
शेरबहादुर कांग्रेसका सभापति हुन् । जसरी उनको जिम्मेवारी ठूलो छ, जवाफदेहीता पनि उत्तिकै छन् । कांग्रेस फुटको सबैभन्दा प्रमुख कारक उनै शेरबहादुर देउवा हुन् ।
कांग्रेसको १३ औं र १४ औं महाधिवेशनले सभापतिमा देउवालाई निर्वाचित मात्रै गरेन, केन्द्रीय समितिमा फराकिलो बहुमत पनि दियो । केन्द्रीय समितिमा देउवालाई कांग्रेस महाधिवेशन प्रतिनिधिले दिएको तागत देउवाले कांग्रेसको बृहत्तर हितमा प्रयोग गर्न सकेनन् । हिजो गिरिजाप्रसाद र सुशिल कोइरालासँग संघर्षमा साथ दिएकाहरुको व्यवस्थापनमा देउवा व्यस्त छ ।
आफू र आफ्नाको व्यवस्थापन नै गुटको प्रबर्धन हो । देउवाले सभापति भएर सोचेनन्, गुटको नेताका रुपमा सोचे । हिजो आफू नेतृत्व नहुँदा नेतृत्वलाई जस्तोसुकै दवाव दिएर पनि लाभ लिने देउवा, पार्टीभित्रका प्रतिपक्षीसँग सधै अनुदार रहे । देउवाको यो अनुदार चरित्रले भुइँमा भएका कांग्रेसजनलाई ऊर्जा दिएन । देउवाका आसपास रहेर लाभ लिनेहरुको नाम, थर , वतन सधै एकै थियो । त्यसले सिंगो कांग्रेस जोड्न सकेन । २०७४ साल असोजमा देउवा प्रधानमन्त्री थिए । मंसिरमा चुनाव हुँदैथियो ।
माओवादीसँगको सत्ताशयरमा देउवा यत्ति अल्मलिएकै आफैविरुद्ध वामगठबन्धन बन्दै गरेको सुइँको पाएनन् २०७४ को चुनावमा कांग्रेस पराजित रह्यो । चुनाव हार्नुको मूल कारण वामगठबन्धनमात्रै थिएन । कांग्रेसको सांगठनिक शिथिलता, चरम गुटबन्दी , अलोकप्रिय नेतृत्व र एजेण्डाको अभाव हारको मुख्य कारण मान्न कांग्रेसलाई गार्हो भयो । ‘हत्याको दोषी मृतकलाई नै ठहर गरेर उम्किए’ झै गरेर कांग्रेस हारको कारण ‘वामगठबन्धन’ बताएर बस्यो । प्रतिपक्षमा बसेर संगठनलाई चलायमान बनाउनुभन्दा प्रतिपक्षी दलको नेताको हैसियतल प्राप्त ‘पदेन’ भागबण्डा लिएर देउवाले कांग्र्रेसलाई सत्ताभन्दा अलग राख्न सकेनन् ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले संसद विघटन गर्दा देउवा विघटनको पक्षमै थिए । निर्वाचनमा जाँदा कांग्रेसलाई फाइदा हुने पक्षमा थिए । राष्ट्रिय राजनीतिको परिस्थित र पार्टीभित्र प्रतिपक्षको खबरदारीले देउवालाई आन्दोलनमा होमिन बाध्य बनायो । यद्यपि आन्दोलनको मञ्चबाट पनि देउवाले चुनावकै पक्षमा अभिव्यक्ति दिइरहे । अदालतले संसद विघटन अवैध भनिदिएकै कारण उनै देउवालाई लाभ मिल्यो । प्रधानमन्त्री बन्ने अवसर प्राप्त भयो । प्रधानमन्त्री भएपछि मात्रै पार्टीको महाधिवेशन गरे । महाधिवेशनमा सत्ता र शक्तिको प्रत्यक्ष प्रयोग गरे । विरोधीलाई राज्य संयन्त्र लगाएर तर्साए । सबथोक गरेर सभापतिमा दोहोरिए ।
केन्द्रीय समितिमा अझ शक्तिशाली भए । २०७९ को चुनावमा ‘माओवादीसँग नमिले कम्युनिष्ट मिलेर कांग्रेस सक्छन्’ भन्ने भाष्य खडा गरे । माओवादीसँग स्थानीय, प्रदेश र संघको चुनावमा तालेमेल गरे । गठबन्धनकै कारण कांग्रेसको साइज त बढ्यो तर कांग्रेसीको मनोबल बढेन । समानुपातिकमा देउवाले अवसर दिएका अनुहारहरु अहिले पनि कांग्रेसजनले सम्झन चाहदैनन् । गठबन्धनको बलमा कांग्रेस पहिलो दल त बन्यो तर कांग्रेसजनले मनोबल बढाएनन् । पहिलो दल भएरपनि कांग्रेसले राजनीतिको केन्द्रमा उभ्याउन सकेन । कहिले माओवादी त कहिले एमालेलाई सरकारको नेतृत्व सुम्पेर कांग्रेस सत्ताको सहायक बन्यो । शेरबहादुर पालो कुरिरहे, छैटौंपटक प्रधानमन्त्री बन्न । जेनजी आन्दोलन देउवाका लागि व्यक्तिगत, पारिवारिक, राजनीतिक कुनै कारणले ठीक भएन ।
भौतिक आक्रमणदेखि राजनीतिक आक्रमणको केन्द्रमा देउवा रहे । भौतिक आक्रमण व्यहोरेर पनि देउवाले जेनजीलाई गाली गरेनन् । परिवर्तनका लागि भएका प्रयत्नलाई लाञ्छित गरेनन् । असोज २८ मा पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग भएको घोषणा गरेपछि देउवाप्रति फरक सार्वजनिक धारणा बनेको थियो । समयक्रममा देउवाले स्वास्थ्य लाभ लिदै गए । भेटघाट बाक्लियो । एमाले अध्यक्ष केपी ओलीसँगको संगत बढ्यो । देउवाले पार्टीको कार्यकारी शक्तिमा पुनरागमनको मोह राखे । निकटस्थहरुसँग आठौं पटक डडेल्धुराबाट चुनाव लड्ने बताए । सांसद लड्ने देउवाको मनोकांक्षा प्रकारान्तरले प्रधानमन्त्री बन्ने महत्वाकांक्षासँग जोडिएको बुझ्न गार्हो थिएन । संसद पुनःस्थापना भइहाले संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बनिहाल्छु की भन्ने देउवाको चाहना अझै जीवित छ । यतिधेरै महत्वाकांक्षा जागृह भएका बेला पार्टीभित्र उठेको बहिर्गमनको विषयलाई उनले गम्भीरतापूर्वक लिएन ।
आफैलाई मत दिएका महाधिवेशन प्रतिनिधिहरु आफैविरुद्ध उभिँदा देउवाले संवादभन्दा दाउपेचलाई महत्व दिए । ‘मैले छोड्छु भनेकै छु’ भन्नुभन्दा एक कदम अघि बढेर सहमतिका लागि बेलैमा सक्रिय भएको भए सम्भवतः आज कांग्रेस फुट्ने थिएन । देउवाले आफ्नो राजनीतिक जीवनमा धेरै जनालाई व्यवस्थापन गरे । उत्तरार्धमा आफ्नो महत्वाकांक्ष र इगो व्यवस्थापन गरेनन् । दूतहरुमा भर पर्नुभन्दा समय छँदै आफै अग्रसरता लिएको भए सायद विभाजन रोक्ने ‘सूत्र’ फेला पर्थ्यो । खैर, यसपटकलाई पार्टी फुटिसक्यो । देउवाले भनेझै भए बैशाखमा उनी नेतृत्वको कांग्रेसको महाधिवेशन हुनेछ । कांग्रेसको विधानले देउवालाई सभपाति बन्न दिदैन । उनी आफै छोड्न तयार छु भन्छन् । छोड्ने नै हो भने अब देउवाले धेरै महत्वाकांक्षा राख्नुहुँदैन । डडेल्धुरामा चुनाव लड्ने उनको नैसर्गिक विषय हो । सांसद भएपछि के गर्ने ? उनको अधिकारको कुरा हो । तर यी सबैभन्दा माथि उठेर उनले अर्को महत्वाकांक्षा राख्नुपर्छ ।
जसरी गिरिजाप्रसाद आफू रहँदै कांग्रेस एक बनाउँछु भन्थे, त्यसरी नै देउवाले कांग्रेस एकीकरणको महत्वाकांक्षा राख्नुपर्छ । देउवाका अरु महत्वाकांक्षा कांग्रेसका लागि हितकर भएनन् । ग्रेसफुल एक्जिटका लागि देउवाले नयाँ महत्वाकांक्षा राख्नुपर्छ । जसरी कांग्रेस धेरै अप्ठयारो नमानी फुट्यो, त्यति सजिलै जुट्न सक्छ । यसैपनि देउवाले आफ्नो अपमानबाहेकका सबै शर्त मानेकै थिए । कांग्रेसलाई फेरी जुटाउन देउवाले धेरै त्याग्नुपर्दैन, सत्ताको असीम मोह त्यागे हुन्छ । देउवाले नचाहँदा फुटेको कांग्रेस, देउवा चाहँदा जुट्न बेर लाग्दैन ।
प्रतिक्रिया दिनुहोस