आफूले काम बिगारे पनि अरूलाई दोष दिनु हाम्रो दैनिकीको अंश बनिसकेको छ । फलानाले बिगारेको, ढिस्कानाले बिगारेको । अनि आफूचाहिँ दूधले नुहाएको देखिने कोसिस गर्छौ। आजको प्रविधिको युगमा, यो प्रवृत्ति अझ सजिलो बनेको छ । गल्तीको जिम्मा एआईलाई लगाइदिन्छौँ । दोष सबैको एआईकै टाउकोमा !
आफूलाई महान् देखाउन एआईको प्रयोग । अरूलाई निकृष्ट देखाउन पनि एआईकै प्रयोग । क्या गज्जबको प्रविधि ! विदेशीले बनाएको प्रविधि । एआईलाई दोष दिने त्यो चलन अब केवल हास्यास्पद मात्र होइन, खतरनाक पनि हुँदै गएको छ । नेताहरूले, उच्च तहका व्यक्तिले, प्रहरी प्रशासन सबैले एआईलाई ‘दोषी’ बनाएर आफ्ना गलत काम र असफलतालाई छोप्न थालेका छन् । यो प्रवृत्तिका केही ताजा उदाहरण हुन कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । आफू र श्रीमती आरजु राणा कुटिएको सत्य, आफ्नो घर जलेको सत्य, सामान जलेको सब सत्य भने । तर, घरमा भेटिएको पैसा एआईले बनाएको भन्दै हास्यास्पद प्रतिवाद गर्नुको रहश्य बल्ल थाह भएको छ ! देउवाको घरमा नेपाली रुपैयाँदेखि अमेरिकन डलरसम्म भेटिएको पुष्टि भइसकेको छ ।
सामाजिक सञ्जालमा प्रमाण र तथ्यहरू छरपस्ट हुँदा पनि देउवाले भने एआईले बनाएको भन्दै झुट बोलिरहेका थिए। घरमा अकुत सम्पत्ति थोपार्ने देउवा दम्पती, दोष एआईलाई । दुई वर्षअघि आरजुले पनि यस्तै एआई कार्ड खेलेकी थिइन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा उनी मुछिएकी थिइन् । त्यतिबेला सार्वजनिक अडिओमा दाङका सन्देश शर्माले उनीहरूलाई करोडौँ रकम दिएका कुरा उल्लेख गरेका थिए । आरजुले त्यो अडियो पनि एआईले बनाएको दाबी गरिन् । अनि, अडियो सार्वजनिक गर्नेविरुद्ध उजुरी दिइन् । प्रहरीले परीक्षण गर्दा अडियो आरजुको नाम लिएका सन्देश शर्माको आवाजसँग मेल खाएको पुष्टि भयो । तर, सत्ता र शक्तिको प्रभावको कारण छानबिन भने भएन । नेताले मात्र होइन, प्रहरी प्रशासनले समेत एआईमाथि दोष थोपार्ने चलन छ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरूले प्रदर्शन गर्दा अधिक बल प्रयोग भयो ।
गम्भीर सुरक्षा चुक लुकाउन नेपाल प्रहरीले चैत २० गते पत्रकार सम्मेलन गरेर झुटो दाबी गर्यो । यतिमा मात्र रोकिएनन्, राष्ट्रिय गान बज्दा–बज्दै मञ्चमै अश्रुग्याँस प्रहार भएकोबारे भाइरल भएको भिडियोलाई डिपफेकसमेत भन्न भ्याए । तर, घटना भएको केहि दिनपछि पत्रकार सम्मेलन गरेर प्रहरीले भिडियो नै डिपफेक भनेपछि यसबारेमा ‘नेपाल फ्याक्ट चेक’ले तथ्य जाँच गर्यो। सो क्रममा प्रहरीले झुटो दाबी मात्र गरेन, जनतालाई गुमराहमा समेत राख्न खोजेको पुष्टि भयो । यो त ठूला घटनाका केही उदाहरण मात्रै हुन् । हामी दिनहुँ एआईलाई दोष थोपारेर आफू चोखो बनिरहेका छौँ । यो सब देख्दा÷सुन्दा लाग्छ– एआईले नै देश बरबाद पारिरहेको छ ! नेता, मन्त्री, कर्मचारी सबै चोखा, कसैले एक पैसा पनि घूस खाएका छैनन् । सबै घुस खाने एआई ! यो एआई देश बिगार्ने महारथी बनेको छ !
यो एआईले के–के गरेन ? बाटो खन्ने ठेक्का गलत कम्पनीलाई दियो ! सरकारी कोषको हिसाबकिताबमा गडबड गर्यो ! भ्रष्टाचार त एआईको जन्मसिद्ध अधिकारजस्तै भयो ! नेताजीको स्विस बैंक खातामा पैसा पठाउन होस् वा सरकारी बजेट गायब पार्न, यो एआईले सबै काम एक क्लिकमा गरिदिन्छ ! बाढी आयो, बिजुली गयो, स्कूल बन्द भयो सबैको दोषी एआई । यो एआई यस्तो खतरनाक चीज हो कि यसले नेताजीको भाषण पनि लेख्छ, अनि त्यही भाषणमा ‘भ्रष्टाचार हटाउँछु’ भन्ने वाक्य राखिदिन्छ । तर पछि भ्रष्टाचार भयो भने फेरि एआईकै गल्ती ! बिचरा नेताहरू सधैँ सत्यको पक्षमा, तर यो एआईले तिनको इमानदारीमाथि धब्बा लगाइरहन्छ । हाम्रा नेताहरू त सधैँ चोखा छन्, बिगार्ने त यो एआई मात्र हो ! कामचोर एआई ! ठग एआई ! भ्रष्टाचारी एआई ! दलाल एआई ! अपराधी एआई !
देशका खोलानाला बेच्ने एआई ! कुन दिन यो एआईले देशै बेचिदिन्छ भन्ने डर ! तर, हामी निराश हुनुपर्दैन । हाम्रो देशको आत्मा यति बलियो छ कि एआईले जति कोसिस गरे पनि हामीलाई बरबाद बनाउन सक्दैन । हामीले नेताहरूलाई जस्तोसुकै अवस्थामा पनि भोट दिन्छौँ । यो देशलाई बरबाद बनाउने तागत न नेतामा छ, न एआईमा । किनभने, हामी नेपाली हौँ– हाम्रो बरबादी नै हाम्रो गर्व हो ! हामीले बुझ्नुपर्ने कुरा के हो भने एआईले देश बरबाद गर्दैन । तर मानिसहरूले एआईलाई बहानाको रूपमा प्रयोग गर्दा, एआईले गलत निर्णयहरू छोप्न र शक्ति दुरुपयोगलाई कसिलो बनाउने उपकरण बनाइदियो भने त्यसले निश्चित रूपमा प्रणालीलाई कमजोर पार्छ ।
एआईको नाममा नै हाम्रो सार्वजनिक जीवन, संस्थागत जबाफदेहिता र लोकतान्त्रिक स्वास्थ्य बिग्रँदै जान्छ । यदि, हामी साँच्चै देशलाई जोगाउन चाहन्छौँ भने एआईविरुद्धको अन्धो आरोपबाट बाहिर निस्कनुपर्छ । सबैले आत्मालोचना गर्नुपर्छ । जब गल्ती मानवबाटै भएको छ, त्यसको जिम्मेवारी लिनु नै सही बाटो हो । एआईलाई बहाना बनाएर हामीले आफ्नै समृद्धि र इमानदारितालाई खोस्दै छौँ । देश बरबाद पार्ने शक्ति कुनै बाह्य ‘टूल’ मा छैन । त्यो त हाम्रो नै व्यवहार र आचरणमा छ । हामीले यदि त्यही बदल्न छोड्यौँ भने एआईको नाममा असल र दुराचारीबीचको अन्तर नै हराउने छ र त्यसको मूल्य असाध्यै महँगो हुनेछ ।




























प्रतिक्रिया दिनुहोस