
मानिस कर्मशील प्राणी हो। काम सँगसँगै उसलाई आराम पनि उत्तिकै आवश्यक पर्छ। निद्रा नै आराम गर्ने उपयुक्त प्राकृतिक माध्यम हो तर मान्छेले आज आफ्नो प्राकृतिक जीवनशैलीमाथि खेलवाड गरिरहेको छ। सुत्ने समयमाथिको ढिलाइ आज समाजमा देखिँदै गएको एउटा चुनौतीपूर्ण र अपेक्षाकृत नयाँ अवधारणा हो। निद्रासम्बन्धी यो अवधारणा र व्यवहारलाई आज कतिपय परिवारले कुनै मतलब गरेको पाइँदैन र यो कुरालाई सामान्यीकरण गर्नेहरूको संख्या दिन र प्रतिदिन बढ्दो क्रममा छ। तपाईँहरूमध्ये कसैले पनि सामाजिक सञ्जालमा भेटिने रिल, भिडियोलगायतका डिजिटल सामग्रीहरू राति अबेरसम्म स्क्रोल गर्दै निद्रा बिथोलेर बस्ने गर्नुभएको छ रु यसो गर्नुभएको छ भने सम्झनुस्, तपाईँ पनि निद्रामाथिको ढिलाइ (रिभेन्ज बेडटाइम प्रोक्रास्टिनेसन) क्लबको सदस्य बनिसक्नुभएको छ। यस किसिमको व्यवहारलाई एउटा बानी वा प्रवृत्ति मात्र भन्न सकिँदैन। यो त आजको समाजको भयानक र महामारी रोग हो। निद्राको स्वतन्त्रता र आत्म हेरचाहमाथिको सिधै आक्रमण पनि हो। अहिलेसम्म निद्राको ढाँचा र व्यवहारको विषयमा गम्भीर र व्यापक अध्ययन भएको छैन तर भएका अध्ययनहरूलाई आधार मानेर हेर्दा किशोर र वयस्क उमेरका मानिसमा यो रोग वनमा लागेको डढेलो जस्तै व्यापक बन्दै गइरहेको छ।
हामीले देखिरहेका छौँ, संसार हरेक कुरामा अगाडि बढेको छ तर यसरी अगाडि बढ्दै गर्दा आइपर्ने खतरा र जोखिमहरूले हामीलाई पछाडि पनि त धकेलिरहेका छन्। अनेक किसिमका चिन्ता, तनाव र विचलनबाट मुक्ति पाउन मानिसले डिजिटल मनोरञ्जनको सहारा लिएको छ। वास्तवमा यो बाटो हाम्रो विचलित मनलाई सान्त्वना दिने समाधानको अस्थायी उपाय मात्र हो। यसले समस्याको दीर्घकालीनरूपमा पूर्ण समाधान दिन सक्दैन। आजको डिजिटल युगका कारण हरेकका व्यक्तिगत समय तालिका निरन्तर विचलित र प्रभावित हुँदै गएका छन्। उज्यालोको समयमा अन्य कार्य व्यस्तताले गर्दा त्यसैको क्षतिपूर्तिस्वरूप डिजिटल मनोरञ्जनका नाममा सुत्ने समयतालिकामाथि बदला लिन पुगेको छ। यसलाई डिजिटल दुनियाँले मानिसको सुत्ने समयमाथि गरेको विद्रोहका रूपमा बुझ्न सकिन्छ। त्यसैले डिजिटल मनोरञ्जनले मानव जीवनको कल्याणमाथि ठूलो खतरा निम्त्याएको छ। हाम्रो स्वायत्तता र विश्रामको भावनामाथि आगो लगाएको छ। आज हामीले नचाहेरै निद्राको बलिदान गरिरहेका छौँ। यसबाहेक राति अबेरसम्म सामाजिक सञ्जालले प्रदान गर्ने क्षणिक मनोरञ्जन र सन्तुष्टि धेरैका लागि विशुद्ध मनोरञ्जन लाग्न सक्छ तर सामाजिक सञ्जालप्रतिको आशक्ति र निद्राप्रतिको अवज्ञाले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा अनि जीवनको गुणस्तरमा गहिरो नकारात्मक परिणामहरू ल्याउन सक्छ। त्यसैले भन्न सकिन्छ, डिजिटल मनोरञ्जन मुखमा अमृत लेपन गरिएको विषले भरिएको घडा जस्तै हो।
विशेषगरी आजका किशोर र किशोरीको निद्रा डिजिटल संसारले खोसिदिएको छ। प्रविधिसँगको रात्रिकालीन गतिविधि र सामीप्यताले उनीहरूको सामान्य दिनचर्यालाई नराम्रोसँग बिथोलिदिएको छ। उनीहरूका निम्ति घर र परिवार, आफन्त, साथीभाइ भन्दा नजिकको मित्र स्मार्टफोन बन्न पुगेको छ। किशोर र किशोरीका बीच आदान–प्रदान गरिने सूचना, सन्देश र मनोरञ्जनमूलक क्रियाकलापले कुनै युद्धमा जस्तै रातभरि नै गोलावर्षा र बमबारी गरिरहेको हुन्छ। सामाजिक सञ्जालमा उपलब्ध अनलाइन खेल र श्रव्यदृश्य सामग्रीहरूको आकर्षणले उनीहरूलाई डिजिटल मनोरञ्जनले तत्कालको सन्तुष्टिको अगुवाइ गर्छ तर यसले सामाजिक सम्बन्ध र उनीहरूको प्राकृतिक निद्रा चक्रमा गम्भीर बाधा पुर्याउँछ। भनिन्छ, एक दिनको अनिद्राले नौ दिन असर गर्छ, झन् त्यसमा दैनिक अनिद्राले उनीहरूमा थकान, चिडचिडापन र संज्ञानात्मक क्षमतामा नराम्रो असर निम्त्याएको हुन्छ। साथै यसले किशोर÷किशोरीहरूको स्वस्थ आनीबानी र आत्महेरचाह गर्ने कुरामा पनि बाधा पुर्याइरहेको हुन्छ।
आजका कतिपय किशोर र किशोरीहरूका अनलाइन गृहकार्य हुने गर्छन् जो मध्यरातभित्रै पठाइसक्नुपर्ने हुन्छ। यसैका कारण उनीहरू केही हतासपन र विचलित पनि भइरहेका हुन्छन्। यही हतासपन र विचलनलाई पन्छाउन उनीहरू आफ्नो फोनलाई स्क्रोल गर्न थाल्छन्। सुरुमा एकछिन मात्र हो भनेर फोन चलाउन थाले पनि उनीहरूले रात कटेको पत्तै पाउँदैनन्। यो कुरा आजका किशोर/ किशोरीहरूको छुटाउनै नसकिने लत र प्रवृत्ति जस्तै बन्न पुगेको छ। यसरी जब उनीहरू रमाइला भिडियोहरू हेर्न, साथीहरूसँग च्याट गर्न, फोटोहरू ब्राउज गर्न थाल्छन्, तब उनीहरू गर्दै गरेको गृहकार्य पनि स्थगित गरी डिजिटल संसारमा लिप्त हुन पुग्छन्। अनि गृहकार्य बुझाउन मध्यरातको ५/१० मिनेट बाँकी रहँदा अझ उनीहरू अत्यधिकरूपमा तनावग्रस्त र विचलित हुन थाल्छन्। किशोर र किशोरी मात्र होइन, उमेर खाइसकेकाहरू पनि डिजिटल संसारमा हराएर ढिलोसम्म अनिदो बस्ने प्रचलन सामान्य जस्तै भएको छ। खासगरी मेरो व्यक्तिगत समय (मि टाइम) का नाममा नेटफ्लिक्स शृङ्खलाको सहायतामा उनीहरूले आफ्ना सयौँ साथीका घटना, कथा र गतिविधिहरू हेर्दै र सुन्दै गर्दा आफ्नो निद्रा बिथोलिरहेका छन्।
वास्तवमा मानिसको प्राकृतिक जीवनशैली र निद्रासँग बदला लिन खोजिरहेको यो प्रवृत्तिले मानिसको शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि क्षतविक्षत र तहसनहस बनाएको छ। यसैका कारण अनावश्यक तनाव सिर्जना हुने र विभिन्न किसिमका मानसिक विकृतिहरू निम्तने गर्छन्। यही ढिला सुताइ र सिलसिला बिहीन व्यवहारका कारण किशोर र किशोरीहरूले सुरुमै शिक्षक सामाजिक सम्बन्ध र आत्मपहिचानका क्षेत्रबाट दबाब महसुस गर्छन्। अनिदोपनले यी तनावलाई झनझन बढाइरहेका हुन्छन्। जसका कारण व्यक्तिमा भावनात्मक अस्थिरता सिर्जना हुन्छ र समग्र जीवनको गुणस्तरलाई घटाउने काम गर्छ। यसले आफन्त र प्रियजनहरूबीच बेवास्ता बढाउने, आक्रोश र असन्तुष्टिको भाव वृद्धि गर्ने काम मात्र गर्छ। खाना खाने समयमा परिवारको कुनै सदस्य त्यस्तो नहोस् जसले पूरै खाना खाने अवधिभर फोन नछोएको होस्। के यस्तो कुरा मोबाइल लतको अर्को बलियो उदाहरण हुन सक्दैन र ?

प्रतिक्रिया दिनुहोस