आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

नेपाल ‘कालोसूची’ तिर उन्मुख


  • आक्रमण न्युज
  • २०८२ माघ ८, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • ३४६ पाठक संख्या
  • नेपालले गरेका क्रियाहरूको यो अमेरिकी प्रतिक्रियाले फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ‘खैरो सूची’मा रहेको नेपाल त्यसबाट निस्कनेभन्दा पनि ‘कालो सूची’मा बढ्ने दिशामा उन्मुख छ । नेपाल लामो समयदेखि कालोधन ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय निगरानी गर्ने विश्व संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को खैरो सूचीमा छ ।

    यसको अर्थ नेपाल वैध स्रोत बिनाको कालो धनको आन्तरिक कारोबार र अन्तर्राष्ट्रिय ओसारपसारमा बढी संलग्न छ र त्यसको सुक्ष्म निगरानी भैरहेको छ भन्ने हो । यो क्रम बढ्दै जाँदा अन्ततः नेपाल कालो सूचीमा चढ्ने हो । त्यो भनेको नेपाल अन्तर्राष्ट्रिय रूपमा उच्च जोखिमयुक्त राष्ट्रका रूपमा बदनाम हुनु हो । यसले अन्ततः नेपाललाई आर्थिक, सामाजिक र कूटनीतिक रूपमा गम्भीर स्थितिमा पुर्याउँछ । यतिबेला नेपाल त्यही गम्भीर संकटको डिलमा उभिएको छ ।

    यसै पनि नेपाल कूटनीतिक रूपमा एक असफल राष्ट्रका रूपमा अगाडि बढिरहेको छ । यसलाई भूराजनीतिक अवस्थिति भनेर जति नै छुट लिन खोजे पनि त्यही मात्रै पर्याप्त कारण हैन । थप कारण खोज्दा नेपालको परल राजनीतिक अस्थिरता, त्यसले गिजोलेको अन्तष्ट्र्रिय सम्बन्ध र कमजोर कूटनीतिक संयन्त्रसम्म पुग्नुपर्ने हुन्छ । नेपालको कूटनीतिक नियुक्तिमा भैरहेको अतिराजनीतिकरण त्यसको देखिने स्वरूप हो । नेपाली कूटनीतिज्ञहरू सत्तारूढ दलको राजनीतिक नियुक्ति र करिअर डिप्लोम्याट भनिने परराष्ट्र मन्त्रालयका जागिरेहरूको भागबण्डाबाट भर्ति हुन्छन् ।

    स्नातक गरेर सत्तारूढ मुखियाका आसेपासेले भएपछि राजूदूतका लागि राजनीतिक नियुक्ति पाउँने योग्यता पुग्छ । यस्तो ‘कूटनीतिक योग्यता’ भएकालाई परराष्ट्रका कर्मचारीहरूले टेरपुच्छर नै लगाउँदैनन् । जसले गर्दा यस्तो नियुक्ति पाएका राजदूतहरू या त परराष्ट्रका कर्मचारीले भनेको मान्ने लाचार छाँया हुन्छन् वा उनीहरूको असहयोगका कारण पूरै असफल हुन्छन् ।

    उता, परराष्ट्र मन्त्रालयका कर्मचारी हुने बित्तिकै पालोमा करिअर डिप्लोम्याट कोटाको राजदूत हुन पाइन्छ । त्यसमा पनि सत्तारूढ दलसँगको राजनीतिक आस्थाको प्रोक्सिमिटी र परराष्ट्रका ठूला हाकिमहरूको सेटिङमा परेर कमाउ र राम्रा देशहरूमा जाने चलखेल हुन्छ । खासगरी यस्ता चलखेलबाजहरू आफूलाई नेपाली कूटनीतिक क्षेत्रका चाणक्य नै ठान्छन् । सरकार फेरिरहने र फेरिने बित्तिकै राजदूत पनि फेर्ने कर्मकाण्डले कहिलेकाँही परराष्ट्रका सुब्बा साहेबहरू पनि नेपालका निमित्त राजदूत हुन पुग्छन् ।

    यस्तो आसेपासे राजनीतिक नियुक्ति र मुन्सिखाना कूटनीतिले ल्याउने परिणाम नै अहिलेको नेपालको गरीव अन्तर्राष्ट्रिय सम्बन्ध हो ।
    नेपालको कूटनीतिमा खासगरी चार कूटनीतिक नियोगहरू महत्वपूर्ण मानिन्छन् । तिनीहरूमा दुई छिमेकी राष्ट्र भारत र चीन अनि टाढाका शक्ति मित्र राष्ट्र अमेरिका र युरोपेली युनियन हुन् । संयुक्त राष्ट्र संघको स्थायी नियोग न्युयोर्क, पहिलो कूटनीति स्थापना गरिएको देश बेलायत र नेपाललाई धेरै सहयोग दिने जापानको लागि राजदूत त्यसपछि आँखा लाग्ने ठाउँ हुन् । लगभग यी सबैमा कोटा प्रणालीअन्तर्गत राजनैतिक नियुक्ति नै हुन्छ । गठजोडको सरकार हुने भएकाले यी देशहरूमा पनि भागबण्डा लाग्छ । परराष्ट्रकै कर्मचारी भए पनि सत्तारूढ दलका मुखियाहरूको कृपापात्र नभई त्यस्तो अवसर प्राप्त हुँदैन । पछिल्लो केही समय पटके राजदूत भएर कूटनीतिज्ञ भएका असफल राजदूतहरूले पनि ओल्टाइपल्टाइ मौका पाउँदैआएका छन् ।

    त्यस्ता राजदूतको एउटा ज्यूँदोजाग्दो अनुहार डा. शंकर शर्मा हुन् । जुनसुकै दलको सरकार आए पनि उनी पटकपटक राजदूत रहेको अमेरिका र भारतसँगको सम्बन्ध यतिबेला नाजुक मोडमा पुगेको छ । कूटनीतिक कोणबाट यी दुबै देशका नेपालका लागि अत्यन्तै सम्वेदनशील र ज्यादै महत्वपूर्ण हुन् । नेपालको कूटनीति सञ्चालन गर्ने राजनीतिक नियुक्ति खाने राजदूतहरूको हैसियत त कतिसम्म तन्नम छ भन्ने चित्र त यतिबेला परराष्ट्र मन्त्रालयमा हाजिर गरेर तलब पचाउने बेरोजगार राजदूतहरूको नकचरोपनले नै प्रष्ट हुन्छ ।

    उनीहरूलाई पछिल्लो एमाले–कांग्रेस सरकारले नियुक्त गरेको थियो । सुशीला कार्कीको अन्तरिम सरकारले फिर्ता बोलाएपछि कतिपयले सम्बन्धित देशमा औपचारिक रूपमा विदाई नै लिइसकेका थिए । परराष्ट्र मन्त्रालयले फर्कने टिकटको व्यवस्था पनि गरिसकेको थियो ।

    यही बीचमा अदालतले उनीहरूको पक्षमा अन्तरिम आदेश दियो । त्यसपछि सरकारले उनीहरूलाई व्यवस्था भएको टिकटअनुसार नै फर्केर परराष्ट्र मन्त्रालयमा हाजिर हुन आदेश दियो । केहीले राजीनामा दिए, केही लाजपचेकाहरू अझै पनि परराष्ट्रमा हाजिर बजाएर गरीव नेपालीले तिरेको कर वा विदेशीसँग लिएको ऋण चुसिरहेका छन् । यस्तै निर्लज्ज तरमाराहरू नै नेपाली राजदूतमा भर्ती भैरहेका छन् । यस्ता निर्लज्जहरूमार्फत् सञ्चालन गरिने असफल कूटनीतिको कारण आज नेपाल अन्तर्राष्ट्रय जगतमा अर्थहीन हुँदैछ ।

    परिणाम हाजिर छ, अहिले नेपालको सम्बन्ध न छिमेकी राष्ट्रहरूसँग सुमधुर छ न शक्ति राष्ट्रहरूसँग । दाता देशहरूसँगको सम्बन्ध पनि नाजुक मोडमा पुगेको छ । अझ, पछिल्लो जेनजी आन्दोलनलाई जोडेर नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप गिजोल्न थालिएको छ । नेकपा र रास्वपाबाहेकका सबैजसो ठूला राजनीतिक दलहरू यसमा विदेशीको चलखेल देखिरहेका छन् ।

    सिधै भन्न नसके पनि उनीहरूको चोरी औला भारत र अमेरिकातिरै तेर्सिएको देखिदैछ । अझ, त्यसमा पनि केपी ओली र उनको ओमाले पार्टीले त जेनजी आन्दोलन नै अमेरिकाले गराएको निस्कर्ष निकालेर नचाहिँदो जोरी खोजिरहेको छ । पछिल्लो एक दशक नेपाली राजनीति गठबन्धन सत्ताको चपेटामा छ । एजेण्डा माओवादीको छ, चालकको सिटमा ओली छन् । कांग्रेस कहिले माओवादीको, कहिले एमालेको लाचार छाँया भएको छ, कहिले उनीहरूकै वैशाखीमा उभिएको छ । सबैखाले गठजोडमा ओली र उनको ओमाले पार्टी कहिले सत्तापक्ष भएर त कहिले प्रमुख प्रतिपक्ष भएर लगभग निर्णायक छ । सरकार प्रमुख हुँदा ओली आफ्नै मनमौजी चलाउँछन्, सत्ता सहयात्री हुँदा साम, दाम, दण्ड, भेद लगाउँछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट