आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

स्वास्थ्यमन्त्री र देश छोडने डाक्टर


  • आक्रमण न्युज
  • २०८२ भाद्र ६, शुक्रबार मा प्रकाशित १0 महिना अघि
  • २८२ पाठक संख्या
  • गंगालाल अस्पतालका हृदय शल्यचिकित्सक डा. रामेश कोइरालाले सामाजिक सञ्जालमार्फत् राजीनामा दिएको खबरले ठूलै चर्चा पाइरहेछ । सर्वत्र चर्चा परिचर्चा व्याप्त छ । अस्पतालको डाक्टरले राजीनामा दिएको खबरको जति टिकाटिप्पणी भएको छ यसले बौद्धिक मस्तिष्क पलायन, पेशागत तीक्ष्ण व्यक्तिमा चुलिएको निराशा मात्र होइन त्यस घटनामा राजनीतिक अन्तर्य अझ बढी घुलेको रहस्य क्रमैसँग पर्दाफास हुँदैछ ।
    कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउने पटक पटक आश्वासन दिएर डा. रामेश कोइरालालाई दर्खास्त हाल्न लगाएका रहेछन् । तर अर्कै व्यक्तिलाई स्वास्थ्यमन्त्री पौडेलले नियुक्त गरेपछि पन्छाइएका डा. कोइराला आश्वासन दिनेहरुसँग सोध्न पुगेछन् । राष्ट्रिय भाउजुले तपाईंलाई होइन, अर्कैलाई नियुक्त गर्नु भनेकाले सकेनौं, लवस्तरो जवाफ दिएछन् । भाउजुको वचन पालना गर्ने अनुचरको जवाफले हृदयरोग विज्ञ कोइरालाको हृदयमै चोट परेछ । तिनको झूट, फरेब र नालायकी उत्तरबाट क्षतविक्षत बनेकाले डा. कोइराला के गर्नु र के नगर्नुको अवस्थामा पुग्ने नै भए । क्षतविक्षत हृदयको उपचार गर्ने डाक्टरको हृदय नै छियाछिया बनेपछि उनी नेपालमा नै बस्दिनँ भनेर अमेरिका पलायन गर्ने निर्णयमा पुगेछन् । २५ वर्षसम्म दिनरात काम गरेको गंगालाल अस्पतालबाटै राजीनामा दिएर आफ्नो बाटो लागेछन् । कुरोको मजबून यही हो ।
    स्वाभाविक प्रश्न उठ्छ, किन एउटा विज्ञलाई यो हदसम्म उचालेर मुण्टोसम्म उठाउन नसक्ने गरी थचारिएको होला ? डा. कोइरालाको ठाउमा तपाईं भएको भए के गर्नुहुन्थ्यो ? ए हो र भाउजुले त्यस्तो पो भन्नु भएछ भनेर आफ्नो स्वाभिमानलाई निउरमुण्टी न बनाएर अर्को पल्टको नियुक्तिको आश गरेर बस्नुहुन्थ्यो वा, म अर्को पटकमा तपाईंलाई पार्छु भन्ने जस्तो स्वास्थ्यमन्त्रीको नकच्चरो उत्तर सुनेपछि खुशीले आल्हादित बनेर हस् हजुर भनेर गलीत हुनुहुन्थ्यो ? अथवा, होनहार युवानेताहरु गगन र विश्वप्रकाशले जस्तै तपाई दुईतीन पल्टमै निरास बन्ने अवस्थामा नपुग्नुहोस्, हामी तपाईंलाई कहीं न कही सरकारी नियुक्तिमा पारेरै छाड्छौं भन्ने हुँकारकासाथ दिएको आश्वासनको विश्वासमा परेर अझै हौसिएर रोगी मुटुहरु सिउने क्रियामा लागिहाल्नु हुन्थ्यो ?
    काविल व्यक्तिले गर्ने निर्णय प्रतिबद्ध, स्वाभिमान र आइपरेका चुनौतीलाई सामना गर्ने नै हुन्छ । त्यस्तै प्रतिबद्ध, स्वाभिमानी र सबैलाई छक्क पार्ने निर्णय डा. रामेश कोइरालाले गरे । उनको निर्णय पनि ‘लथालिंग देशको भताभुंग चाला, जजस्ले सक्ला त्यसत्यसले खाला’ भन्ने मान्यता विपरित डा. भगवान कोइराला, डा शन्दुक रुइत, डा. रामकण्ठ मकाजु, डा. राजेन्द्र कोजुहरुले गरेको निर्णयकै तहको छ । भिन्नता कतिमात्र हो भने उपरोक्त डाक्टरहरुले पद इन्कार गरेर पनि स्वदेशमै कर्मशील बनेर काम गरिरहेका छन् तर पछिल्ला कोइराला भने रोजगारी खोज्न अमेरिका भासिएका छन् !
    युवा मन्त्रीले स्वास्थ्य मन्त्रालय वर्षदिन बढी सम्हाली सक्दा पनि पनि सर्वसाधारण जनता पिडितको पिडित नै छन् । स्वदेशमा काम नपाएर, पाएको ठाउँमा बाधा अवरोध भएकोले दिनहुँ योग्य डाक्टरहरु विदेश पलायन भैरहेछन् । जहाँसम्म स्वास्थ्य क्षेत्रमा चमत्कारिक परिवर्तन गर्छु भनेर गुड्डी हाँक्ने युवा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको कुरा छ, वीपी कोइराला प्रतिष्ठानमा तपाईं जस्तो काविल नेतृत्व गर्ने व्यक्तिको खाँचो छ भनेर आफैंले अगाडि सारेका व्यक्तिलाई उपकुलपति नियुक्त गर्न नसकेपछि लाचार बनेर स्वास्थ्यमन्त्रीको जागीरमा झुण्डिरहनुभन्दा राजीनामा ठोक्नुपर्ने थियो ! तर काँग्रेसका शीर्ष नेता रामचन्द्र पौडेलले भागबण्डा मिलाएर माओवादीको दयामा राष्ट्रपतिको जागीर खाने तर राजावादीले गणतन्त्रमाथि धावा बोल्दा मौन बसेर साखुल्ले बने जस्तै युवामन्त्री पौडेलले भागबण्डामा मन्त्रीको जागीर खाएको पुनरपुष्टि भएको छ ।
    बोको काटेर १० भाग लगाउने अनि खप्टिएको भाग खानेभन्दा के अर्थमा फरक भयो मन्त्रीको जागीर ? युवा नेता पदमा पुगे भने समाज रुपान्तरण गर्छन् भन्ने विश्वास बोकेकाहरुलाई स्वास्थ्यमन्त्री पौडेलले निरास पारेका छन् । मन्त्रालयको रुटिन कामभन्दा बढी एउटा माखो मार्न सकेनन् । जकडिएको स्वास्थ्य मन्त्रालय, सधै थितिमा चल्ने स्वास्थ्य प्राविधिक अहेव र नर्स भन्दा संघर्षशील भनिने यी तोर्पे युवा बुद्धिजीवीले के गरे ? राणाकालमा जागीर खाएको मन्त्री भन्दा डाक्टरहरुको मन्त्रीले डाक्टर कोइरालाले जति पनि गर्न सकेनन् । अस्थायी र निगाहमा पाएको मन्त्रीले जागीर छोड्नुपथ्र्यो, स्थायी डाक्टरले पो आँट गरेर जागीर छाड्यो !
    देशमा यतिधेरै डाक्टर छन् । बजेट छ । परियोजना छन् । स्वदेशी विदेशी सहयोग कम छैन । मन्त्रीले के गर्नुपर्छ र के गर्नु हुँदैन सम्म पनि पर्घेल्न सकेन युवापुस्ताको बहुचर्चित मन्त्रीले । यता र उता, हाइ र फाइ गरेरै, नेताको घर र शक्ति केन्द्र धाएरै केटोले कार्यकाल सक्ने भयो । भाउजुले दिइनन् , भाउजुले माल खाइन् भनी पो हिँड्छ रे । आफू मन्त्री छ, आफैं हस्ताक्षर गरेर मान्छे नियुक्त गर्छ अनि भाउजुले माल खाइन् भन्न पाइन्छ ? अरुले जे भन्छन् पदमा बसेर पनि त्यही दोहो¥याएर पपुलर होइन्छ र ? जनताको मनमा बस्न युग बदल्ने गरी काम गर्नुपर्छ मन्त्रीजी ।
    मन्त्रीको झण्डा गाडीमा हल्लाएर सफल मन्त्री होइने भए सुशीला थापा धेरै समय स्वास्थ्य मन्त्री बनेकी होइनन् र ? बीपी कोइराला अठार महिना प्रधानमन्त्री बनेपनि चर्चित छन् । स्वास्थ्यमन्त्री प्रदीप पौडेल नै हुनुपर्ने औचित्य के हो ? प्रत्यक्ष देखिने गरी दूरगामी र अल्पकालीन स्वास्थ्य अवस्था सुधारका योजना अगाडि सार र कार्यान्वयन गरेर देखाउ ! तर युवा मन्त्रीले स्वास्थ्य मन्त्रालय वर्षदिन बढी सम्हाली सक्दा पनि पनि सर्वसाधारण जनता पिडितको पिडित नै छन् । स्वदेशमा काम नपाएर, पाएको ठाउँमा बाधा अवरोध भएकोले दिनहुँ योग्य डाक्टरहरु विदेश पलायन भैरहेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट