आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

ओलिको देवत्वकरण


  • आक्रमण न्युज
  • २०८१ फागुन २६, सोमबार मा प्रकाशित १ साल अघि
  • ५१९ पाठक संख्या
  • प्रधानमन्त्री आमजनताका अभिभावक हुन् । पदीय हिसाबले देशको अभिभावक राष्ट्रपति होलान् । तर, हाम्रोमा देशको कार्यकारी प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ । त्यसैले प्रधानमन्त्री देशका मूली हुन् । घर सपार्ने, बिगार्ने मूली पिता भएजस्तै देश सपार्ने बिगार्ने जिम्मा प्रधानमन्त्रीलाई हुन्छ । देश सपारेको जस र बिगारेको अपजस प्रधानमन्त्रीलाई नै जान्छ । त्यो जिम्मा प्रधानमन्त्रीले लिनै पर्छ ।

    अहिले देशका मूली छन्, केपी शर्मा ओली । उनलाई एमालेजनले ‘बा’ भन्ने गरेका छन् । तर, उनी एमालेजनको मात्रै ‘बा’ होइनन् । आमजनताका ‘बा’ हुन् । तर, उनै अभिभावकले कसैलाई काखा र कसैलाई पाखा गर्ने गरेका छन् । यसको केही पुष्टि पछिल्ला केही उदाहरणहरूले पुष्टि गर्छ ।

    गत माघ सात गते धरान उपमहानगरका मेयर हर्क साम्पाङ रित्तो गाग्री ल्याएर पानी माग्न संघीय राजधानी काठमाडौं आइपुगे । उनको माग थियो– वर्षौंदेखि काकाकुल धराने जनतालाई पानी देऊ ।’ जनताको मुद्दा बोकेर उनी सिंहदरबार पुगे । तर, प्रधानमन्त्री ओलीले भेट्न मानेनन् । कारण हो– उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि होइनन् ।

    यसको पुष्टि ओलीको एउटा भाषण सम्झँदा नै प्रस्ट हुन्छ । उनी २०७९ कात्तिक २५ गते धरान पुगेका थिए । त्यसबेला भनेका थिए– ‘यहाँको खानेपानीको कुरा, अब यहाँका मेयरलाई खानेपानी ले भनेर, कतिवटा घैला बोकुन्, बिचरा ! कसको घरमा खानेपानी पु¥याउन् । यहाँ त राष्ट्रिय बजेट, राष्ट्रिय योजना चाहिन्छ, नगरको बजेटले त्यो सम्भव हुँदैन । म केही भन्दिनँ अब, छान्ने बेलामा आँखा देख्नुभएन । अहिले भनेर हुन्छ ?’

    धरानका स्वतन्त्र मेयर हर्कलाई भेट नदिएका प्रधानमन्त्री ओलीले अर्का स्वतन्त्र मेयर बालेन साहमाथि पनि प्रतिशोध साधेका छन् । काठमाडौं महानगर साढे दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । जसले गर्दा प्रशासकीय कामकाज ठप्प छ । कर्मचारीले तलब समेत पाउन सकेका छैनन् । हर्कलाई भेट्न नमानेका ओलीले माघ २४ गते दुई टिकटकरलाई बालुवाटारमा स्वागत गरे । ओलीको निमन्त्रणमा टिकटकर अंशु वर्मा र मिस पवि बालुवाटार पुगे । ओलीले आफ्नो गुणगान गाउन लगाए ! उनीहरूले पनि ओलीको भक्ति गाउँदै टिकटक बनाए ! चौतर्फी विरोध भइरहेको सामाजिक सञ्जाल विधेयकको प्रशंसा गरे ।

    त्यसपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भयो । तर, उनले त्यो आलोचनाको प्रवाह नै गरेनन् । अर्को युवकलाई फेरि बालुवाटार बोलाए । ती युवकको ‘बिट बक्स’मा प्रधानमन्त्री ओली मन्त्रमुग्ध भए । ‘बिट बक्स’को साथमा ती युवकले ओलीका कामकाज र व्यक्तित्वको प्रशंसा गरे–
    सुखी नेपाली समृद्ध नेपाल, नयाँ केपी ओली देश नै बब्बाल
    केपी बा… नायक केपी बा… नायक…नायक केपी बा
    ढलेको धरहरा कसले बनायो ?…केपी बाले सुरुङ युगको सुरुवात कसले गरायो ?….केपी बाले

    बालुवाटारमा पुगेर ओलीलाई ‘बिट बक्स’ले मन्त्रमुग्ध बनाउने युवक हुन्, पोखराका अश्रान्त पहारी । उनी एमालेनिकट नेपाल युवा संघका पूर्वअध्यक्ष राजीव पहारीका छोरा हुन् । राजीव हाल एमाले केन्द्रीय सदस्य छन् र युवा इन्चार्ज पनि हुन् । मानिसलाई देवता बनाइनु र मानिस आफूले देवता बन्न खोज्नु भनेको मानिसले आफ्नो क्षमतामाथि गरेको अविश्वास र लघुताभास हो । यसबाट प्रधानमन्त्री ओली अछुतो छैनन् । यो बिन्दुबाट यथार्थ मानवीय व्यक्तित्वको मृत्यु र काल्पनिक दैवी व्यक्तित्वरोपण गरिएको हुन्छ ।

    त्यस्तै पूर्वी नेपाल अशान्त भएको एक महिना बढी भयो । ‘नो केबलकार’ पक्षधरले मन्त्रिस्तरीय वार्ताको माग गर्दै आएको छ । तर, सरकार कानमा तेल हालेर बसेको छ । भ्रष्टाचार बढेको बढ्यै छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको अनुसार १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने देशको वरियतामा १०७औँ स्थानमा छ । गत वर्ष नेपाल १०६औँ स्थानमा थियो । यता, शुसान पनि खस्किएको छ । सेनाले सुरक्षा चुनौती थपिएको स्पष्ट पारिसकेको छ । बदलिँदो क्षेत्रीय र अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिका कारण चनाखो रहनुपर्ने सेनाको विश्लेषण छ । विश्व सुरक्षा परिस्थिति बहुआयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गएको सेनाले जनाएको छ ।

    विदेशिनेको लर्का थामिएको छैन । चालु आर्थिक वर्षको ७ महिनामा झन्डै ५ लाख युवा काम खोज्दै विदेश पुगेका छन् । मूल्यवृद्धि ६ प्रतिशत नाघेको छ । नेपाली जनताले जन्मँदै ८८ हजार विदेशी ऋणको भारी बोक्नुपर्छ । डढेलोको सिजन आउँदै छ, पूर्वतयारी छैन । जनतामा निराशा बढेको छ । र, सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् । उनीहरूको मुख थुन्न सामाजिक सञ्जाल विधेयक ल्याइएको छ ।

    देशमा धेरैथरि समस्या छन् । देशको समस्या समाधान गर्ने नेता स्वयं अहिले देशको मुख्य समस्या भएका छन् । देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ बनेका छन् ।लुटेराहरूको वैधानिक समूह (राजनीतिक दल)का देश भताभुंग लथालिंग भएको छ । त्यही भताभुंग लथालिंगको गीतमा शासक मस्त छन् । प्रधानमन्त्री भने आफ्नो कुर्सी कसैले हल्लाउन नसक्ने घमण्ड गर्छन् । आफ्नो गुणगान गाउनेसँग नतमस्तक छन् । आफूलाई ‘हजुर, बक्सियोस्’ नभन्दा रिसाउँछन् ।

    अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा न नेता बदलिने छाँट छ, न त राजनीति दल । झन् नयाँ–नयाँ राजनीतिक स्वार्थ समूहको उदय भएको छ । उनीहरू सर्वश्रेष्ठ भएको भ्रम सिर्जना गर्न भक्त र भजनमण्डलीको खडा गर्छन् । भजनमण्डलीको मुख्य काम कुनै पात्रलाई देवत्वकरण गर्नु हो । अन्तः त्यस्ता व्यक्ति लोकतन्त्रकै लागि घातक हुन्छन् । विश्व राजनीतिमा यस्ता थुप्रै उदाहरण छन् । मानिसलाई देवता बनाइनु र मानिस आफूले देवता बन्न खोज्नु भनेको मानिसले आफ्नो क्षमतामाथि गरेको अविश्वास र लघुताभास हो । यसबाट प्रधानमन्त्री ओली अछुतो छैनन् । यो बिन्दुबाट यथार्थ मानवीय व्यक्तित्वको मृत्यु र काल्पनिक दैवी व्यक्तित्वरोपण गरिएको हुन्छ ।

    आफ्ना लाखौँ मानिसहरूलाई कत्लेआम गर्दै आएका आक्रान्तहरूबाट आफ्नो रक्षा गर्ने नेतृत्वलाई देवता तुल्य मान्नु अस्वाभाविक पनि हुँदैन । देवत्वकरण गर्ने अनुयायीहरूमा पनि स्वार्थ लुकेको हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट