कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिं सार्कीले देशलाई समृद्ध बनाउन पत्रकारिताको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को ६४औंँ वार्षिकोत्सवको अवसरमा आज धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले राज्यको चौथो अङ्गको रुपमा लिइएको पत्रकारितामा ठूलो शक्ति हुने भएकाले सही ढङ्गले कलम चलाएमा देशको समृद्धिमा सहयोग पुग्ने बताउनुभयो । राससप्रतिको जनविश्वास उहिलेदेखि अहिलेसम्म यथावत् रहेकाले सो विश्वास कायम गर्न राससको समाचार सेवा उत्कृष्ट रहेको मन्त्री सार्कीको भनाइ थियो । सूचना प्रविधिको विकाससँगै सकारात्मक र नकारात्मक कुरा देखिएकोले प्रविधिको प्रयोग गरेर पनि समृृद्धिमा लाग्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री सार्कीले राससको भवन निर्माणका लागि प्रदेश सरकारले रु ७० लाख बजेट विनियोजन गरेको सो बजेट कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो । त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वसन्तप्रसाद कोइरालाले सूचनाको हकलाई ओझेलमा राखेर प्रजातन्त्र र जनताको समृद्धि नहुने बताउनुभयो । पत्रकारिता र पत्रकारको सम्मान भएमात्रै लोकतन्त्र र प्रजातन्त्र फस्टाउने उहाँले बताउनुभयो । सूचनाको हक ओझेलमा पार्दा समृद्धि आउन नसक्ने बताउँदै उहाँले राससले आफ्नो विश्वसनीयता कायम गर्न सफल भएको बताउनुभयो । उहाँले समयक्रमसँगै भाषा, संस्कृतिको संरक्षणमा राससको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राससले नकारात्मक भन्दा सकारात्मक समाचार दिनु प्रशंसनीय रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष भरतबहादुर शाहले रासस समाचारको बैंक भएकोले राससका समाचार सत्य तथ्य र विश्सनीय हुने गरेको बताउनुभयो । उहाँले रासससहितका सञ्चार माध्ययमले कुरुति बेथितिकाविरुद्ध कलम चलाउन सुझाव दिनुभयो । कार्यक्रममा राससका उत्कृष्ट समाचारदाता तिलक ओझालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस