने ठाउंँ हो काम त आफ्नै देशमा गर्नुपर्छ ।’ देशभक्तिको भाव उनमा सहजै झल्किन्छ । हाल उनको सबै फार्मेसीमा गरी ७ जना बढीले रोजगारी पाएका छन भने २० वटा भन्दा बढी औषधि कम्पनी डिलरसीप लिएका छन उनले ।
आगामी दिनमा फार्मेसीलाई थप विस्तार गर्दै स्वदेशमा उद्यमशील र रोजगारी सिर्जना गर्ने उनको धोको छ । ‘गरे के हुंँदैन ,गर्ने नै आफ्नै देशमा हो, मर्ने पनि स्वदेशमै हो । ’उनको बुझाई छ ।
सयौं युवा दैनिक काम र मामको लागि भौतारिदै देश छोड्दा उनी राज्यप्रति पनि गुनासो राख्छन । ‘युवाशक्ति भनेको राज्यको सम्पत्ति हो । ‘हाम्रै छिमेकी भारत आर्थिक रुपमा कति अब्बल छ हामी भने झन् तल तल भएका छौं सरकारले उत्पादन गर भनेर मात्रै हुंँदैन उपभोग गर्ने लक्षित वर्गलाई पनि रोक्नु पर्छ ।’ उनको निष्कर्ष छ ।
‘दैनिक दिनेश जस्ता सयौं युवा रोजगारको लागि विदेशिएर देश रित्तिदै गएका बेला यिनको मेहनत र लगाव र ईच्छाशत्तिले देशमै अन्य युवालाई पनि केही गर्ने वातावरण प्रेरणा मिल्यो भने अवश्य पनि देशक मुहार फेरिनेमा दुईमत छैन ।’

प्रतिक्रिया दिनुहोस