
प्रहरी बिट हटेपछि बढ्यो सुरक्षा चिन्ता, घटनापछि स्थानीय आक्रोशित
काठमाडौं । नागेश्वर महादेव मन्दिर मा अज्ञात समूहले भेटी बाकस चोरी गरेपछि स्थानीयवासी र मन्दिर व्यवस्थापन पक्षमा त्रास फैलिएको छ। कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित उक्त मन्दिरबाट शनिबार राति लाखौँ रुपैयाँ रहेको भेटी बाकस नै चोरी भएको हो।
मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझी ले आइतबार बिहान पूजा गर्न पुगेका पुजारीले भेटी बाकस नदेखेपछि घटना बाहिर आएको जानकारी दिए। उनका अनुसार नियमित पूजा गर्ने क्रममा बाकस हराएको थाहा पाएपछि मन्दिर परिसर वरपर खोजतलास गरिएको थियो। तर कतै फेला नपरेपछि चोरी भएको पुष्टि गरिएको हो।
समितिका अनुसार उक्त बाकस महाशिवरात्रि पर्वपछि हालसम्म खोलिएको थिएन। त्यसैले बाकसभित्र करिब ८ लाखदेखि १० लाख रुपैयाँसम्म नगद रहेको अनुमान गरिएको छ। धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मन्दिरमै यसरी चोरी भएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।
घटनापछि समितिले मन्दिर क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर बनाइएकै कारण यस्तो घटना भएको आरोप लगाएको छ। मन्दिर सुरक्षाका लागि स्थापना गरिएको प्रहरी बिट गत भदौमा भएको जेनजी आन्दोलनपछि हटाइएको थियो। त्यसयता समितिले पटक–पटक प्रहरी बिट पुनःस्थापनाको माग गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो गरिएको छ।
स्थानीयवासीले प्रहरी बिट हटेपछि मन्दिर परिसर असुरक्षित बन्दै गएको र चोरी, दुर्व्यवहार तथा अपराधिक गतिविधिको जोखिम बढेको बताएका छन्। उनीहरूले धार्मिक तथा सांस्कृतिक सम्पदाको सुरक्षामा राज्य गम्भीर बन्नुपर्ने माग गरेका छन्।
उल्लेखनीय रूपमा, नागेश्वर मन्दिर लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार योजनाका क्रममा गौचरणबाट गोठाटारमा स्थानान्तरण गरिएको थियो। हाल उक्त मन्दिर राजधानीका महत्वपूर्ण धार्मिक गन्तव्यहरूमध्ये एक मानिन्छ।
प्रतिक्रिया दिनुहोस