
सबैलाई चकित पार्दै सत्ता पल्टाउन सफल जेनजी आन्दोलनले एउटा गहिरो प्रश्न उठाइदिएको छ– यो आन्दोलन देशले देखेका अनेकौं अन्य आन्दोलनको शृंखलाबद्ध तार्किक परिणति हो वा यो भिन्नै दिशाको सुरुवात ? मलाई लाग्छ– यो आन्दोलन मात्र सडकको आक्रोश होइन, बरु देशको दीर्घकालीन राजनीतिक संकटको प्रतिक्रिया हो । २००७ को क्रान्तिले राणा शासन उखेलेर जनतालाई शासनको दावेदार बनायो । २०३६ को विद्यार्थी आन्दोलनले अटल देखिने पञ्चायत प्रणालीलाई हल्लाइदिएर बहुदलीय व्यवस्थाको मार्ग प्रशस्त गर्यो । २०६२÷६३ को जनआन्दोलनले जनतालाई ‘राज्यको मालिक’ घोषित गर्यो र समावेशी लोकतन्त्रको विजारोपण गर्यो । यी ऐतिहासिक आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि लोकतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता मूल्यको स्थापना हो, जुन आज हामी सबै सबैभन्दा ठूलो सम्पत्ति बनेका छन् । तर, प्रश्न यहीँ उठ्छः यति ठूला संघर्ष र परिवर्तनपछि पनि नयाँ आन्दोलन किन आवश्यक पर्यो ? सामाजिक–राजनीतिक आयामः प्रथमतः यो आन्दोलन पुरानो नेतृत्वप्रतिको अविश्वास र सुशासनको माग हो । दलहरूभित्रै लोकतन्त्रको अभाव, भ्रष्टाचारमा संलग्न नेतृत्व, र युवाको आकांक्षालाई नबुझ्ने अहंकारले नै यस आन्दोलनको जग निर्माण गरेको कुरा घामझैँ छर्लङ्ग भै सकेको छ । । यो आन्दोलन विगतका अरू आन्दोलनहरूले समाधान गर्न नसकेको ‘राजनीतिक नेतृत्वको पट्यारलाग्दो निरन्तरता’ र ‘शक्तिको आडमा भ्रष्टाचार’विरुद्धको प्रतिक्रिया हो । भ्रष्टाचारको प्रकृति अत्यन्त बहुआयामिक छ । नागरिकलाई सरकारी सेवा प्राप्त गर्नका लागि रिश्वत दिनुपर्नेदेखि लिएर ठुल्ठूला सार्वजनिक खरिद, निर्माण आयोजना र नियुक्तिहरूमा हुने अनियमिततासम्म यो फैलिएको छ । सार्वजनिक खरिदमा तोकिएको मूल्यभन्दा धेरैमा कागजाती खरिद गरी कमिशन खाने प्रथा सामान्य बनिसकेको छ । यसले गर्दा देशले गुणस्तरीय विकास कार्यहरूबाट पनि वञ्चित हुनुपरेको छ । भ्रष्टाचारविरुद्धका कानुनहरू छन् तर तिनको कार्यान्वयनमा राजनीतिक हस्तक्षेपले गर्दा ठूला मामिलाहरूमाथि कारबाही हुन सकेको छैन । जेनजी आन्दोलनले भ्रष्टाचारविरुद्धको आक्रोशलाई नयाँ ऊर्जा प्रदान गरेको छ । भ्रष्टाचारविरुद्धको लडाइँ सफल हुनका लागि न्यायिक प्रक्रियालाई स्वतन्त्र र शक्तिशाली बनाउनु अपरिहार्य छ । साथै सूचनाको अधिकारलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ । राजनीतिक इच्छाशक्ति र जनताको सक्रिय सहभागिता नै भ्रष्टाचारविरुद्धको लडाइँमा सफलताको मुख्य आधार हुन सक्छ । भ्रष्टाचारमुक्त समाजको निर्माण नै राष्ट्रिय विकासको पहिलो शर्त हो । प्रविधिको आयाम :जेनजी आन्दोलन २१औं शताब्दीको डिजिटल युगको उपज हो । ह्याकिंग + एक्टिभिज्मको संयुक्त रूपलाइ ह्याक्टिभिज्म भनिन्छ, जसमा गैर–कानुनी वा कानुनी रूपमा अस्पष्ट डिजिटल उपकरणहरू र प्रविधिको प्रयोग गरेर राजनीतिक वा सामाजिक परिवर्तन ल्याउने प्रयास गरिन्छ । जेनजीहरूले यस्तै किसिमको विकेन्द्रित ‘ह्याक्टिभिज्म’को मोडल अपनाए, जहाँ एक्स, टिकटक, र डिस्कर्डजस्ता प्लेटफर्महरूले सञ्चारमा स्नायुतन्त्रको काम गरे । अर्को कुरा आन्दोलनकर्ताहरूले सोशल मिडिया प्लेटफर्म (जस्तैःटिकटक, फेसबुकले कुन सामग्रीलाई कति समय देखाउने भन्ने कुरा निर्धारण गर्ने नियमहरूलाई विश्लेषण गर्दै, ती नियमहरूको फाइदा उठाउने रणनीति अपनाए । हुकःभिडियोको पहिलो ३ सेकेण्डमा नै आकर्षक सुरुवात गर्ने, लुपिङःदर्शकलाई बारम्बार हेर्न प्रेरित गर्ने र ट्रेण्डिङ साउण्डः लोकप्रिय संगीत र धुन प्रयोग गर्ने जस्ता विधिहरू अपनाएर आन्दोलनका सन्देशहरू ‘फर यु’ पेजमा पुर्याउँदै लाखौं दर्शकसम्म सामग्री सफल भए, जेञ्जी आन्दोलनकारीहरू । यसलाई एल्गोरिदमको ह्याक गर्ने रणनीति पनि भनिन्छ । त्यस्तै, भाइरल मेनिफेस्टो र गोप्य समन्वयले आन्दोलनलाई अप्रत्यासित गतिशीलता प्रदान ग¥यो । तर, यही आयामले यसलाई नियन्त्रण गर्न गाह्रो बनायो र त्यसैले आन्दोलनका क्रममा व्यक्तिगत स्वार्थले घुसपैठ गरेको आरोपलाई जन्म दियो । डिजिटल रणनीतिहरूले आन्दोलनलाई तीव्र गति र व्यापक प्रभाव दियो, तर साथै यसलाई अनियन्त्रित, अप्रत्याशित र विवादास्पद पनि बनायो । आधुनिक डिजिटल आन्दोलनहरूको यही जटिल चरित्र हो । संरचनात्मक आयाम:जेनजी आन्दोलनलाई केवल तात्कालिक राजनीतिक आक्रोशको प्रतिक्रिया भन्नु यसको गहन पृष्ठभूमिलाई अपूर्ण रूपमा बुझ्नु हो । वास्तवमा यो आन्दोलन नेपाली राज्यका संस्थागत संरचनाहरूले दीर्घकालदेखि नै युवापुस्ताप्रति गरेको बेवास्ताको प्रतिफल हो । देशको शैक्षिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा विद्यमान गहिरो संकटले युवाहरूमा सञ्चित निराशा नै अन्ततः आक्रोशको रूपमा प्रस्फुटित भएको हो । शिक्षा क्षेत्रमा रहेको संकटले यसको स्पष्ट प्रमाण प्रस्तुत गर्छ । नेपालको शैक्षिक प्रणालीले आधुनिक युगको मागअनुरूप युवालाई तयार पार्न सकेको छैन । पुरानो रटन्त पद्धतिमा आधारित शिक्षा, रोजगारीसँग सम्बन्ध नराख्ने पाठ्यक्रम, र व्यावसायिक प्रशिक्षणको कमीले युवाहरूलाई शिक्षा पूरा गरेपछि पनि अनिश्चिततासँग सामना गर्न बाध्य बनाएको छ । यसको परिणामस्वरूप शिक्षित युवाहरू र रोजगारीबीचको खाडल निरन्तर बढ्दो छ । स्वास्थ्य क्षेत्रको दयनीय अवस्थाले यस समस्यालाई थप जटिल बनाएको छ । सरकारी स्वास्थ्य संस्थाहरूमा अपर्याप्त सुविधा र उच्च गुणस्तरको उपचारको अभावले साधारण नागरिकलाई निजी अस्पतालतिर धकेल्ने गर्छ । तर निजी स्वास्थ्य सेवाहरूको अत्यधिक महँगो उपचारले ती सबैको पहुँचभित्र पनि रहन सकेको छैन । यसले गर्दा ग्रामीण क्षेत्रका युवाहरू आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित छन् । रोजगारीको समस्या पनि निकै ठूलो संकटको रूपमा प्रकट भएको छ । संरचनात्मक बेरोजगारी, योग्यताअनुसार अवसरको अभाव, र जीवनयापन गर्न नसक्ने स्तरको न्यूनतम मजदुरीले युवाहरूलाई विदेशिन बाध्य पारेको छ तर विदेश पनि सबैका लागि सुनौलो अवसर नभएकोले धेरै युवा अर्धबेरोजगारीको जीवन बिताउन बाध्य छन् । राजनीतिक दलहरूले सत्ताको अंकगणितमा सीमित भएर जनताको आर्थिक र सामाजिक सशक्तीकरणको मूलभूत आवश्यकतालाई बेवास्ता गर्दै आएका थिए । सरकार बनाउने र टुङ्ग्याउने खेलमा मात्र केन्द्रित भएका नेताहरूले दीर्घकालीन विकासको रणनीति निर्माण गर्नुको सट्टा अल्पकालीन राजनीतिक लाभमा ध्यान दिए । यसले गर्दा नीतिगत निरन्तरताको अभाव भएको छ र विकास प्रक्रिया अवरुद्ध भएको छ । दशकौंदेखि समस्याहरू विना समाधान थुप्रिँदै गएपछि युवाहरूको विश्वास राजनीतिक प्रक्रियाबाट हटेको अवस्था छ । शिक्षा, स्वास्थ्य र रोजगारीका मौलिक समस्याहरू समाधान नभएसम्म युवाशक्ति कुनै पनि समय बिस्फोटक रूपमा प्रकट हुने सम्भावना रहन्छ । जेनजी आन्दोलन यही बिस्फोटको प्रतिध्वनि मात्र हो, यसलाई सामाजिक परिवर्तनको सशक्त माध्यमका रूपमा हेर्नु आवश्यक छ । इटालियन चिन्तक एन्टोनियो ग्राम्सीको सिद्धान्तले जेनजी आन्दोलनलाई राम्रोसँग बुझ्न मद्दत गर्छ । ग्राम्सीले ‘अर्गानिक बुद्धिजीवी’को अवधारणा प्रस्तुत गरेका थिए । यस्ता बुद्धिजीवीहरू समाजको विभिन्न वर्गहरूभित्रै उत्पन्न हुन्छन् र आफ्नो वर्गको अनुभव, आकांक्षा र समस्याहरूलाई अभिव्यक्त गर्छन् । जेनजी आन्दोलनकारीहरू यही ‘अर्गानिक बुद्धिजीवी’को रूपमा उभिए । तिनीहरूले आफ्नै भाषा, प्रविधि र माध्यमबाट समाजको व्यापक रूपमा रहेको असन्तुष्टिलाई अभिव्यक्त गरे । तिनीहरूले समाजमा पहिल्यैदेखि विद्यमान तर अभिव्यक्त नभएको आक्रोशलाई सशक्त अभिव्यक्तिका रूपमा प्रकट गरिदिएका मात्र हुन् । ग्राम्सीले ‘स्थितिको युद्ध’को पनि चर्चा गरेका छन् । जेनजी आन्दोलनले यही ‘स्थितिको युद्ध’मा सफलता हासिल गर्यो । तिनीहरूले पुरानो राजनीतिक व्यवस्थाको वैधतालाई नै प्रश्न गरी परिवर्तनको वातावरण निर्माण गरे । अहिलेको आन्दोलनमा जेनजीहरूलाई एक उत्प्रेरकको रूपमा हेर्नु उपयुक्त हुन्छ । रासायनिक प्रक्रियामा उत्प्रेरकले रियाक्सनको गति बढाउँछ तर आफू भने परिवर्तन हुँदैन । जस्तै, जेनजी आन्दोलनले समाजमा पहिल्यै रहेको असंतुष्टिलाई संगठित रूप दिएर परिवर्तनको गति बढाउन मद्दत गर्यो । यो आन्दोलन कुनै एक व्यक्ति वा समूहको उपलब्धि होइन । यो त नेपाली समाजको सामूहिक चेतनाको प्रतिफल हो । ग्राम्सीले पनि सामाजिक परिवर्तन कुनै एक ‘महान व्यक्ति’ले ल्याउन नसक्ने, बरु यो जनसमुदायको सामूहिक प्रयासले मात्र सम्भव हुने बताएका छन् । अहिले देशमा देखापरेको वर्तमान संकटलाई सवै मिलेर अवसरमा परिणत गर्न आवश्यक छ । यसका लागि तीन प्रमुख पक्षहरूले भूमिका निभाउनुपर्छः पहिलो:पुराना राजनीतिक दलहरूले आफ्नो अस्तित्वका लागि ग्रीक मिथकका फिनिक्स आगोमा जलेर भस्म हुने र त्यहीँबाट नयाँ जीवनको सुरुवात गर्ने एक पौराणिक पक्षी) जस्तो पुनर्जन्म अनिवार्य छ । नेतृत्वको पुस्तान्तरण, आन्तरिक लोकतन्त्रको स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र जनविश्वासको पुनप्र्राप्ति नै तिनको प्राथमिकता हुनुपर्छ । दोश्रो पक्ष– जेनजी र युवा, शक्तिले आफ्नो आक्रोशलाई रचनात्मक राजनीतिक ऊर्जामा रूपान्तरण गर्नुपर्छ । सडकदेखि सदनसम्म, युवाहरूले संवाद र संस्थागत राजनीतिमा सहभागी हुनुपर्छ । तेश्रो पक्ष– अन्तरिम सरकार हो । सरकारको ‘अर्जुनदृष्टि’ समयमा चुनाव गराउनु मात्र होइन, तर दण्डहीनताको अन्त्य गरी सुशासनको आधार निर्माणमा पनि राख्नु जरूरी छ । निश्कर्ष:नेपाल आज फेरि इतिहासको क्रसरोडमा उभिएको छ । जेनजी आन्दोलनलाई एउटा नयाँ अध्यायको सुरुवातका रूपमा लिनुपर्छ । विगतका आन्दोलनहरूले हामीलाई मूल्यवान संवैधानिक सम्पत्ति दिए, तर त्यसलाई जीवन्त र प्रासंगिक बनाउने जिम्मेवारी वर्तमान पुस्ताको हातमा छ । सामाजिक परिवर्तन कोही एक व्यक्ति वा समूहले ल्याउन सक्दैन । जेनजी आन्दोलनले उत्प्रेरकको भूमिका निभाएर नेपाली समाजमा नयाँ चेतनाको सुरुवात गरिदिएको छ । अब यो चेतनालाई संस्थागत रूप दिने जिम्मेवारी सबै नेपालीमा छ । के दलहरूले आफूलाई सुधारेर फिनिक्सजस्तै पुनर्जीवित हुन सक्नेछन् ? के युवा शक्तिले आफ्नो आक्रोशलाई रचनात्मक परिवर्तनको ऊर्जामा बदल्न सक्नेछ ? यसको उत्तर हामी सबैको सामूहिक सोच, संयम र कार्यमा निर्भर गर्छ ।

प्रतिक्रिया दिनुहोस