आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

देशलाइ जुरुक्क उठाउने कि ?


  • आक्रमण न्युज
  • २०८२ चैत्र ३०, सोमबार मा प्रकाशित ३ दिन अघि
  • १७३ पाठक संख्या
  • सूचना प्रविधिको यसरी विकास नहुँदो हो त प्राचिन कालमा झैं अन्धकारमै रुमल्लिनु बाहेक मान्छेमा अर्को कुनै विकल्पै थिएन । सूचना प्रविधिको अलावा अन्य विज्ञान-प्रविधिको विकास सँगसँगै प्राप्त सुविधाले प्रकाशमय अथाह संसारमा कावा खाँदै रमाउँदै जीवनको दिव्य अनुभूति गर्ने केवल मानव जातिले मात्रै हो ।

    अनि यही विज्ञान-प्रविधिको माध्यमबाट पृथ्वीको त कुरा छोडौँ अनन्त ब्रह्माण्डको अनुमानसमेत लगाउन थालेका छन् मान्छेहरूले ! हो न हो, भोलिका दिनमा पत्ता लाग्ने अकल्पनीय तथ्य हामीले पत्याउन बाध्य भयौँ भने त्यो पनि कुनै अनौठो हुने छैन ! अर्थात् अहिलेको विज्ञान-प्रविधिको विकासले लिएको गतिलाई प्रकृतिले रोकेन भने सुदूर भविष्यका सन्ततिहरूले आजको हाम्रो जीवनकाललाई पनि जंगलीहरूको जीवन कथा मानेर अभिरूचिपूर्वक अध्ययन गर्नेछन् । हाम्रा सनातनी धर्मग्रन्थ र धर्मशास्त्रमा वर्णित कथाहरूले हामीलाई पृथ्वी, अन्तरिक्ष र ब्रह्माण्डसम्म सजिलै काल्पनिक शयर गराउँछन् । यदि विज्ञानलाई छाडेर शास्त्रीय र आध्यात्मिक बन्ने हो भने ईहलोक, परलोक, पाताललोक र भएभरका सबै लोकतिर हामी घुम्न सक्छौँ अनि चित्तानन्दको अनुभूति गर्न सक्छौँ ।

    त्यस्तै, जन्म-जन्मान्तरसम्म निरन्तर जन्मिइरहन सक्छौँ । त्यसो त, देवी-देवताहरूले स्वर्गलोकदेखि पृथ्वीलोकसम्म यात्रा गर्दा पनि मनचाहे बाहनमा यात्रा गर्दै आफ्नो लक्ष्यमा पुग्थे । शास्त्रीय मान्यतालाई आधार लिँदा द्रुतगतिका वायुयान र वायुपंखी घोडामा देवता र दानवहरू सवार भएका कथा सुने/पढेकै हौँ । अझ भनौँ, देवदेवीहरू मनले जहाँ चाह्यो त्यहीँ प्रकट हुन्थे भन्ने धर्मशास्त्रहरूमा पाउँछौँ । तर यी साधनहरूको उपलब्धता पनि त्यो समयका सर्वसाधारणको पहुँचभन्दा निक्कै परको कुरा हुन्थ्यो होला ! दैवीय शक्तिको क्षमता नहुनेहरूमा उड्न र गुड्न असम्भव थियो । अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् । यी र यस्ता रोचक पौराणिक कथाहरू धार्मिक अनुष्ठानहरूमा वाचन गर्ने ब्राह्मज्ञानी पण्डितहरूका मुखारविन्दबाट बारम्बार रुचिपूर्वक हामीले सुन्दै आएका छौँ ।

    यहाँ भौतिक विज्ञान र आध्यात्मिकतालाई जोड्नुमा खास अर्थ छ र केही भन्नु पनि छ । त्यो के भने – विज्ञान-प्रविधिले भौतिकरूपमा आफ्नो लक्ष्यलाई स्पर्श गराउँछ भने आध्यात्मिक ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ । हरेक लक्ष्यलाई सरलतापूर्वक काल्पनिक भेदन गर्दछ । यसर्थमा हवाईजहाजको यात्रा अंकको दूरीमा पुग्न सकिन्छ भने अन्तरमनको यात्रा अनादी र अनन्त शून्यमा हुन्छ, यसको दूरी नै भेटिँदैन । बाहिरी चक्षुको दृश्यशक्ति र मनचक्षुको दृश्यशक्तिमा पनि उस्तै अन्तर हुन्छ । जुन अंक र शून्य जस्तै नै हो । अंक स्थिर छ शून्य चञ्चल र अधीर छ । शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । अब यहाँ भन्दा भित्र र गहिराइमा नजाऔँ किनकि हामीलाई बाहिर निस्कन बाधा हुन्छ । धरा अथवा धर्ती पृथ्वी जे भने पनि हामी यहीँका उपज हौँ । पृथ्वीको एक हिस्सा हाम्रो देश पनि हो । हाम्रो देशको अवस्थितिलाई भूगोलको अक्षांश र देशान्तरले सिमाङ्कन गरेको छ । हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ ।

    जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ । समयको गतिसँगै प्राप्त विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै गए । ०४६ सालको परिवर्तनको संघारमा नेपालमा अनेकखाले भ्रमहरू प्रचारमा आए । मुलतः राजारानीका बारेमा थरिथरिका अनर्गल प्रचार र प्रलापहरू बजारमा आउन थाले । राजा वीरेन्द्र भन्दा पनि रानी ऐश्वर्यका बारेमा ज्यादा उछाल ल्याए । रानीले पम्फादेवी ठकुरानीको नाममा अर्बौं रुपैयाँ विदेशी बैंकमा जम्मा गरेको, राजाले समुन्द्रमा छुट्टै टापु किनेको लगायत अनेक भ्रमहरू बजारमा प्रचार गरियो । यस्ता सबै भ्रमहरूका पछि मान्छेहरू दौडे । तत्कालिन समयमा नेपालका क्याम्पसमा सीमित उग्र वामविचारका राजनीति यिनै भ्रमहरूका वरिपरि घुम्थे । त्यस प्रकारका सबै भ्रमहरू यसकारण भ्रम थिए कि अहिले लगभग चार दशक समय ब्यतीत हुँदा पनि उपरोक्त आरोपहरूको कतै कुनै पुष्टि हुँदै भएन ।

    यी सबै भ्रमहरूको पछि लाग्नेहरू यदि आजसम्म आफ्नो जीवन बाँचेको भए र अहिलेको विज्ञान प्रविधिसँग खेल्दा भए कस्ता मिथ्या कुराका पछि लागिएछ भन्दै आफैलाई धिक्कार्दा थिए होलान् ! विद्यार्थीकालमा विद्यार्थी नेताहरूले ‘पुष महिनामा राजाले दरबारमा काँक्रो खान्छन्, असार महिनामा काउलीको तरकारी खान्छन्, त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् । हुनपनि परम्परागत मौसमी उत्पादनमा निर्भर नेपालीहरूले छरिएको भ्रमलाई कतिपयलाई ‘हो’ लाग्यो । अहिले त सबै देखियो नि के रहेछ सत्य र के रहेछ भ्रम भन्ने सबै बुझियो ! अष्ट्रेलियामा मनसुन लाग्दा नेपालमा हिउँद लाग्छ । नेपालमा गूराँस फूल्दा अष्ट्रेलियामा हिऊँ फुल्छ । विद्यार्थीकालमा विद्यार्थी नेताहरूले ‘पुष महिनामा राजाले दरबारमा काँक्रो खान्छन्, असार महिनामा काउलीको तरकारी खान्छन्, त्यसैले राजा सामन्त हो, त्यसैले जनताले दुःख पाए’ भन्दै जनमनमा विद्रोह उत्पन्न गराए । यसो भन्ने मान्छेहरू आजको केन्द्रीय राजनैतिक नेतृत्व वृत्तमा नाचिरहेका छन् ।

    राजाहरूको त हैसियत थियो खर्च गरे तर अचेल जनताका सर्वहारा गरीब नेताहरूले लगभग करोडका घडी, लाखौंका ह्याण्डब्याग, रिसोर्टमा बाहेक होटलमा निन्द्रै नलाग्ने ऐयाशी जीवन कुन हैसियतले मिल्यो ? दशौँलाखका थ्रीपीस सुट कुन हैसियतले लगाउँछन् होला ? जनताका छोराछोरीका घर जलेपछि खुला आकाशमुनि बास हुन्छ, त्रिपाल पनि पाउँदैनन् । तर नेताको घर जल्दाबित्तिकै लखनउका नवाफका जस्ता भव्य महलमा बास कसरी हुन्छ ? राजाले बेमौसमको सामान्य सागसब्जी विदेशबाट मगाएर खाएकाले उनलाई सामन्तीको नाइके देख्ने झीरले खोलेका आँखाले गरीब जनताको नेता भन्नेले एकाध वर्ष मन्त्री-सन्त्री हुँदैमा राजाभन्दा डबलको हैसियत र अझ डबलको सामन्तीका नाइके भएको दुनियाँले देखेका छैनन् र ?! अष्ट्रेलियामा अहिले चर्को गर्मी छ हामीकहाँ कँठ्याङ्ग्रिलो जाडो छ । हिजोआज सर्वसाधारणका बा-आमाहरू अष्ट्रेलियाका सिड्नी, क्यानबेरा, पर्थ तथा न्यूजिल्याण्डका वेलिङटन अकल्याण्ड जस्ता शहरमा पुगेर यहाँको र त्यहाँको मौसमको तुलनात्मक जानकारी पाएको त फेसबुकमा देखिने तस्बिरहरूमा लगाएका पोशाकहरू मजैले देखिएकै छन् त !

    अनि आधुनिक नेपालका निर्माता शाहवंशका राजाहरूको शताब्दिऔँ पुरानो विरासत र हैसियतले कहिलेकाहीँ फरक भूगोलका उत्पादित बस्तु हवाईजहाजको माध्यमबाट नियमित उडानमा ल्याउनु र उपभोग गर्नु कति नै ठुलो कुरा थियो र ! छर्नेले भ्रम धुमधामले छरे, हामीले त्यही भ्रमलाई पत्याउँदै गायत्रीमन्त्र बनाएर जप्यौँ । यिनै भ्रमका मन्त्रहरू जप्दाजप्दै स्वर्ग जस्तो हाम्रो देशलाई नर्कमा परिणत गऱ्यौँ । दिग्भ्रमित नेताहरूले जनतालाई संधै गोयवल्स शैलीमा भ्रमहरू उछाली रहे । एउटै कुरालाई बारम्बार जोड दिएर र भावनात्मक रूपमा प्रस्तुत गर्नु गोयबल्स शैली हो । आजसम्म पनि राजसंस्थाको बारेमा यही शैलीमा भ्रमहरू ओकल्न बाँकी राखेका छैनन् । तर विज्ञान र प्रविधिको विकास सँगसँगै उपलब्ध साधनहरूका माध्यमबाट राजसंस्थाका बारेमा छरिएका भ्रमहरू शनै-शनै प्रष्टिँदै गए ।

    स्वयं नेताहरू नै कसैको उक्साहटमा दिग्भ्रमित बनेको कुरा नस्वीकारे पनि पछिल्ला राजनीतिक गतिविधिमा नेताहरूका धोल्लो बोली र लुला खुट्टा देखिनु त्यसैको द्योतक मान्न सकिन्छ । नेताहरूले जनतालाई गलत बुझाएको बुझेपछि यतिखेर जनताले उनीहरूप्रति घृणा र आक्रोश ब्याप्त छ भने राजा र राजसंस्थाप्रति विश्वास प्रेमभाव दिनानुदिन बढेको छ । शास्त्रीय कुराहरूलाई पाण्डित्यपूर्ण तरिकाले ब्याख्या गर्दा अनुमानित मनको आनन्द वा मनमा अशान्ति जे गराउने हो गराइरहन्छ ।

    शास्त्रीयरूपमा पुष्पक विमानलाई भौतिकरूपमा अनुभूत गराउन असम्भव हुन्छ । यस्ता जमाना गए । विज्ञानको चमत्कारले गर्दा पुष्पकविमानको ठाउँमा लौहविमानलाई हावामा उडाउन सकियो । धृतराष्ट्रलाई झैँ ‘आँखोदेखा हाल’ बताउने सञ्जयको अब जरुरी छैन । गोलो पृथ्वीका त कुरा छोडौं, अन्तरिक्ष यात्रीका रकेटभित्रका गतिविधि पनि पृथ्वीबाटै प्रत्यक्ष देख्न सकिन्छ । त्यसैले अबको जमानामा कसैले कसैलाई भ्रम नछरेको राम्रो ! झुठ र भ्रम के हो ? सत्य यथार्थ र वास्तविक के हो ? भन्ने थाहा पाउन अब कसैले कसैलाई बताइरहनै पर्दैन । आजकलका मान्छेले दुधको दुध पानीको पानी छुट्ट्याउन हात-हातमा उपलब्ध स-साना यन्त्रका माध्यम काफी छ । अन्तमा, देश अहिले इतिहासको पनि इतिहास बनाउने भयानक कठिन घुम्तीमा पुगेको छ । कसैले नसोचेको र नचिताएको अन्यौलतामा देश रुमल्लिन पुगेको छ । त्यसैले यस्तो परिस्थितिमा इतिहासका पानामा भेटिएका गल्ती कमी-कमजोरी केलाएर र सच्याएर देश अघि बढ्न सकेन भने हामी नेपालीहरूले पनि द्वन्द्वग्रस्त मुलुकहरू सरह दुःख सहन बाध्य हुनेछौँ । तर हामीले चाह्यौँ भने देशमा दीगो र चीरकालपर्यन्त शान्ति कायम गर्दै देशलाई विश्वका सम्पन्न मुलुकको दाँजोमा पुऱ्याउन कुनै र कसैको भर नपरी गर्न सक्छौँ ।

    यतिखेर त्यो अवसर आएको छ । एकअर्काले आग्रह र पुर्वाग्रह नराखि साथै निःषेधको राजनीतिलाई सदाको लागि तिलाञ्जली दिँदै सर्वपक्षीय राष्ट्रिय सहमतिसहित देशलाई जुरुक्क माथि उठाउने उचित समय पनि यही हो । यो समयमा अझैपनि प्राणहीन सुनको मृग पाइन्छ, स्यालका सिङ पाइन्छन् भन्ने जस्ता थोत्रा भ्रम नेपाली जनतालाई नछरौँ । नेपाली राजसंस्था नै नेपालको रक्षाकवच तथा नेपालीहरूको अभिभावक हो भन्ने दृढ विश्वास सबैमा बनाऔँ । यसो हुन सकेमा नै नेपाल र नेपालीको अस्तित्व र पहिचानको रक्षा हुन सक्छ । अन्यथा विश्वमा चलिरहेका द्वन्द्वग्रस्त मुलुकहरूको सूचीमा नेपालको पनि नाम थपिएमा कुनै अनौठो हुनेछैन !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट