
इतिहासले कहिल्यै कुनै पुस्तालाई उनीहरूको नारा, पोस्टर वा भीडका आवाजका आधारमा मात्र चिन्दैन। इतिहासले पुस्तालाई चिन्छ ,उनीहरूले छोडेको प्रभाव, उनीहरूले बनाएको बाटो र उनीहरूले जोगाएको मूल्यका आधारमा ।
आज तिमी प्रश्नको केन्द्रमा छौ। तिमी नै देशको अन्तिम जेन-जी होइनौ । तर, तिमी त्यो पुस्ता हुन सक्छौ, जसको कामले आउने पुस्ताले देश देख्नेछ। आज तिमी सडकमा छौ, सामाजिक सञ्जालमा छौ, नारामा छौ, आक्रोशमा छौ । तर, एउटा प्रश्न निरन्तर तिमीलाई पछ्याइरहेको छ- आउने पुस्ताले तिमीलाई के भनेर चिन्छ ? उनीहरूले तिमीलाई ‘साहसी र सचेत पुस्ता’ भनेर सम्झिनेछन् ? कि ‘आक्रोशमा बगेको, देश जलाउन तत्पर पुस्ताको प्रतिनिधि पात्र भनेर ? यो प्रश्न सजिलो र उत्तर त झनै कठिन र सम्भवतः अनुत्तरित रहनेछ ।
किनकि आजको जेन-जी यस्तो समयको सन्तान हो, जहाँ अन्याय स्पष्ट छ, असमानता खुला छ, अवसर सीमित छन् र भविष्य अनिश्चित छ । आजको जेन-जी कुनै विलासितामा हुर्किएको पुस्ता होइन। यो पुस्ता हो- बेरोजगारीको डरमा हुर्किएको, शिक्षा लिएर पनि रोजगारी नपाएको,देशभित्र सम्भावना खोज्दा ढोका बन्द पाएको, विदेश पलायनलाई बाध्यता बनाएको,नेताका भाषण सुन्दै तर परिणाम नदेख्दै थाकेको यस्तै यस्तै । त्यसैले आक्रोश स्वाभाविक हो। अन्याय देखेर चुप बस्नु अपराध हो । तर प्रश्न आक्रोशको होइन, आक्रोशले लिएको दिशाको हो । एउटा पुस्ताको निराशा, आक्रोश र अभावलाई भर्याङ बनाएर राजनीतिको रोटी सेक्न को आए ? अबोधहरूलाई संसद् भवन कब्जा गर्न पठाएर मराउने र देश जलाउने कामको अगुवाइ कसले गरे ? यी प्रश्नको उत्तर इतिहासले त खोजी रहने नै छ ।
इतिहास साक्षी छ, परिवर्तन आन्दोलनबाट आएको हो । तर इतिहासले यो पनि देखेको छ कि अराजकताले सधैँ परिवर्तन होइन, विनाश जन्माएको छ । जब आन्दोलन विचारबाट निर्देशित हुन्छ, त्यसले व्यवस्था हल्लाउँछ । तर, जब आन्दोलन कुनै उद्देश्य होइन आक्रोशले मात्र चल्छ, त्यसले अस्पताल जलाउँछ,संसद् भवन जलाउँछ,विद्यालय तोड्छ, सार्वजनिक सम्पत्ति नष्ट गर्छ र अन्ततः आफ्नै भविष्यमा आगो लगाउँछ । त्यही बेला इतिहास निर्दयी हुन्छ । त्यही बेला एउटा पुस्तामाथि धब्बा लाग्छ–देश जलाउने पुस्ता ।
इतिहासमा हामीले धेरै बहादुरीका कथा र गाथाहरू पढेका छौँ । महान् मान्छेहरूको बलिदानबाट भएका परिवर्तनबारे बुझेका छौँ । तर आज बहादुरी सजिलो भएको छ–एक स्टाटस, एक लाइभ, एक आगजनीको भिडियो अनि मनपरी गालीगलौज । बस तिमी ‘क्रान्तिकारी’ कहलिन्छौ। तर प्रश्न सोधौँ,यो क्रान्ति हो कि क्षणिक भाइरोलोजी ? सामाजिक सञ्जालमा भाइरल भएको आगो इतिहासको किताबमा छापिँदैन । तर संयम, विचार र निरन्तर संघर्ष इतिहासमा गहिरो अक्षरले लेखिन्छ । आजको पुस्ता यी कुरा समीक्षा गर्न सक्षम हुने कि नहुने ? मुख्य चिन्ता र प्रश्न यो पनि हो । देश जलाउन सजिलो छ, बनाउन गाह्रो। एउटा सिसा फुटाउन सेकेन्ड लाग्छ । एउटा पुल बनाउन दशक लाग्छ ,एउटा बस जलाउन एक म्याचस्टिक काफी हुन्छ, तर एक उद्योग खडा गर्न पुस्ता लाग्छ ।
जब तिमी सार्वजनिक सम्पत्तिमा आगो लगाउँछौ, तिमी राज्यलाई होइन—आफ्नै आमाबुबाको कर, आफ्नै भविष्यको सम्भावना र आफ्नै सन्तानको सपना जलाइरहेका हुन्छौ । अहिले देशको भावी प्रधानमन्त्री भनेर खडा गरिएका पात्रहरू यस्तै गरी उदाएका हुन् । चेतनशील विद्रोह नै वास्तविक विद्रोह हो,साँचो विद्रोह चिच्याएर हुँदैन । साँचो विद्रोह भनेको के हो त ? प्रश्न उठाउने साहस, जवाफ माग्ने धैर्य, वैकल्पिक बाटो देखाउने बुद्धि र परिवर्तनलाई संस्थागत गर्ने क्षमता हो । नेल्सन मण्डेलाले जेल जलाएनन् र भागेनन् । महात्मा गान्धीले ढुंगा हानेनन् र लाल किल्लामा आगजनी गरेनन् । मार्टिन लुथर किङले आगो लगाएनन् । उनीहरूले व्यवस्था हल्लाए विचारले । इतिहास निर्दयी हुन्छ, इतिहाससँग माया हुँदैन । इतिहासले माफी दिँदैन। यदि आज तिमीले गलत बाटो रोज्यौ भने, आउने पुस्ताले तिम्रा पीडा होइन, तिम्रा गल्ती सम्झनेछ। उनीहरूले सोध्नेछन्–हामीले बनाउनु पर्ने देश तिमीले किन जलायौ? आशा अझै बाँकी छ,सबै सकिएको छैन।
इतिहास लेखिँदै छ, र कलम अझै तिम्रो हातमै छ। तिमी आज पनि आक्रोशलाई चेतनामा बदल्न सक्छौ, भीडलाई संगठनमा, नारालाई नीतिमा बदल्न सक्छौ । त्यो गर्यौ भने, आउने पुस्ताले भन्नेछ–उनीहरू रिसाए, तर अराजक भएनन्। उनीहरू उठे, तर जलाएनन, उनीहरूले देश बचाए । अन्तिम सत्य के हो भने,देश जलाएर कुनै पनि पुस्ता महान् बनेको छैन । देश बनाएर धेरै पुस्ता अमर बनेका छन्। अब निर्णय तिम्रो हो- भानुभक्त, मदन, बी.पी. र देवकोटाको लाइनमा उभिने ? कि इतिहासले नामै नलेख्ने भीडमा हराउने ? इतिहास फैसला लेख्दैछ, अब दोधारमा बस्ने समय छैन । आक्रोशको नाममा देश जलाउनु क्रान्ति होइन, त्यो त बाह्य एजेन्डाले चलाएको आत्मघाती राजनीति हा ।
भीडमा चिच्याउनु सजिलो छ, तर राष्ट्रको जिम्मेवारी बोक्न गाह्रो हुन्छ । इतिहासले कसैलाई ‘भाइरल पोस्ट’ का आधारमा माफ गर्दैन । आज यदि युवाको ऊर्जा राष्ट्र निर्माण होइन, विध्वंसमा खर्चियो भने भोलि यही पुस्ता असफल राष्ट्रको दोषी ठहरिनेछ । चेतनाहीन विद्रोह बहादुरी होइन, कमजोरी हो । त्यसैले स्पष्ट रोजाइ गर- डिप स्टेटको मोहरा बन्ने कि, देशको पक्षमा उभिने सचेत राजनीतिक शक्ति बन्ने ? निर्णय आज गर, किनकि इतिहासले पछि स्पष्टीकरण सुन्दैन, उसले फैसला लेख्छ ।
प्रतिक्रिया दिनुहोस