
काठमाडौं । रोटरी क्लब अफ डिल्लिबजारले आफ्नो नियमित सामाजिक उत्तरदायित्वअन्तर्गत दशौँ रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। मानव जीवन रक्षाका लागि आवश्यक पर्ने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रत्येक महिनाको दोस्रो शुक्रबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
रोटरी क्लब अफ डिल्लिबजारले सामाजिक सेवाका विविध कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको सन्दर्भमा रक्तदान कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ। यस अभियानमा जिएमपिटी फाउन्डेसन, सहज फाउन्डेसन, कल्पना फाउन्डेसन, कालीभक्त फाउन्डेसन, राधा कृष्ण मन्दिर तथा रोटर्याक्ट क्लब अफ डिल्लिबजार सँग सहकार्य गर्दै मासिक रूपमा रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ।
आज सम्पन्न भएको कार्यक्रममा क्लबका अध्यक्ष प्रेम वलीको नेतृत्वमा विभिन्न पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिना, पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, सेक्रेटरी सन्ध्या राजभण्डारी, सर्भिस प्रोजेक्ट डाइरेक्टर डा. हरिकृष्ण बाँसकोटा लगायत रोटरीयनहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त रक्तदान कार्यक्रममा क्लबका सदस्यहरू मात्र नभई स्थानीय समुदायका व्यक्तिहरूले पनि उत्साहजनक रूपमा रक्तदान गरेका थिए। कार्यक्रममार्फत संकलित रगतले आकस्मिक अवस्थामा रहेका बिरामीहरूलाई जीवनदान दिन सहयोग पुग्ने विश्वास गरिएको छ।
यस प्रकारका कार्यक्रमहरूले समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै मानवीय सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
रोटरी क्लब अफ डिल्लिबजारले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ। नियमित रक्तदान कार्यक्रमले क्लबको सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।
प्रतिक्रिया दिनुहोस