
हिजोआज हरेक राजनीतिक पार्टीका नेताबीच आन्तरिक द्वन्द्व चर्किएको छ । सकारात्मक दृष्टिकोणबाट हेर्दा यो राम्रो कुरा हो । पार्टीभित्रको आन्तरिक द्वन्द्वले पार्टीलाई दुर्घटनाबाट जोगाउँछ, नेतृत्वलाई गल्ती, कमजोरी सच्याउने मौका दिन्छ । त्यसैले नेताहरूले आफैँले आफैँलाई सुधार्नुपर्छ, अन्यथा सुधार्नका लागि पार्टीभित्रैबाट कार्यकर्ताहरूले दबाब सृजना गरिनुपर्छ ।
तर, व्यवहारमा नेताहरूले आन्तरिक लोकतन्त्रलाई सवल र सदृढ गर्न नसक्नुले पार्टीभित्र अनेक खालका विकृति र विसंगति झाँगिँदै गएको छ । त्यसलाई गोडमेल गर्ने काम नेता, कार्यकर्ताहरूकै हो । तर पछिल्लो समय पार्टीमा नीति होइन, नेता प्रधानको प्रवृत्ति झाँगिँदै गएकोले नेताका विरुद्ध कोही पनि ‘चूँ’सम्म बोल्दा सक्दैन ।
नेताले जस्तोसुकै गल्ती गरे पनि ठिक गर्यो भन्ने जुन खालको अवसरवाद हाबी भएको छ, त्यसले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउँछ । अहिले लोकतन्त्र कमजोर भएको अवस्था छ, लोकतन्त्र कमजोर हुँदा अराजकता बढ्छ । अहिले जताततै अराजकता किन बढिरहेको छ भने मुलुक कानुनी बाटोमा होइन, दण्डहीनतातर्फ उन्मुख छ । सार्वभौम संसद्जस्तो ठाउँमा बन्ने कानुनलाई त पार्टी विशेषको स्वार्थमा तलमाथि पारिन्छ भने अन्यको के कुरा ?
पन्ध्र वर्षसम्म एमालेको नेतृत्व गरेका माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्दा जुन संख्यामा नेता, कार्यकर्ताहरूलाई एकीकृत समाजवादीमा ल्याउन सक्नुपथ्र्यो, त्यो सकेनन् । भएका दश भाइ पनि कति अवसरवादी रहेछन् भन्ने देखिहालियो । अरूले पनि खुट्टा उचालेका छन् । पार्टी अध्यक्षको हुर्मत लिएका छन् ।
माधवकुमार नेपाल आफ्ना लागि नभएर यिनै दश भाइका कारण विद्रोही बनेका थिए, अन्ततः ती दश भाइ पनि गद्दार सावित भए ।
नेता दूरगामी हुनुपर्छ । कतिपय विषयमा चित्त नबुझे पनि तत्कालै प्रतिक्रिया दिन हतार गर्नु हुन्न । बैठक बोलाएर बहस, छलफलको माध्यमबाट कतिपय समस्याको निकास निकाल्न सकिन्छ । भाषणले मात्रै विद्रोहको पुष्टि हुँदैन, व्यवहारमा देखिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस