आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

आफ्नो देश आफै बनाऔ


  • आक्रमण न्युज
  • २०८२ बैशाख २, मंगलबार मा प्रकाशित १ साल अघि
  • ४५९ पाठक संख्या
  • ‘परदेशी’ ! यो लबज नै कति अमिलो छ १ अर्थात्, पराइको देशमा रहने र बस्ने १ आफ्नो होइन अर्काको देशमा ! आफ्नोभन्दा टाढाको देश।। परको देशमा रहने ! नेपालीको परदेशिनुको कथाव्यथा अनेक छन्, व्यक्तिपिच्छे अलग छन् । थोरै रहरले धेरै बाध्यता बोकेर परदेशिएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले परदेशिनुको पीडालाई ‘मुना मदन’ जस्तो महाकाव्य नै बनाए । जसमा वियोगान्तको ‘जड’ नै परदेशको मोह थियो, रहर थियो, लालच थियो । बेलायती फौजको व्यथा, भारतीय फौजको व्यथा धेरै भयो, अब अरबको व्यथा झनै सहन गाह्रो ! सत्य कुरो यही हो कि अमेरिका, बेलायत, युरोप, अस्ट्रेलिया, जापानको अवस्थाबाट पनि अब कोही अनभिज्ञ छैनन् । आफ्नो देशभन्दा प्यारो अरु देश कहीँ कतै हुँदैन । यही तितो सत्य हो । उच्च शिक्षा र रोजगारी अवसरको खोजीमा मात्र नभइ पछिल्लो डेढ दशकयता नेपालीहरू आफ्नो ज्यान जोगाउनकै लागि र सन्तानको भविष्य सुरक्षित राख्ने सपना र बहाना बोकेर पलायनका लागि प्रोत्साहित हुनेहरूको अकल्पनीय बाध्यात्मक धुइरो लागेको पीडादायी अवस्था देखिएको छ । निश्चय नै भोको पेट र मरेको लासले राष्ट्रियता भन्दैन । पहिले जिउने र दोस्रो शान्तिपूर्वक पेटभर खान पाउनुपर्छ । विगत डेढ दशकको हिंसात्मक युद्धले नागरिकको त्यो हक छिनिएको हो । त्यो त्रासदीपूर्ण अवस्थाले नेपालको ठुलो धनराशि र बौद्धिक उर्जा समेत पलायन भएको विडम्बनायुक्त अवस्था देशले भोगिराखेको छ ।

    उच्च शिक्षा आर्जन गर्न अमेरिका, बेलायत, अस्ट्रेलिया, युरोप आदि देशमा पुगेका र त्यहीँ राम्रो रोजगारी पाएका बाहेक अन्य मुलुकमा छरिएर रहेका नेपालीहरू अधिकांश ‘शान्ति छैन, अवसर छैन, नातावाद कृपावाद छ, भ्रष्टाचार छ, पैसा नदिनेको काम नै हुन्न, अस्थिरता र द्वन्द्वले आफ्नो र सन्तानको भविष्य छैन भन्दै पलायन हुनु परेको वा विदेशिनु परेको कारण बताउने गरेका छन् । यो सत्य हो तर प्रत्येक समर्थ नेपालीले कुनै न कुनै बहाना बनाइ आफू अनुकुल देश भएन भन्दै पलायन हुने हो भने अर्को एकाध दशकपछि नेपालको पनि अस्तित्व समाप्त हुने खतरा देखिन्छ । नेपालीहरू भारतलगायत अन्य मुलुकमा भागेका छौँ, उता भारत बिहार र उत्तर प्रदेशलगायत बंगलादेशी, पाकिस्तानी, अफगानिस्तानबाट भागेका अपराधीहरूले संसददेखि सडकसम्म डेरा जमाइसकेका छन्, उत्तरतिरको चाप पनि काम छैन । यस्तै हो भने अर्को २० वर्षमा हामी आदिवासी नेपाली आफ्नै देशमा अल्पमतमा पर्ने देखिन्छ । तराइबाट पहाडिया र त्यहाँका आदिवासी नेपालीहरूलाई लखेट्ने, लुट्ने काम भइराखेको छ । मिल्दोजुल्दो छाला (अनुहार) को फाइदा उठाएर तराईवासीको नाममा नक्कली नेपालीहरूले लुटपाट मच्चाएका छन् । हत्या, हिंसा, बलात्कार, लुट सामान्य जस्तो भएको छ । एउटा नेपालीले अर्को नेपालीलाई यो हदसम्म गिरेर लुट्ने र मार्ने गर्न सक्दैन, त्यो हाम्रो संस्कृति नै होइन । तराईवासी नेपालीको हकहितको नाममा वास्तविक तराईवासी नेपाली विस्थापित हुनुपरेको दर्दनाक अवस्था छ ।

    हामी नेपालीले गम्भीर भएर सोच्नुपर्ने कुरो के भने आफ्नो देशको तमाम विकृतिलाई हटाउने कसले र कसरी रु शिक्षित, सम्पन्न, सभ्य नागरिकले देश छोडेर पलायन हुने वा सस्तो आय आर्जनको नाममा कर्मठ, मेहनती, इमानदार युवाहरू विदेशिने अनि देशमा अशिक्षित भ्रष्ट, बेरोजगार र अपराध प्रवृत्तिका र आयातीत नक्कली नेपालीमात्र बाँकी रहने हो भने कहिले बन्छ त नेपाल ? हाम्रो दायित्व के त देशप्रति ? अरुलाई दोष थुपार्दैमा इतिहासले माफ गर्ला त हामीलाई ? संसारका विभिन्न कुनामा पुगेका छौँ, धर्म संस्कृति, भाषा, कला, साहित्य, प्रजातन्त्र मानवाधिकारको वकालत गर्छौं, तर त्यसले देशलाई केही फाइदा पुगेको छैन विदेशमा पनि नेपालीको घेरा तोडेर अन्तर्राष्ट्रियकरण गर्न सकेका छैनौँ । जहाँ पुगे पनि न्यून अल्पसंख्यक समेत नगनिएका हामी नेपालीले देशप्रति नै लगाव बढाउनु गर्व गर्न लायक देखिन्छ । फर्किएका आप्रवासी ज्येष्ठ नागरिकको अनुभव र युवाशक्तिको जोशमा एकता गऱ्यौँ भने पराइको कब्जामा पुगेको देश नेपाललाई मुक्त पारेर एक समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ । त्यसैले फर्कौं, नेपाल आमा रोइरहेकीछिन् !

    एकछिन सोचौँ त ! कति हाम्रा आमाबुबा, छोरानाति नातिनाको मुख हेर्ने रहर बोकी पिँढीमा कुरेर बसेका छन् ? तिनका पिलपिलाउँदो अनुहारबाट तपकिएका आँशुले हामीलाई पोल्दैन ? कति श्रीमती, श्रीमान् नाबालक बच्चा परदेशिएका आफ्नो मान्छे फर्कने आशामा टोलाएर बसेका छन् ? उनीहरूको मनलाई रुवाएर कस्तो भविष्य बनाउन खोज्दैछौँ हामी ? आजभोलि प्रत्येक दिन विदेशमा युवायुवतीहरूको दुखान्त घटनाहरूको समाचार आउन थालेको छ । स्वदेशमा भन्दा विदेशमा दुःख छ, हामीले भोगिसक्यौँ । सम्पत्ति त जीवन गुजाराको एउटा साधनमात्रै हो, जीवनको साधन होइन ! अकुत सम्पत्तिका बाबजुद दुःखको रूप बदलिने हो, हट्ने त होइन ! मानसिक चिन्ता, व्यवधानबाट मुक्त हुने सरल उपाय अपनत्वको नजिक हुनु हो, त्यो आफ्नो देश हो, आफ्नै समाज हो ! महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै भनेनन् ‘सुनको थैला हातको मैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दित मनले !’ हामीले जसरी आफ्नो र सन्तानको सुखको खोजीमा अभिभावकलाई तड्पाउँदै छौँ त्यति नै पीडा हामीले भोग्नुपर्ने छ जीवनभर, यो यथार्थलाई मनन गरौँ । विदेशको त चलन नै हो एकल परिवार । हामी पछि आफू एक्लो हुँदामात्रै बाउआमा सम्झिने हो भने निकै ढिलो भइसकेको हुनेछ । पश्चातापमा पर्नेछौँ हामी त्यसबेला । त्यसैले लौ फर्कौँ बेलैमा आफ्नै देश नेपाल !

    विदेशिएका हामी नेपालीले अझ विशेषगरी उच्च शिक्षा हासिल गर्नेहरूले एकपटक भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अनुशरण गरेमा नेपाल आमाले आशिष दिनेछिन् । अक्सफोर्डबाट विद्यावारिधि गरेका एक होनाहार विद्यार्थी डा. मनमोहन सिंह परदेशमै पलायन भएको भए के बन्थे होलान् ? कुनै वित्तीय संस्थाका प्रमुख वा मन्त्रालयका सल्लाहकार ? तर उनी स्वदेश फर्किए, आफ्नो विशिष्ट प्रतिभा बोकेर राष्ट्रको सेवा गरेबापत आज उनी दोस्रो गान्धीको उपनाम पाएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट