
सरकारको राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त भ्रष्टाचार, कुशासन र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले जेन–जी पुस्तालाई सडकमा उत्रिन बाध्य बनायो । स्वतःस्फूर्त रूपमा उठेको यो विद्रोहलाई सुरुदेखि नै सरकारले क्रूरता र हिंसाको डन्डाले थिच्ने प्रयास गरेको थियो। पहिलो दिनमै यस्तो दमन भयो जुन २०६२/०६३ को जनआन्दोलनमा पनि भएको थिएन ।
त्यतिबेला १९ दिन लामो आन्दोलनमा २९ जनाले ज्यान गुमाएका थिए, तर अहिले एकदिनमै १९ जना युवाको लास सडकमा ढलेका थिए भने सयौँ घाइते भएका थिए , यसबाट आन्दोलनले नयाँ पुस्ता जागिसकेको स्पष्ट पारेको थियो। देशभरका प्रमुख सहरहरू आन्दोलनको ज्वालामा जलिरहेका थिए। जेन जि पुस्तालाई बलले थाम्न खोज्नु आगोमा पेट्रोल खन्याउनुजस्तै देखिन्थ्यो। भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निरङ्कुश कदमको प्रतिकारमा उठेको यो विद्रोह केवल एउटा प्रतिक्रिया मात्रै होइन, भ्रष्टाचार, अकर्मण्यता र शासकीय घमन्डविरुको विस्फोट हो भन्ने बुझ्नु पर्दछ ! भ्रष्टाचारविरुद्ध उभिएको जेन–जी पुस्तामाथि राज्यको निर्मम व्यवहारले गम्भीर प्रश्नहरू उब्जाएको प्रष्ट छ । युवाहरूमाथि राज्यद्वारा प्रयोग गरिएको निर्मम बल, गिरफ्तारी र हिंसात्मक दमन अत्यन्तै दुःखद र निन्दनीय थियो। यी युवा न व्यक्तिगत स्वार्थका लागि उत्रिएका थिए, न त कुनै विदेशी शक्तिको इशारामा ।
उनीहरूको मुख्य माग थियो– भ्रष्टाचारको अन्त्य, जवाफदेही शासन, पारदर्शिता र स्वतन्त्रता । तर, सरकारले यस्तो दमनकारी नीति अपनायो, जसले राज्य आफैँ कमजोर भएको स्पष्ट भयो । सरकारले सामाजिक सञ्जाल बन्द गरेर आफ्नो कमजोरी लुकाउन आलोचनाको स्वर दबाउन खोजिरहेको थियो। जब सत्यको पक्षमा बोल्नेलाई दुस्मन ठानिन्छ, त्यतिबेला त्यो शासन सत्ताको अन्धकारतिर लम्किरहेको संकेत हो भन्ने बुझिन्छ। राज्यको यस्तो रवैयाले दुई कुराको पुष्टि गर्छ– १)भ्रष्टाचार संस्थागत रूपमा मौलाएको २) आवाज उठाउनेहरूलाई निष्क्रिय बनाउन दमनलाई अस्त्र बनाइएको । भ्रष्टाचारविरुद्ध लड्ने युवामाथि गरिएको दमन लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको अपमान हो भन्दा हुन्छ ! अब राज्य सञ्चालक गम्भीर बनेको छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई राहत, घाइतेलाई तत्काल निःशुल्क उपचार र दोषीमाथि निष्पक्ष र कारबाहीजस्ता न्यूनतम काम राज्यले अविलम्ब गरि अगाडि बढि सकेको देखिन्छ ! युवाहरू राष्ट्रको मेरुदण्ड हुन् । उनीहरूको आवाज दबाएर मुलुक कहिल्यै समृद्धि तिर जान सक्दैन । जुन दिन युवाले राजनीति र देशका मुद्दामा चासो देखाउन बन्द गर्छन्, त्यो दिन देश झन् गहिरो अन्धकारमा जान्छ । शासन चलाउने नाममा जनताको आवाज थिच्ने कामले सरकारलाई चलायमान होइन, पतनतर्फ डोहर्याउछ। डण्डा देखाएर देश चल्दैन, न्याय दिनुपर्छ । आवाज दबाएर शान्ति आउँदैन, समस्याको समाधान गर्नुपर्छ ।
यसको समाधान भनेको राज्यले युवाहरूको आवाजलाई सम्मान गर्नु र संवादको बाटो अपनाउनु हो । अबका दिनमा भ्रष्टाचारविरुद्धको लडाइँलाई कमजोर पार्नुको सट्टा, सरकारले पारदर्शी नीति र जबाफदेही संयन्त्र बनाउनुपर्छ । युवाहरूलाई दमन गर्ने होइन, शान्ति कायम गर्न सक्नु पर्दछ, तब मात्र दीर्घकालमा यो समाज र राज्य दुवैका लागि प्रत्युत्पादक सिद्ध हुन्छ ।
प्रतिक्रिया दिनुहोस