
काठमाडौं। नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS) ले आगामी संसदीय निर्वाचन २०८२ का सन्दर्भमा सबै राजनीतिक दलहरूलाई बाल स्वास्थ्य र बाल अधिकारलाई आफ्नो निर्वाचन घोषणापत्रमा उच्च प्राथमिकताका साथ समेट्न आग्रह गरेको छ।
बालबालिकाको स्वास्थ्य, पोषण, सुरक्षित वातावरण र मानसिक विकास नै देशको दीर्घकालीन सामाजिक, आर्थिक तथा मानव विकासको आधार भएको उल्लेख गर्दै NEPAS ले राजनीतिक प्रतिबद्धतामार्फत मात्रै दिगो र स्वस्थ भविष्य निर्माण सम्भव हुने जनाएको छ ।
नेपालले बाल अधिकारसम्बन्धी महासन्धि (CRC) अनुमोदन गरिसकेको र संविधान २०७२ ले बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण तथा विकासलाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै सोसाइटीले यी प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिएको छ। साथै दिगो विकास लक्ष्य (SDGs) अन्तर्गत सन् २०३० सम्म मातृ, नवजात, शिशु तथा पाँच वर्षमुनिका बाल मृत्यु दर न्यूनीकरण, कुपोषण अन्त्य र गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य प्राप्तिका लागि स्पष्ट नीति आवश्यक रहेको बताइएको छ।
प्रेस विज्ञप्तिमा नेपालमा अझै पनि कुपोषण, नवजात तथा शिशु मृत्यु, मानसिक स्वास्थ्य समस्या, अपाङ्गता, हिंसा, बालविवाह, बालश्रम तथा स्वास्थ्य सेवामा असमान पहुँच जस्ता चुनौतीहरू विद्यमान रहेको उल्लेख छ। यस्ता समस्या गरिबी, सामाजिक–आर्थिक असमानता तथा भौगोलिक कठिनाइका कारण दुर्गम, दलित, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायका बालबालिकामा बढी देखिएको NEPAS को निष्कर्ष छ।

यसै सन्दर्भमा नेपाल पेडियाट्रिक सोसाइटीले सबै राजनीतिक दलहरूलाई आफ्नो घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारसम्बन्धी स्पष्ट प्रतिबद्धता जनाउन आग्रह गरेको छ। सो आग्रहमा बाल स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, मातृ, नवजात, शिशु तथा किशोर स्वास्थ्यमा लगानी बढाउने, कुपोषण अन्त्यका लागि बहु–क्षेत्रीय कार्यक्रम सञ्चालन गर्ने, गुणस्तरीय स्वास्थ्य सेवामा सबै बालबालिकाको समान पहुँच सुनिश्चित गर्ने, बाल हिंसा तथा बालश्रम अन्त्यका लागि कानुनी तथा संस्थागत संरचना सुदृढ गर्ने र संघ, प्रदेश तथा स्थानीय तहमा बालमैत्री नीति, योजना र बजेट सुनिश्चित गर्ने विषयहरू समावेश छन्।
NEPAS का अनुसार आजका बालबालिकामा लगानी गर्नु नै भोलिको स्वस्थ, सक्षम र उत्पादक पुस्ता निर्माण गर्ने आधार हो। सोसाइटीले निर्वाचन घोषणापत्रमार्फत बाल स्वास्थ्य र बाल अधिकारप्रति स्पष्ट, मापनयोग्य तथा कार्यान्वयनयोग्य प्रतिबद्धता जनाउन सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ।
नेपाल पेडियाट्रिक सोसाइटी (NEPAS) यस अभियानमा नीति संवाद, प्राविधिक सहयोग तथा सहकार्यका लागि सधैं तत्पर रहनेसमेत जनाएको छ।
प्रतिक्रिया दिनुहोस