आज: २०८२ भाद्र २७, शुक्रबार | Fri, 12, Sep, 2025

शान गुमाउदै प्रचण्ड


  • आक्रमण न्युज
  • २०८२ भाद्र २३, सोमबार मा प्रकाशित ४ दिन अघि
  • १०५ पाठक संख्या
  • नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आफ्नो विगतको जस्तो रापताप नभएको भन्दै निरीहता प्रकट गरेका थिए । उनले शान्ति प्रक्रियामा आउँदा संगठन कमजोर भएपनि त्यतिबेला बेग्लै शान रहेको तर अहिले भने सबै हराउँदै गएको स्वीकार गर्दै फेरि आन्दोलनमा जानुपर्ने बताए ।

    प्रचण्डले पार्टी निकट दलित मुक्ति मोर्चाद्वारा आयोजित कार्यक्रममा भनेका थिए,‘ हिजो जनयुद्ध गरेर शान्ति प्रक्रियामा आउँदा संगठन ठूलो नभए पनि ताप, राप, वाइसिएल र सेना थियो । म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघिपछि राखेर जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थे भन्नुस् त । अहिले त… छैन(मुख बिगार्दै)।’

    प्रचण्डको यस अभिव्यक्तिले उनी आफैँले माओवादी र आफू दुवै कमजोर भएको स्वीकार गरिसकेका छन् । विगतको प्रचण्डीय रापताप नरहेको र अहिले विस्तारै सबै धुमिल बन्दै गएर कमजोर पात्रमा सीमित हुनुपरेको यो उनको स्वीकारोक्ति थियो । यसलाई उनको गुनासो र दुखेसोको रूपमा पनि लिन सकिन्छ । तर, यसको उपज भने उनी आफैँ हुन् । माओवादीबाट विभाजित भएर गएकाहरूको भागमा पनि त्यसको केही हिस्सा परेपनि मूल नेतृत्वमा उनी आफैँ रहेकाले यसको प्रमुख भागीदार प्रचण्ड स्वयं हुन् ।

    विगतमा प्रचण्ड कुनै व्यक्ति नभएर उनी माओवादी आन्दोलनका नेतृत्वकर्ता थिए । मूल नेतृत्व भएकाले पार्टी बलियो हुँदा उनको रापताप स्वतः हुने नै भयो । तर, समयक्रममा पार्टी विभाजन र विगतका प्रतिबद्धताबाट टाढिँदै जाँदा माओवादी आन्दोलन र प्रचण्ड दुवै कमजोर बन्दै गएको सत्य हो । उनले यो कुरा अहिले आएर बल्ल महसुस गर्न थालेका छन् ।

    प्रचण्डले त्यस कार्यक्रममा विगतको आफ्नो शान फर्काउन फेरि आन्दोलन गर्नुपर्ने आवश्यकता औँल्याए । दशैं, तिहार लगायतका चाडपर्व पछि फेरि सडक तताउने उद्घोष गरे । तर, माओवादी आन्दोलनको पुनर्गठन गरी पुनः बलियो बनाउने आवश्यकता बोध गरेनन् । माओवादी आन्दोलनको उपज उनी पुष्पकमलबाट प्रचण्ड बनेका हुन् । तर, त्यही आन्दोलन पुनर्गठित गरी बलियो बनाएर आफ्नो व्यक्तित्व पूर्ववत अवस्थामा फर्काउनेतर्फ उनेको कहिल्यै ध्यान गएन ।

    माओवादी आन्दोलन कमजोर बन्दै जाँदा नेतृत्वमा रहेका उनी स्वाभाविक रूपमा कमजोर बन्दै गएको सत्यलाई उनले अझै स्वीकार गर्न सकेका छैनन् । र, त्यसमा उनको आफ्नै प्रमुख भूमिका रहेको छ । क्षमता, आवश्यकता र संयोगले उनी माओवादी आन्दोलनको नेतृत्व लिने अवसर पाए । त्यसमा पार्टीका अन्य सबै नेता कार्यकर्ताहरूको पनि महत्त्वपूर्ण भूमिका छ ।

    तर, उनको आफ्नै निषेधकारी प्रवृत्ति र दम्भकै उपज वर्तमान दुर्दशा निम्तिएकोमा उनी पक्कै जानकार छन् । तथापि, सार्वजनिक रूपमा भने उनले आफ्नो कारणले माओवादी आन्दोलनको शान हराएको भने अझै स्वीकारेका छैनन् । बरु आफूलाई केन्द्रमा राखेर प्रचण्डको मात्रै शान हराएको बताइरहेका छन् ।

    यहाँ प्रचण्ड भनेको कुनै अमुक व्यक्ति मात्रै होइन, माओवादी आन्दोलनको मूल नेतृत्व हो । उनको शान व्यक्तिगत कारणले बनेर हराएको होइन । समग्र माओवादी आन्दोलनकै ओज क्रमशः क्षयीकरण हुँदै गएपछि मात्रै प्रचण्डको शान हराएको हो । यसतर्फ अझै ध्यान नदिएर आफू आफ्नै कारणले प्रचण्ड बनेको भान हुनेगरी अभिव्यक्ति दिएर उनले आफूलाई नै प्रधान ठानेका छन् ।

    हरेक राजनीतिक आन्दोलनलाई गति दिने काम त्यसको नेतृत्वले गर्दछ । विगतमा माओवादी आन्दोलनलाई एउटा उचाइमा पु¥याउन पनि प्रचण्डको नेतृत्वकलामा महत्त्वपूर्ण भूमिका खेलेको सत्य हो । अहिले उनकै पालामा अस्तित्व रक्षाको गम्भीर संकटले थलिएको कटु यथार्थता पनि छर्लङ्ग छ ।

    त्यसैले राजनीतिक आन्दोलन र नेतृत्वको भनेको एक अर्काको परिपूरक हो । नेतृत्व सामूहिकताबाट निर्माण हुन्छ । विविध क्षमता भएका नेता कार्यकर्ताको सहकार्य र संयोजनबाट नेतृत्व निर्माण हुने हो । माओवादी आन्दोलनले प्रचण्डको नेतृत्व निर्माण ग¥यो तर त्यही आन्दोलनले आफ्ना एजेण्डा छाडेर कमजोर बन्दै गएपछि नेतृत्व पनि कमजोर बन्न पुगेको सत्यलाई स्वीकार गर्नुपर्छ । यहाँ व्यक्ति कमजोर बनेको विषय प्रमुख होइन, यी सबै माओवादी आन्दोलन कमजोर बन्दै जाँदा निम्तिएको समस्या हो ।

    यसको सामान्य हेक्का नराखी अझै उनले आफूलाई सर्वेसर्वा बनाएर आन्दोलन सहायक र नेतृत्व प्रधान भएको जसरी प्रचार गर्न थालेका छन् । उनले आफ्नै व्यक्तिगत कारणले प्रचण्ड बनेको र अहिले ओज हराउँदै गएको जसरी उनी प्रस्तुत हुनु भनेको त्यो समग्र माओवादी आन्दोलनमा योगदान दिएका कार्यकर्तामाथिको उपहास हो ।

    माओवादी आन्दोलनले आफ्नो नेतृत्वदायी व्यक्तित्व निर्माण गरेको र आन्दोलन कमजोर बनेपछि आफ्नो व्यक्तित्व पनि ह्रास हुँदै गएको कुरा उनले गम्भीरताका साथ स्वीकार गर्नुपर्छ । तब मात्रै त्यो माओवादी आन्दोलनका लागि हितकारी आत्मस्वीकारोक्ति हुन जान्छ । अन्यथा, आफ्नै कारणले निर्माण गरेको व्यक्तित्व भए जसरी कुण्ठा प्रकट गर्नु भनेको समग्र आन्दोलन भन्दा आफूलाई माथि राख्ने व्यक्तिवादी चिन्तन हो । त्यो माओवादी आन्दोलनमा सहभागी नेता कार्यकर्ताका लागि स्वीकार्य छैन ।

    जनयुद्धकालीन प्रतिबद्धताबाट विमुख भएर वर्गोत्थान भएपछि नै उनको व्यक्तित्व कमजोर बन्दै गएका हो । उनमा आएको वैचारिक स्खलनले अहिले निरीहता प्रकट गर्दै अतीतमुखी बन्नुपर्ने बाध्यात्मक अवस्था निम्तिएको छ । अर्कोतिर पार्टीभित्र दुई वैचारिक सशक्त नेताहरू बाबुराम भट्टराई र मोहन वैद्य पनि थिए । उनीहरूलाई समुचित स्थान नदिएर बाहिरिन बाध्य पारेपछि झनै प्रचण्डीय रापताप हराएर ‘धाँगो चुडिएको चंगा’ जसरी अर्तनाद गर्नुपर्ने अवस्था आएको छ ।

    विगतमा श्रमजीवी वर्गको मुद्दा बोकेर जनयुद्ध उठान गरेका प्रचण्ड शान्ति प्रकियामा प्रवेशयता अभिजात वर्गमा रूपान्तरित भए । यसले परम्परागत अभिजात वर्गले उनलाई विश्वास गरेन भने जसको बलमा माओवादी आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरे त्यो वर्गलाई चटक्कै बिर्सिए । त्यसपछि नै उनी कसैको बन्न सकेनन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट