आज: २०८२ मंसिर २०, शनिबार | Sat, 06, Dec, 2025

सुशिला सरकार जेनजिको पार्थिव शरिर मात्र


  • आक्रमण न्युज
  • २०८२ मंसिर १६, मंगलबार मा प्रकाशित ४ दिन अघि
  • १३५ पाठक संख्या
  • हुने हार दैव नटार ! अर्थात्, भनिन्छ- अरु त अरु, स्वयं यो संसारमात्र नभै ब्रह्माण्डकै रचनाकार मानिने महाशक्तिशाली भगवान् पनि हुने कुरा भैछाड्छ भन्दै हरक्षेत्रमा उत्पन्न हुने कुनै पनि बिघ्नबाधा रोक्नपट्टि लाग्दा रहेनछन् । ती भगवानले अनिष्ट अथवा बिघ्न हुने पूर्व जानकारी हुँदाहुँदै पनि होरा हेरेर बस्छन रे ! भगवान् त त्रिकालदर्शी हुन्छन् ! उनलाई सबथोक थाहा हुँदाहुँदै पनि हुने हुनामीलाई हुन दिनुपर्छ भन्दै किन अनदेखा गर्छन् ? कुरुक्षेत्रको रणसंग्रामको पूर्व जानकारी श्रीकृष्णलाई भलिभाँती थियो । चाहेको भए महाभारतको युद्ध रोक्न सक्थे । तर धर्म र अधर्मको छिनोफानो युद्धले नै गरोस्, उनको भित्रि मनसुवाले काम गरेको प्रष्टै बुझिन्छ । त्यसैले हुनु त आखिर हुनु नै छ भन्दै चित्त बुझाउनु सर्वथा उचित रहेछ ! तत्कालिन भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीको ३१ अक्टुबर १९८४ मा हत्या भयो । त्यसको ठिक एकदिन अगाडि उनको सार्वजनिक भाषणमा आफू कुनैपनि बेला मारिन सक्छु भन्ने सङ्केत उनले दिएकी थिइन् । ३० अक्टुबरमा १९८४ अर्थात् हत्या हुनुभन्दा ठिक एकदिन अगाडि बैंगलोरमा आयोजित महिला सम्मेलनमा उनले एउटा अविभाषण दिँदै भनेकी रहिछन्- ‘म यहाँ आज छु, किनकि तपाईंहरूले बोलाउनुभयो । यदि भोलि म मरेँ भने मलाई कुनै चिन्ता छैन । मेरो रगतको हरेक थोपा यो देशलाई बलियो बनाउन बग्नेछ । र, यदि म मरेँ भने, म गर्वका साथ मर्नेछु, किनकि म भारतको एक छोरी हुँ ।’ उनको यो अभिव्यक्तिले के जनाउँछ भने उनी आफूले गरेका काम-कारबाहीबाट वाकिफ थिइन् र कुनैपनि समय उनको हत्या हुन सक्छ भन्ने उनीभित्र व्याप्त थियो । उनका सारा राज्यका सुरक्षा संयन्त्र नाकाम भए । अन्ततः उनी भोलिपल्टै आफ्नै अंगरक्षकको निशानामा परिन् र मारिइन् । देश विखण्डन नहोस् भन्ने कर्तव्यको बोध भएको देशको मुख्य नेतृत्व सम्हालेको व्यक्तिले जुनसुकै जोखिम मोल्न पछि हट्न हुँदैन र हुँदैनथ्यो । इन्दिरा गान्धीले त्यसै गरिन् । खालिस्तानलाई अलग राज्य बनाउनुपर्ने माग राख्दै अगाडि बढेका शीखहरूको आन्दोलन चरमोत्कर्षमा पुगेको थियो । त्यो विद्रोहलाई नरोके देश टुक्रिने निश्चित थियो । शीखहरूलाई दबाउन अनेक हथकण्डा इन्दिराले अपनाइन् । अमृतसरको स्वर्णमन्दिरमा लुकेर बसेका पृथकतावादीहरूलाई त्यहाँबाट हटाउन कठोर कदम चालिन् । फलतः त्यसपछि त्यो पृथकतावादी आन्दोलन निस्तेज हुँदै आफसेआफ दमित भयो र सफाया भयो । पृथकतावादी आन्दोलन त दबाइयो तर शीख समुदाय उनीप्रति उग्ररुपमा आक्रोशित बन्यो । जुनसुकै बेला बदला लिने भावनाले खालिस्तानीहरू योजना बुन्न थाले । र, आफ्नै अंगरक्षक शीखहरूले गोली हानेर मारे । आखिर सबै जानेर के गर्नु ! हुनु त हुनु नै थियो ! सुशीला सरकार केवल जेन्जीको पार्थीव शरीर मात्र हो । जीवित टाउको अन्तै छ । यो सरकार हुनका लागि नै जेन्जीको क्रियसन भएको हो भनेर बुझ्न कुनै विशेष विद्वान् नै हुन पर्दैन । राजा वीरेन्द्र र राजीव गान्धीको व्यक्तिगत इगोले गर्दा दुई देशबीचको प्रगाढ सम्बन्धमा तुष उत्पन्न भएको थियो । कालान्तरमा अत्यन्त प्रदुषित हुँदै सम्बन्धहरू बिस्फोट हुन पुगे । विश्वको एक मात्र हिन्दु सम्राटले विश्वकै एकमात्र हिन्दुराष्ट्रको धर्म र यसको मर्म भावलाई जोगाउन प्रचलित परम्परानुसार पशुपतिनाथ मन्दिरमा क्रिश्चियनहरूलाई प्रवेश निःषेध गरिएको सही थियो । ठिक थियो । तर, आफ्नी कृश्चियन श्रीमतीले आफूसँगै पशुपतिनाथ मन्दिरमा प्रवेश नपाउँदा कुँडिएको राजीवको मनले नेपालका राजालाई ‘देखाइदिने’ भन्दै भारत फर्के । यसपछि यसो हुन्छ भन्ने राजालाई थाहा नभएको थिएन । देशको मौलिक पहिचान, धर्म-संस्कृति राष्ट्रिय स्वतन्त्रता, राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि राजाले उपरोक्त कदम नचालेका भए अथवा राजीवको शक्ति र मुख हेरेर छुट दिएको भए नेपालको मौलिक पहिचान उहिल्यै धोल्लो भैसकेको हुने थियो । र, नेपाली दरबारको ओज पनि धुमिल हुने थियो । तत्पश्चात् पराई बनेको मित्रले कतिबेला कुन उपाय रचेर नेपाल र नेपालीलाई दुःख झेल्नुपर्ने अवस्था सहनुपर्ने हो भन्ने चिन्ता राजा वीरेन्द्रलाई मात्र नभै पूरै राजदरबारलाई थियो । भारतले आफ्नो अनुकुल र भनेको मान्दासम्म अथवा चल्दासम्म तत्कालिन नेपालमा कायम पञ्चायत व्यवस्थालाई उसले विश्वकै सर्वोत्कृष्ट प्रजातान्त्रिक व्यबस्था मान्यो । उसको आदेश र दादागिरी नेपालले नमान्दाबित्तिकै उसैले नेपालमा प्रजातन्त्र पटक्कै देखेन ! पञ्चायत पहिला ठिक थियो भने पछि पनि थियो, थिएन भने पहिला किन भयो ? उसको दादागिरी प्रष्टै बुझिन्थ्यो ! विश्वका कुनैपनि राजाहरूले नेताहरूले जस्तै भाषण छर्दै हिँड्दैनन् । यदि त्यसो हुँदो हो त इन्दिराले बैंगलोरमा दिएको अभिव्यक्ति भन्दा कैयौं गुणा बलिदानी र भावुक सम्बोधन गर्ने थिए हाम्रा राजा वीरेन्द्रले ! ०३९ सालमा हुनुपर्छ, अफ्रिकी राष्ट्र जिम्वावेको हरारेमा आयोजित अतिकम विकसित राष्ट्रहरूको सम्मेलनमा नेपालका राजाको भावुक सम्बोधनले धनी राष्ट्रहरूको ओठतालु सुकेको कसलाई थाहा छैन र ! मञ्चमा बोल्न त्यति सिपालु रहेछन् राजा वीरेन्द्र ! दुई देशका बीच चिसो पलाउने संवेदनशील विषयलाई नेताले झैं उनले बोलेनन् र पो ! नत्र … ! शत्रुको शत्रु मित्र हुने नै भयो । भारत र राजासँगको सम्बन्धमा उत्पन्न दरारमा लौरो घुसाएर झन् दरार बढाउन नेपालका भ्रष्ट विदेशी दलालहरूले ०४६ सालमा मातृभूमिका प्रति गद्दारी गरेकै हुन् । त्यसो त, यो पंक्तिकार निरंकुश पञ्चायत व्यवस्थाको विरुद्धमा जेल नगएको होइन, तर भ्रष्टहरूलाई चिनिएन.. पछि लागियो ! अर्थात्, उनैको लहै…लहैले मेरो जेन्जी उमेर हुत्तिएको रहेछ भनेर अहिले बुझ्छु । यही समयमा भारतका बडे-बडे नेताहरू आएर तत्कालिन पञ्चायत व्यवस्थालाई मात्र दुत्कारेनन् अपितु राजा र राजसंस्थाका प्रति विष वमन गरेर फर्के । यहाँका भारतीय दलालहरू खुशी भए । यी दलालहरूलाई देश भड्खालोमा जान लागेकोमा चिन्ता लागेन, बहुदल आउने भयो भन्दै दश हात उफ्रे । बहुदल आयो । त्यस उप्रान्त आजसम्म दलाल नेताबाहेक नेपाल र नेपालीले भोग्न परेको ब्यथा-कथा के दोहोऱ्याइरहनु पर्ला र ! यथास्थानबाट नेपाल र नेपालीको दुःख कष्ट महाभारतका पात्र बर्बरिकको शीरच्छेदित टाउकोले पक्कै चिहाएर हेरिरहेको त होला ! आखिर हुनु त हुनु नै छ, कहिलेसम्म अधर्म हाबी हुन्छ त्यो त समयले निर्धारण गर्ला नै ! इतिहासबाट व्यवस्था मात्र गएन, एक सर्वप्रिय राजा मात्र गएनन्, उनको समूल वंशै सखाप भयो । धन्न वंशबीज थियो र अर्का राजा भए । श्रीपेच शीरमा शोभायमान बनिरहेको पाउँदा सारा नेपालीले हर्षाशुँ झारे । तर दुर्भाग्य ! दलालहरू झनै मजबुत बन्दै गएका थिए । भ्रष्ट दलालहरूको कारण विश्वको सर्वोच्च चुचूरो सगरमाथा निहुरियो ! यिनकै सहायतामा आडमा शीरको श्रीपेच जिन्सिखानामा थन्कियो । श्रीपेच थन्किएको करिब दुई दशकपछि बल्ल दलाल नेताहरूले आफ्नो अनुहार ऐनामा हेर्न थालेका छन् ! अझै, म त राम्रै छु ऐनामा के फोहोर बसेको रहेछ भन्दै ऐनालाई हातले घोटेको घोट्यै गर्दैछन् । थूक्क… तिम्रो मति ! ०४६ सालमा तिम्रो अनुहारमा पोतिएको फोहोर ऐना पुछेर कहिल्यै सफा हुन्छ ? उर्दूको शायरी छ’नि- ‘गालिब, धूल चेहरे पर थी, आइना साफ करता रहा !’ राणा शासनजस्तै १०४ वर्ष शासन गर्ने दाउमा भ्रष्ट दलालहरू थिए । तीन दल मिलेपछि राणाशासन भन्दा पनि चर्को निरंकुश शासन देशमा लादिएको थियो । यिनले चाहे मान्छेको लिंगै परिवर्तन गर्ने क्षमता राख्थे । ब्रह्माले पनि मिलाउन नसक्ने काङ्ग्रेस–कम्युनिष्टलाई यिनका इष्टदेवताले मिलाइदिएको थियो । देशमा यिनीहरू बाहेक अरु त कमिला फट्याङ्ग्रा जस्ता ठान्थे यिनीहरू ! चौरासीको चूनावपछि पनि हामी नै हो मै हो भन्ने घमण्डसहित तानाशाह बन्ने सुरमा थिए विदेशी दलाल ‘भतुवा’हरू ! बर्बरिकले संधै कमजोरको पक्षलाई साथ दिने गर्थे ! भगवान् श्रीकृष्णले चलाखीपुर्वक बर्बरिकको शीरच्छेदन नगरेको भए पाण्डवहरूको जीत सहज थिएन । नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा बर्बरिकको शीरमात्रै जिवित किन नहोस् यी दलालहरूले नेपाल र नेपाली जनतालाई दिएको दुःख सहन नसकी कमजोर पक्षको पक्ष लिँदै ‘जेन्जी’लाई प्रकट गराएर दलालहरूको दोहोलो काडियो । भ्रष्ट दलालहरूको दोहोलो काडेर मात्र नेपाली जनता सन्तुष्ट भएको देखिँदैन । गणतन्त्रका ‘माले, मसाले र मण्डले’लाई एउटै खाल्टोमा पुर्नुपर्ने नेपाली जनताको उत्कट चाहना छ । त्यस्तो दिन धेरै पर भएजस्तो पनि लाग्दैन । बेलैमा बुझ्दा राम्रै हुन्थ्यो, खै अब त रामराम भन्ने त होला ! भ्रष्ट दलालहरूको कारण विश्वको सर्वोच्च चुचूरो सगरमाथा निहुरियो ! यिनकै सहायतामा आडमा शीरको श्रीपेच जिन्सिखानामा थन्कियो । श्रीपेच थन्किएको करिब दुई दशकपछि बल्ल दलाल नेताहरूले आफ्नो अनुहार ऐनामा हेर्न थालेका छन् ! अझै, म त राम्रै छु ऐनामा के फोहोर बसेको रहेछ भन्दै ऐनालाई हातले घोटेको घोट्यै गर्दैछन् । सतासी प्रतिशत जनमत हासिल गरेकी शेख हसिनाको हविगत जान्दाजान्दै नेपालका हसिनाहरू लोसफुकेको बारीमा मैमत्त भएर उफ्रँदै गरेको गणतन्त्र नाम गरेको साँढे ’भागा रे भागा’ भएर बालबाल बच्न सफल भएको कसलाई थाहाछैन र अब ! विगत दशकौं देखि विदेशीको बुई चढेर उफ्रेको गणतन्त्रको छाउरोको अपराध छिट्टैनै धूरीबाट कुर्लन्छ भन्ने अनुमान त सबैको थियो । तर कसरी ? थाहा थिएन ! आँफै भित्रबाट अपराध बिष्फोट भयो भने अपराधिको जरोकिलो केहि रहँदैन रे भनिन्छ । अहंकार र घमण्डका पुर्व सूचकहरूले केही न केही हुने आभाष दिन्थे । आयो त्यसरी नै ! भदौ २३ र २४ आउनैपर्थ्यो, हुनै पर्थ्यो भएरै छोड्यो । आखिर हुनु त हुनु नै थियो, भयो ! अहिले जेन्जीका दिन आएका छन् । तर, जेन्जीको टाउको मात्रै छ शरीर छैन । टाउकाको दिन आयो शरीरको कहिल्यै आउनेछैन । जेन्जीको शरीरले काम गर्नै सक्दैन । भदौ २३ र २४ गते दुवै दिन जेन्जीको शरीरले कामै गरेन । उसको टाउको हाबी भयो, र जेन्जी सफल भयो । २/४ जनालाई मै हुँ जेन्जी भन्दै जेन्जीको टाउकाको उपज छद्म शरीर मात्र हुन् । खासमा जेन्जी टाउकाको काम तीनदलीय निरंकुशतालाई पल्टा खुवाउन मात्र थियो – पल्ट्यो । अर्थ न बर्थका जेन्जीका शरीरहरूले अझै आफूलाई चिन्नै सकेका छैनन् । अबको बीस बर्षपछि बल्ल आफूलाई चिन्नेछन् । जब चिन्नेछन् तबतक बहुत ढिलो भैसकेको हुनेछ आफूलाई चिन्न ! सुशीला सरकार केवल जेन्जीको पार्थीव शरीर मात्र हो । जीवित टाउको अन्तै छ । यो सरकार हुनका लागि नै जेन्जीको क्रियसन भएको हो भनेर बुझ्न कुनै विशेष विद्वान् नै हुन पर्दैन । सामान्य लेखपढ गर्ने जनताले पनि बुझिसकेका छन् । शरीरमात्रको सरकार नभै नेपाली समाजमा जरो गाडेको तीन दलीय निरंकुशतालाई तोड्न असम्भव थियो । र, त्यसैले त्यसो भयो ! अब जेन्जी नामको बर्बरिकको टाउकाले देशी-विदेशी षडयन्त्रको शिकार बन्दै कमजोर बनेको पक्षलाई साथ दिन क्वारक्वार्ती नजर लगाइरहेको छ । अनुकुल समयको पर्खाइमा ऊ तम्तयार छ । अर्को सरकार बनाउने छ । चुनाव त भन्ने कुरा न हो, बस् ! हुनु त आखिर हुनु नै छ । कसैले रोकेर रोकिन्न । हेर्दै जाऊँ ! नेपालको उत्पत्तिकालदेखि राम्रा-नराम्रा जे-जे हुँदै आए इतिहास साक्षी छ । सतीले सरापेका प्रसङ्ग, भीमसेन थापाले जेलभित्रै सेरिएर गरेको आत्महत्या, कोतपर्व र जंगबहादुरको उदय, राणाहरूको खोपीबाट मुक्तहुँदै भारतीय दूताबास भागेका राजाको कथा, साढे तीन वर्षका नाबालकले राष्ट्रको नेतृत्व गरेको कथा, राजा महेन्द्र र पञ्चायतको उठान र बैठान हुँदै छयालीस सालपछिका साढे तीन दशकमा सबै घटनाक्रम पनि इतिहास नै बन्नेछन् । नियतिको नियममा इतिहासले अवश्य निर्मम समीक्षा गर्ने नै छ । हुने हुनामीलाई कसले रोक्न सकेको छ र ! फेरि पनि बुझौँ- हुनु त आखिर हुनु नै छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट