आज: २०८२ भाद्र २७, शुक्रबार | Fri, 12, Sep, 2025

युवाको रगत मा होली खेलेर घुम्ने कुर्सिमा बस्न मिल्दैन


  • आक्रमण न्युज
  • २०८२ भाद्र २४, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • ९५ पाठक संख्या
  • प्रधानमन्त्री ओली नेतृत्वको सरकारले जेन–जी आन्दोलनमा युवाको रगत बगाएको घटनाले नेपाली समाजमा गहिरो आक्रोश र शोक छाएको छ। युवाहरूको बलिदानी अपूरणीय छ र यस घटनापछि प्रधानमन्त्रीसहित जिम्मेवार पदाधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग उठेको छ। सरकारको दमन र असंवेदनशीलताले आन्दोलन अझ सशक्त र अनुशासित बन्ने संकेत देखिएको छ।

    ओलीजी, जेन–जीको रगतको नदीमा डुंगा सयर गर्ने आँट र रहर अझै छ ? तपाईं श्री केपी शर्मा ओली, मदमस्त निदाएका तपाईंका सारथि शेरबहादुर देउवा, तपाईंका हतियारधारी कमान्डर रमेश लेखक, फरक मत राख्नेको जिब्रो थुत्नुपर्छ भन्ने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, सबै सबैलाई इतिहासले धिक्कार भनिसकेको छ । सरकारबाट तपाईंहरूको बहिर्गमन त निश्चित छँदै छ, तर तपाईंहरूको राजीनामाले यो रगतको कलंक पखालिने छैन । किनभने जनताको रगतमाथि यस्तो होली त पञ्चायती शासक र जहानियाँ राणाहरूले पनि खेलेका थिएनन् । तपाईंहरूको शासनमा देश कति लुटियो ? सार्वजनिक सम्पत्तिको दोहन कसरी भयो ? सरकारी संस्था कसरी तपाईंहरूका बफादारहरूका अखडा भए ? त्यसको लेखाजोखा त अवश्य हुने नै छ, तर तपाईंहरूको बायोडाटामा सबैभन्दा ठूलो पहिचान त्यस्ता ‘बा’ हरूका रूपमा हुनेछ जसले आफ्नो अस्तित्व र अधिकार खोज्ने छोराछोरीलाई गोलीले भुटेर शान्त पार्ने दुस्साहस गरेको छ ।

    प्रत्येक जीवन अनुपम र अमूल्य छ । तर, यति ठूलो क्षति नेपालको कुनै पनि आन्दोलनमा भएको थिएन । चार जना युवाको सहादतमा एक सय चार वर्षको राणा शासन ढलेको हो । ३० वर्षे पञ्चायती कालरात्रिको अन्त गर्न २०४६ सालको परिवर्तनका लागि करिब दुई महिना आन्दोलन चल्दा १९ जना सहिद भएका थिए । त्यस्तै २४० वर्षको शाहवंशीय राजतन्त्रलाई २०६२/६३ मा बिदा गर्दा पनि २३ जनाले सहादत प्राप्त गरेका थिए । तर, २०८२ भदौ २३ मा एकै दिन कम्तीमा १९ जना युवाको बलिदानी भएको छ । जनताले आफ्ना प्रतिनिधिका रूपमा निर्वाचित गरेका ओली, देउवा, लेखक र गुरुङको अहंकार यति महँगो छ जसका लागि इतिहासमा सबैभन्दा धेरै युवाले बलिदानी दिनुपर्ने ? यो त अति हो, अत्याचार नै हो ।

    सोमबार काठमाडौंलगायत देशका ठूला सहरमा जेन–जीद्वारा आयोजित प्रदर्शन देशमा बढ्दो भ्रष्टाचार र शासकीय अक्षमताप्रति लक्षित थियो । नागरिकले भुक्तान गरेको करको जगमा राजनीतिक नेतृत्वको विलासी जीवन सम्भव भएको बुझाइमा सिंगो समाज आक्रोशित छ । त्यो आवाजको प्रतिनिधित्व नयाँ पुस्ताले गरेको हो । तर जनताको आवाज सुन्नै पर्ने संवैधानिक दायित्व बोकेको सरकार भने जनताको आवाज थुन्ने र युवाको जीवन छिन्ने बाटोमा अग्रसर भएको छ । आवाज लिएर कलेज ड्रेसमा आएका विद्यार्थीमाथि असिनाजस्तै गोली बर्साइएको छ । यो मानवीय क्षति नेपाली समाजका लागि अपूरणीय छ, तर सुशासनका लागि युवाहरूले दिएको यो बलिदानीका लागि नेपाल देश र आगामी पुस्तौंपुस्ता अहिलेको जेन–जीप्रति ऋणी रहनेछ ।

    प्रधानमन्त्री ओलीले टिप्पणी गरेजस्तो जेन–जी लहडमा लागेर होइन, पुरानो पुस्ताले बोकिरहेको बेथितिको अभिशापबाट देशलाई मुक्त गराउने संकल्प लिएर सडकमा ओर्लिएको हो । तर, ओली र उनको संयन्त्रले कति अवमूल्यन गर्‍यो भने आन्दोलन घोषणा भएको तीन दिनसम्म पनि ‘तिमीहरूका सरोकार के हुन् ?’ भनेर सोध्ने न्यूनतम दायित्व पनि पूरा गरेन । तातो आवाज र प्रस्ट आकांक्षा लिएर युवाहरू आन्दोलनमा आउँदै छन् भन्ने सर्वत्र प्रचार हुँदा पनि सुरक्षा रणनीतिका आधारभूत तयारी गरिएको थिएन । जिम्मेवार गृह प्रशासन नै हो जसले रणनीतिक कमजोरी गरेर संसद् भवन आसपासको क्षेत्रलाई रणमैदान बनायो, त्यही बहानामा यति ठूलो नरसंहार मञ्चन गराएको छ ।

    कुनै पनि आन्दोलनमा घुसपैठ हुन्छ, जेन–जी अभियन्ताहरूले पनि यसका लागि पहिले नै चिन्ता गरेका थिए । त्यति हुँदा पनि पश्चगामी र ‘पपुलिस्ट’ राजनीतिक स्वार्थ बोकेका समूहले मौकामा दाउ हान्न आन्दोलनलाई उत्तेजित बनाए भन्ने मूल्यांकन स्वयं जेन–जी अभियन्ताहरूले नै गरिसकेका छन् । तर घुसपैठको मूल्य चुकाउन सरकारले युवाहरूको ज्यान लिएको छ । बल प्रयोग पनि कस्तो हो ? सिधै गोली हानिएको छ, छाती–छाती ताकेर, टाउका–टाउकालाई निसाना बनाएर । इजरायलले गाजामा गरेको अत्याचारलाई बिर्साउने दृश्य नेपालका सडकमा मञ्चन गराउने प्रहरी कमान्डर र नेपाल प्रहरीका आईजीपी मात्र होइन, गृहमन्त्री लेखक र प्रधानमन्त्री ओली पनि यो घटनामा जवाफदेही हुनुपर्छ । युवाहरूको खुन लतपतिएको हात लिएर कुनै पनि पदाधिकारी एक मिनेट पनि पदमा बस्न मिल्दैन, प्रधानमन्त्रीले समेत अविलम्ब राजीनामा दिनुपर्छ । २०६२/६३ को आन्दोलनमा २३ जना सहिद हुँदा सर्वोच्चका बहालवाला न्यायाधीश कृष्णजंग रायमाझीको नेतृत्वमा अधिकारसम्पन्न जाँचबुझ आयोग गठन भएको थियो भने अहिले बगेको खुनलाई अवमूल्यन गर्न पाइँदैन । छानबिन गरी जिम्मेवार सबैलाई जवाफदेही बनाउनुपर्छ । ओली सरकारको पालकी बोकेर हिँडिरहेको कांग्रेस र त्यसका सभापति देउवाले यो बर्बरताको हिस्सेदारीबाट उन्मुक्ति लिन पाउने छैनन् ।

    आन्दोलनले लिएको लक्ष्य र सरकारले दिएको चुनौतीले थप सशक्त, व्यवस्थित र अनुशासित आन्दोलन अपरिहार्य भएको छ । त्यसका लागि सोमबारको क्षति र पाठ युवाहरूका लागि मार्गदर्शन बन्नुपर्छ । सायद त्यसैले उनीहरूले संयम, शान्ति र वैधानिक माध्यमबाट आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । उनीहरूको आन्दोलन झन् ठूलो आवाजसहित अघि बढ्ने विश्वास छ । तर, यही बेला १९ युवाको मृत्यु पुष्टि भएको छ भने चार सयभन्दा बढी युवा विभिन्न अस्पतालमा छटपटाइरहेका छन् । युवाहरूको यति ठूलो वेदना र बलिदानीपछि समवेदना व्यक्त गरेर मौन बस्ने हो भने हाम्रो समाज मुर्दा सावित हुनेछ । नेपाली समाजले आफूलाई फेरि एक पटक जिउँदो सावित गर्ने घडी आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट