आज: २०८२ भाद्र २७, शुक्रबार | Fri, 12, Sep, 2025

जेन – जिले रचेको अद्वितिय इतिहास


  • आक्रमण न्युज
  • २०८२ भाद्र २६, बिहिबार मा प्रकाशित १ दिन अघि
  • ८९ पाठक संख्या
  • भ्रष्टाचार, बेथिति, नेपो किड र सामाजिक सञ्जालमाथि प्रतिबन्धविरुद्ध प्रदर्शन । नतिजा- २७ घण्टा नबित्दै झण्डै दुई तिहाइ बहुमतको सर्वशक्तिमान प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य । नेपाली जेनजीले एउटा अद्वितीय इतिहास रचेका छन्, संसारमा दुर्लभ घटना नेपाली राजनीतिमा सम्भव बनेको छ ।
    सोमबार जेनजीले प्रदर्शन प्रारम्भ हुनेबेलासम्म ‘केटाकेटी आए गुलेली खेलाए…’ ठानिरहेको ओली सरकार प्रदर्शनकारी नयाँ बानेश्वर क्षेत्रमा पुगेपछि तिलमिलायो । संयम राख्न नसकेर निहत्था जेनजी प्रदर्शनकारीमाथि अन्धाधुन्ध गोली बर्सायो । त्यहाँ कम्तीमा १७ जना युवाले अनाहकमा अमूल्य जीवन गुमाए । बाबुआमाको काख रित्तियो, बुढेसकालको सहारा सकियो । यो घटनाको नैतिक जिम्मेवारी लिँदै साँझपख रमेश लेखकले गृहमन्त्री पदबाट राजीनामा दिए ।

    यो आम नरसंहारको आक्रोश गृहमन्त्रीको राजीनामाले मात्र साम्य हुनेवाला थिएन, तर आक्रोशले भोलिपल्ट कति उग्र रुप लेला भन्ने आँकलन गर्न भने गाह्रै थियो । भोलिपल्ट अर्थात् आज बिहानै राजधानी उपत्यकाका तिनै जिल्लामा कर्फ्यू लगाइयो, जुन हिजो पनि थियो । तर जेनजी पुस्ता बिहानैदेखिको कर्फ्यू पर्वाह नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नै राजीनामा दिनुपर्ने माग गर्दै प्रदर्शनमा होमिए । अन्तत: जेनजीको प्रदर्शनले प्रधानमन्त्री ओलीलाई घुँडा टेकाएरै छाड्यो । उनले प्रधानमन्त्री पदबाट राजीनामा दिए ।
    दु:खद् रुपमा भन्नुपर्छ- मंगलबार जनधनको क्षति निकै ठुलो भयो । यस दिन आक्रोशित जेनजीले नेता र तिनका पार्टी कार्यालयलाई मुख्य निशाना बनाए । उनीहरुले सर्वोच्च अदालतदेखि सिंहदरबारसम्म जलाए । सडकमा टायर त कति बल्यो कति । यो दिनको राजनीतिक परिदृश्य भने निकै रोचक रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसदले राजीनामा घोषणा गरे भने सत्ता सहयात्री दल नेपाली कांग्रेसका दुई मन्त्रीले राजीनामा दिए र पार्टीभित्र सरकार छाड्नुपर्ने मत बढिरहेको थियो ।
    जे होस्, ‘एक जुगमा एक दिन एकचोटि आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ’ भनेर कवि गोपालप्रसाद रिमालको कविताले भने झैँ नेपालको इतिहासमा फेरि एकपटक त्यो एक दिन आएको छ । जेनजी आन्दोलनले स्पष्ट सन्देश दिएको छ- अब राजनीतिलाई पेवा र विरासत ठान्ने दिन गए, युवालाई कमजोर आँक्ने दिन गए ।
    जेनजी युवाले आन्दोलन गर्ने घोषणा गर्दैगर्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई खिस्याउने खुबै प्रयास गरेका थिए । उनी हरेक भाषणहरुमा नेतृत्वका लागि कोही युवा नै तयार छैनन् भन्न बाँकी राख्दैन थिए । उनको चेतलाई चुनौती दिए- जेनजी युवाहरुले । देशको राजनीति अब दशकौँदेखिका पुराना अनुहारको हातबाट चल्दैन, विश्वसँग काँधमा काँध मिलाउन सक्ने युवाको हात र मस्तिष्कबाट चल्नुपर्छ भन्ने स्पष्ट पारिदिए । मंगलबारको आन्दोलनले बंगलादेश, श्रीलंका सम्झाइदियो । त्यहाँ पनि यस्तै प्रकृतिको आन्दोलनबाट सत्ता उलटपुलट भएका थिए ।
    देशमा व्याप्त चरम निराशा, एउटै पुस्ता र सोचको सत्तामा हालीमुहाली, नयाँ नेतृत्वलाई अगाडि आउन पर्खालको छेकबारजस्ता कारणले नागरिक आक्रोशित थिए । यो ज्वालामुखी एक दिन फुट्नेवाला नै थियो, जेनजी आन्दोलन त्यसको बलियो ‘पावर’ बनेर आइदियो । पुरानो विरासतको राजनीतिलाई सदा-सदाका लागि बिदा गर्ने उद्घोष गरेर । अब आन्दोलनको रापले पुरानो सत्ता ‘साफ’ बनाइदिएको छ । पुरानोलाई भत्काएपछि नयाँ बनाउनुपर्ने हुन्छ । त्यसका लागि सही निष्कर्ष, योजना र अठोट चाहिन्छ । स्वत:स्फूर्त रुपमा आन्दोलन गरेका जेनजीलाई अब कुशल मार्गनिर्देश गर्नसक्ने नेतृत्व चाहिएको छ । सामाजिक सञ्जालबाट भ्रष्टाचार, बेथिति, नेपो किड्सविरुद्ध आन्दोलन छेडेर निष्कर्षमा पुर्याएका उनीहरुले अबको बाटो निकै सुझबुझका साथ तय गर्नुपर्नेछ ।
    सिधै भन्दा देश अहिले कार्यकारी नेतृत्वविहीन छ । आधुनिक युगमा सरकारविनाको राज्य परिकल्पना गर्न सकिन्न । त्यसैले चाँडोभन्दा चाँडो देशलाई निकास दिन नयाँ सरकार गठन गरिहाल्नुपर्छ । त्यो सरकार कस्तो हुने, को-को सहभागी हुने, त्यसको मूल उद्देश्य के हुने भन्नेमा सबै पक्ष प्रष्ट हुनुपर्छ । त्यससँगै संसद् विघटन गरेर ‘अर्ली इलेक्सन’मा जानु नै अहिलेका लागि सबैभन्दा बढी बुद्धिमतापूर्ण हुनसक्छ । नत्र त देश फेरि अनिश्चयको बाटोमा गएर यो आन्दोलनका उपलब्धि पनि खोसिने जोखिम हुन्छ ।
    आन्दोलनको बलमा सरकार ढलेकाले अब आन्दोलनरत् पक्षसहितको अन्तरिम सरकार गठन गरिनुपर्छ । त्यो अन्तरिम सरकारले चाँडो चुनाव गराएर विजयी भएर आउने नयाँ दललाई सत्ता हस्तान्तरण गर्नुपर्छ । नयाँ सरकार आएपछि देश संवैधानिक ट्रयाकमा आउनेछ । अनि आम नागरिकले चाहे जसरी देशलाई समतामूलक, भ्रष्टाचारविहीन बनाउँदै तीव्र विकासपथमा दौडाउनुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट